शनिबार यी प्रदेशमा पर्नेछ भारी वर्षा
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
जनजीवन सामान्य : हट्यो कर्फ्यु र निषेधाज्ञा
काठमाडौं । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ । आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ ।
हेटौंडामा जनजीवन सामान्य बन्दै
काठमाडौं । हेटौंडामा पछिल्ला दिनमा देखिएको अस्थिर अवस्था क्रमशः सुधार हुँदै गएको छ । आन्दोलनपछिको तनावपछि नेपाली सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन थालेको हो । नेपाली सेनाले कर्फ्युमा केही खुकुलोपन ल्याएको छ । बिहान ६ बजेदेखि १० बजेसम्म अत्यावश्यक कामका लागि नागरिकलाई बाहिर निस्कने अनुमति दिइएको छ । सो अवधिमा बजारमा केही चहलपहल देखिएको छ भने मानिसहरू आवश्यक सामग्री खरिद र अन्य कामका लागि बाहिर निस्किएको देखिन्छ । त्यसपछि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पुनः निषेधाज्ञा जारी गरिएको छ । जसअन्तर्गत सुरक्षाको लागि कडा निगरानी अपनाइएको छ । बेलुका ५ देखि ७ बजेसम्म भने निषेधाज्ञा केही खुकुलो पारिने जानकारी दिइएको छ । नेपाली सेनाले सुरक्षाकर्मी, सञ्चारकर्मी, पानी आपूर्ति तथा सरकारी कर्मचारीलाई परिचयपत्रका आधारमा आवतजावतको अनुमति दिएको छ । समग्रमा सेनाको नेतृत्वमा शान्ति सुरक्षा मजबुत बन्दै गएकाले हेटौंडाको जनजीवन पुनः सामान्यतातर्फ उन्मुख भएको देखिन्छ ।