राष्ट्रिय सभा निर्वाचन : मधेस प्रदेशमा मतदान जारी

काठमाडौं । नेपालको राष्ट्रिय सभाका रिक्त १७ सदस्यका लागि आइतबार सातवटै प्रदेशमा मतदान शुरु भएको छ । मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा स्थापना गरिएको मतदान केन्द्रमा मतदान भइरहेको हो ।  मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रिय सभामा मार्च ४, २०२६ देखि रिक्त हुने १८ सिटमध्ये कोशी प्रदेशको एक सिट नेपाली काँग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ सिटका लागि आइतबार मतदान हुनेछ ।  मधेस प्रदेशबाट यसपटक चार पद (महिला, दलित, अपाङ्गता/अल्पसंख्यक र अन्य क्लस्टर) का लागि निर्वाचन हुँदैछ । यहाँ नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवारहरुबीच प्रतिष्पर्धा छ । प्रमुख दलहरुबीचको गठबन्धनका कारण काँग्रेस–एमाले नेतृत्वको समीकरणले बहुमत प्राप्त हुने अपेक्षा गरिएको छ ।  काँग्रेसका उम्मेदवार धर्मेन्द्र पासवान र रञ्जित कर्ण र लोसपाका उम्मेदवार पार्टी अध्यक्ष महन्थ ठाकुर रहेका छन् । राष्ट्रिय सभाका कुल ५९ सदस्यमध्ये हरेक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल सकिने व्यवस्था छ ।    

मुस्ताङमा निर्वाचन प्रहरीको जागिर खाने भेटिएनन्, तेस्रोपटक म्याद थप

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले तेस्रोपटक थप दुई दिन म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालयले आवश्यक माग सङ्ख्याका लागि दुईपटक दरखास्त आह्वान गरेको थियो । तर दुई पटक म्याद थप गर्दा पनि छनोट प्रक्रिया सकिँदासम्म माग सङ्ख्या अपुग भएकाले पुनः तेस्रोपटक निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वानको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार मुस्ताङमा निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दुई पटकसम्म निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले पहिलोपटक २५ पुसमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन खुला गरेको थियो । पुस २५ देखि माघ १ गतेसम्मको कार्यतालिका अवधिमा आवश्यक माग सङ्ख्या अपुग भएपछि पुनः दुई दिनको म्याद थप गरेको थियो । निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले दुई सय ६६ जना र सशस्त्र प्रहरी बल नेपालले ४६ गरी तीन सय १२ जना निर्वाचन प्रहरीको माग गरी दरखास्त खुलाइएको थियो । दोस्रोपटक म्याद थप भई छनोट प्रक्रिया सकिँदा दुई सय ९० जना व्यक्तिमात्रै सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । आवेदन दिएकामध्ये केही छनोट प्रक्रियामा अनुउत्तीर्ण भएका र कतिपय सम्पर्कमै नआउँदा सङ्ख्या नपुगेकाले थप दुई दिनको म्याद थप्नुपरेको उनको भनाइ छ । जिल्लामा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि मुस्ताङसहित जिल्ला बाहिरका उल्लेख्य व्यक्ति मुस्ताङ आएको बताए। निर्वाचन प्रहरी भर्ना हुनेमध्ये ८० प्रतिशत व्यक्ति जिल्ला बाहिरका रहेको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । भर्ना हुनेमा अधिकांश सडक, कृषि र होटल मजदुर रहेको उनको भनाइ छ । निर्वाचन सुरक्षाका लागि छनोट गरिएका निर्वाचन प्रहरीलाई आवश्यक प्रक्रिया पूरा गरी नियुक्ति प्रदान गरिने र त्यसपछि माघ १५ देखि २५ गतेसम्म शारीरिक प्रशिक्षण तालिम सञ्चालन गरिने जनाइएको छ । रासस  

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित १८ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यहाँका नौ जिल्लामा रहेका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । सुदूरपश्चिमका सात पहाडी जिल्लामा महिला उम्मेदवारी न्यून रहे पनि तराईका जिल्लामध्ये कैलाली र कञ्चनपुरमा उल्लेख्य सहभागिता छ ।      प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको उम्मेदवारी परेकामा एक जनाको रद्द भएको जनाउँदै उनले तीन जनाले उम्मेदवारी फिर्ता लिएका बताए ।      महिला उम्मेदवारमध्ये कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीकी बिना मगर, आमजनता पार्टी (एकल चुनाव चिह्न) सीता विक, स्वतन्त्रबाट मञ्जुदेवी सुनार र रुपादेवी विष्टले उम्मेदवारी दिएका प्रवक्ता भाटले बताए ।       कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टी नेपालबाट प्रेमवती राना तथा क्षेत्र नं ३ बाट आमजनता पार्टीकी लक्ष्मीकुमारी विष्ट (भट्ट) चुनावी मैदानमा छन् ।      यसैगरी, कैलाली निर्वाचन क्षेत्र नं १ मा आमजनता पार्टीकी रुपाकुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीकी कोमल ज्ञवाली र नेपाल मजदुर किसान पार्टीकी सुनिता भण्डारा उम्मेदवार छन् । क्षेत्र नं २ मा मितेरी पार्टी नेपालकी सम्झना विष्ट थापा र नेपाल मजदुर किसान पार्टीकी लक्ष्मी पुन मगरको उम्मेदवारी परेको छ ।      कैलाली क्षेत्र नं ३ मा  मितेरी पार्टी नेपालकी सुशीला थापामगर र नेपाल मजदुर किसान पार्टीकी जुनु महतारा शाही उम्मेदवार भएर चुनावी प्रचारप्रसारमा व्यस्त छन् । निर्वाचन क्षेत्र नं ४ मा नेपाल मजदुर किसान पार्टीकी अमृता भुल, क्षेत्र नं ५ मा मितेरी पार्टी नेपालबाट राधिकाकुमारी कार्की, राष्ट्रिय जनमोर्चाबाट शोभामणि जोशी र नेपाल मजदुर किसान पार्टीबाट तृषण पुनमगर रहेका छन् ।      सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये एउटा निर्वाचन क्षेत्र रहेको डोटीमा एक जना मात्रै महिला उम्मेदवार छन् । यहाँबाट मितेरी पार्टी नेपालकी सरस्वतीकुमारी पाल (मल्ल)ले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिममा कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । रासस