उद्योगीले एक किस्ता तिरेपछि प्राधिकरणले लाइन जोड्नुपर्ने प्रस्ताव, अदालत पनि जाने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसहित उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहभागी रहेको उच्चस्तरीय छलफलमा डेडिकेटेड फिडर र ट्रंकलाइनको शुल्क सम्बन्धी विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव गरिएको छ । त्यसमा विवादित शुल्कमध्ये २८ भागको एक भाग प्राधिकरणालाई बुझाएपछि विद्युत जडान गरी उद्योग पनि खोल्ने, विवाद समाधानका लागि अदालतको ढोका पनि खोल्ने प्रस्ताव गरिएको छ ।  प्रधानमन्त्री कार्कीको कार्यकक्षमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, विभिन्न सचिवहरू तथा महासंघका अध्यक्ष ढकालबीच सोमबार भएको छलफलबाट डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानका लागि यस्तो प्रस्ताव आएको हो । छलफल अनुसार उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले यसअघि किस्ता बुझाउँदै आएको सुविधा अन्तर्गत २८ किस्तामध्येको एक किस्ता बराबरको रकमलाई किस्ताको रुपमा नभई विवादित रकम मानिँदै धरौटीका रूपमा बुझाएपछि काटिएको विद्युत् आपूर्ति पुनः जोडिने प्रस्ताव गरिएको छ । धरौटी बुझाएपछि उद्योगीहरूले सो विषय पुनरावलोकन गर्न तथा आवश्यक कानुनी उपचार खोज्न सक्ने व्यवस्था राखिएको छ । सम्बन्धित उद्योगीले प्राधिकरणमा धरौटी बुझाउँदा सोही निवेदनमा आफ्नो असहमति राखी पुनरावलोकन तथा अन्य विवरण उल्लेख गरी पेस गर्न सक्ने भएका छन् । समस्या समाधानका लागि महासंघका अध्यक्ष ढकालले आइतबार पनि प्रधानमन्त्री कार्की, अर्थमन्त्री खनाललगायत उच्च अधिकारीसँग भेट गरी पहल गरेका थिए । त्यसलगत्तै सम्बन्धित उद्योगीहरूलाई महासंघमा आमन्त्रित गरी छलफल गरिएको थियो । उद्योगीहरूले महासंघ अध्यक्षसँगको छलफलमा किस्ता नभई विवादित रकमलाई धरौटीको रूपमा विद्युत् प्राधिकरणले स्वीकार गरी कानुनी उपचारको अवसर प्रदान भए सहमति गर्न सकिने बताएका थिए । हाल करिब दुई दर्जन उद्योगले डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापतको प्रिमियम रकम नबुझाएको भन्दै प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेको छ ।

अर्थमन्त्री र कोरियाली राजदूतबीच शिष्टाचार भेट, आर्थिक साझेदारी अझ सुदृढ गर्ने सहमति

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालस्थित कोरिया गणतन्त्रका राजदूत पार्क ते यङबीच सोमबार अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भएको छ । भेटका क्रममा अर्थमन्त्री खनालले नेपाल–कोरियाबीच कायम रहेको मैत्रीपूर्ण कूटनीतिक सम्बन्धको चर्चा गर्दै कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले कोरियाको सहयोगमा सञ्चालित परियोजना तथा कार्यक्रमहरूको प्रगति सन्तोषजनक रहेको बताए र आर्थिक साझेदारीलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए । सो अवसरमा राजदूत पार्क ते यङले कोरिया सरकारको सहयोग निकाय कोइका र नेपाल सरकारबीचको द्विपक्षीय सहकार्य ३० वर्ष पूरा भएको उल्लेख गर्दै यस अवधिमा भएको समन्वय र साझेदारीप्रति सन्तोष व्यक्त गरे । उनले कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने तथा नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाए । यसैगरी, राजदूतले कोरिया सरकारले नेपाली कामदारलाई रोजगारीका लागि पठाउने प्रक्रिया सहज बनाउन छुट्टै भिसा सेन्टर स्थापना गर्ने तयारी गरिएको जानकारी गराए । साथै, ईपिएस प्रणाली अन्तर्गत कोरिया गएका र फर्किएका नेपाली कामदारहरूको उद्यमशीलता प्रवर्द्धनका लागि कोइकाको सहयोगमा कृषि विकास बैंकमार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रक्रियामा सरकार अगाडि बढिरहेको उल्लेख गर्दै यसका लागि आवश्यक सहजीकरण गरिदिन अनुरोध गरे ।

सकसमा कांग्रेसको पन्ध्रौँ महाधिवेशन, शेखर कोइरालालाई विशेष महाधिवेशनका लागि मनाउने पहल

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको छ । यही उद्देश्यका लागि देशव्यापी रूपमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको समूहका नेताहरूले सोमबार पार्टीका वरिष्ठ नेता डाक्टर शेखर कोइरालालाई भेट गरी आफ्नो पहलको जानकारी गराएका छन् । समूहले मंगलबार काठमाडौंमा विशेष भेला आयोजना गर्ने तयारी गरेको छ । त्यसअघि, तयारीको सिलसिलामा उनीहरू सोमबार बिहान विशालनगरस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा पुगेका थिए । हस्ताक्षर अभियानका नेता मनोजमणि आचार्यले भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, 'हामी अहिले डेलिगेट्स लिएर डा. कोइरालाको सम्पर्क कार्यालय पुगेका थियौँ । उहाँसँग हाम्रो अभियानका उद्देश्य, पृष्ठभूमि र आगामी योजनाबारे विस्तृत चर्चा भयो ।' उनका अनुसार, विशेष महाधिवेशनको माग कुनै व्यक्तिको स्वार्थमा नभई पार्टीलाई सुदृढ, अनुशासित र जनमुखी बनाउने अभियानको हिस्सा हो । 'कांग्रेसको गौरवशाली इतिहासलाई पुनर्स्थापना गर्न र आन्तरिक लोकतन्त्रलाई अझ सबल बनाउन विशेष महाधिवेशन आवश्यक भएको हाम्रो निष्कर्ष हो,' आचार्यले भने । हस्ताक्षर अभियानमा सक्रिय नेता आचार्यले भने, 'उहाँसँग भेटेर भर्खरै हामी फर्कियौँ । भेटमा हाम्रो टोलीले विशेष महाधिवेशन किन जरुरी छ भन्ने विषयमा विस्तृत विवरण प्रस्तुत गर्‍यौँ । डा. कोइरालाले हाम्रो कुरा ध्यानपूर्वक सुन्नुभयो र सकारात्मक सन्देश दिनुभयो ।' आचार्यका अनुसार, अभियानले देशका सबै ७७ जिल्लामा पार्टी सदस्यहरूबीच संवाद र हस्ताक्षर संकलनको कार्यक्रम सञ्चालन गरिरहेको छ । अभियानको मूल उद्देश्य आगामी विशेष महाधिवेशनमार्फत पार्टीको नीति, संगठन र नेतृत्व शैलीमा सुधार ल्याउनु रहेको उनले बताए । नेता शेखर कोइरालाले भेटका क्रममा समूहका नेताहरूलाई पार्टीभित्रको असन्तुष्टि र सुधारका मागलाई संवैधानिक र लोकतान्त्रिक प्रक्रियामार्फत अघि बढाउन सुझाव दिएका बताइएको छ । पार्टीभित्र संवाद र सहकार्यकै माध्यमबाट समस्या समाधान गर्नुपर्ने उनको धारणा रहेको स्रोतहरूले जनाएका छन् । नेपाली कांग्रेसभित्र पछिल्लो समय महाधिवेशनपछि नेतृत्व र संगठन संरचनाबारे असन्तुष्टि बढ्दै गएको छ । कतिपय नेता तथा कार्यकर्ताहरूले पार्टीको निर्णय प्रणालीमा पारदर्शिता, युवाको सहभागिता र संगठनको पुनर्संरचनाका लागि विशेष महाधिवेशनको माग गर्दै आएका छन् । हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको समूहले हालसम्म विभिन्न प्रदेशमा व्यापक समर्थन प्राप्त गरेको दाबी गरेको छ । मंगलबार काठमाडौंमा हुने विशेष भेलामा अभियानमा संलग्न प्रतिनिधिहरू, जिल्ला नेताहरू र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । समूहका अनुसार, उक्त भेलाले विशेष महाधिवेशनको तयारी, हस्ताक्षर संकलनको प्रगति र आगामी रणनीतिबारे निर्णय लिनेछ । उनीहरूले नेपाली कांग्रेसलाई लोकतान्त्रिक अभ्यासको नमूना बनाउने आफ्नो अभियान निरन्तर जारी रहने जनाएका छन् ।