रातो नदीले तटबन्ध भत्काउँदा १५ करोड क्षति
जलेश्वर । रातो नदीको हालैको बाढीले तटबन्ध भत्काउँदा रु १५ करोड बराबरको क्षति भएको छ । नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको हानि भएको हो । करिब रु १५ करोड बराबरको तटबन्ध बगाएको जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलका अनुसार रातो नदीले बञ्चौरीको दुई स्थानमा ७० र ८० मिटर, लोहारपट्टीको दुवैतर्फ तीन सय मिटर डाम्हीमा १५० मिटर तटबन्ध भत्काएको छ । नदीले तटबन्ध भत्काएपछि जिल्ला सदरमुकाम जलमग्न भएको थियो । बाढीबाट जलेश्वरका एक हजार ५०० परिवार विस्थापित भएका छन् भने जिल्लाको एकडारा, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका, मटिहानी नगरपालिका, बलवा नगरपालिकासहित १० नगरपालिका र पाँच गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् ।
जाँचबुझ आयोगले भन्यो - अपराध अनुसन्धानका लागि प्रतिवेदन कुर्नु पर्दैन
काठमाडौं । जेनजी प्रदर्शनमा भएको दमन र त्यसपछिका आगजनी घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले फौजदारी अपराधका अनुसन्धानका लागि आफ्नो प्रतिवेदन पर्खिनु नपर्ने स्पष्ट पारेको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गतेका घटनाबारे तत्काल अनुसन्धान अघि नबढाउन गृहमन्त्रालयले प्रहरीलाई दिएको निर्देशनप्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिमा जाँचबुझ आयोगले काम अघि बढाइसकेकाले अनुसन्धान तत्काल नगर्न भनिएको थियो । तर आयोगले भने उक्त निर्देशनविपरीत अपराध अनुसन्धान तत्काल सुरु गर्न सकिने जनाएको हो । आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ ।' आयोगले आफ्नो भूमिकालाई तथ्यसंगत छानबिन, प्रतिवेदन तयार पार्ने र सिफारिस गर्नेमा सीमित राख्दै नियमित प्रहरी अनुसन्धान र कानुनी प्रक्रिया अबिलम्ब अघि बढाउन सकिने उल्लेख गरेको छ ।
भारी उपकरणको सहयोगमा सिंहदरबार भित्रका जलेका सवारी हटाइँदै
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राखिएका सवारीसाधन जलेपछि मंगलबारदेखि भारी उपकरण प्रयोग गरेर तिनलाई हटाउन प्रारम्भ भएको छ । आगजनीमा क्षतिग्रस्त एक हजार सवारीसाधन सडक विभागका चार वटा भारी उपकरण प्रयोग गरेर ती हटाउन थालिएको विभागले जनाएको छ । हालसम्म २०० वटा चारपाङ्ग्रे र ४०० दुईपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गरिएको छ । जलेका सवारीसाधनको व्यवस्थापन नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र परिसरमा गरिएको छ । सिंहदरबारभित्र जलेका सवारीको व्यवस्थापन पूरा भएपछि अन्य स्थानका जलेका सवारी उठाइने विभागका कर्मचारी विष्णुकुमार महर्जनले जानकारी दिए ।