बोनस पाउने भएपछि ग्लोबल आईएमई बैंकका लगानीकर्ता लाभान्वित, सेयर मूल्य बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षमा ग्लोबल आईएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बोनस सेयर पाउने भएपछि सो बैंकका लगानीकर्ता निकै लाभान्वित भएको देखिन्छ । मंगलबार बैंकले नेप्सेमा एक सूचना जारी गरी सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । उक्त घोषणा बैंकको हालै बसेको संचालक समितिको ३०७औँ बैठकले गरेको हो । बैंकले लाभांश(बोनस) घोषणा गरेपछि यसको सेयर मूल्य एकाएक बढेको छ । सोमबार प्रतिकित्ता ३०७ रूपैयाँमा कारोबार भएको यस बैंकको सेयर मंगलबार बढेर प्रतिकित्ता ३२० रूपैयाँसम्म पुगेको छ । अघिल्लो दिनको तुलनामा बैंकको सेयर मूल्य ३.२६ प्रतिशतले बढेको छ । बोनस सेयर पाउने भएपछि लगानीकर्तामा खुसी छाएको बढेको सेयर मूल्यले संकेत गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ लाख रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १० अर्ब रुपैयाँ नाघ्ने छ ।

विभिन्न प्रदेशमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र दिन बाेर्डकाे निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब काठमाडौं उपत्यका बाहेक बाँकी विभिन्न प्रदेशहरुमा स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) लाई निर्देशन दिएको छ । बोर्डले संघीय संरचना अनुसार आर्थिक रुपमा सक्रिय जिल्ला/स्थानहरुमा स्थानीय स्तरमा दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न नेप्सेलाई उक्त निर्देशन दिएको हाे । उक्त व्यवस्था कार्यान्वयनमा आए पश्चात व्यवसायप्रतिको अपनत्वको साथै स्थानीय पूँजी परिचालन भई स्थानीय स्तरमा समेत धितोपत्र बजारको दायरा फराकिलो हुने बोर्डले बताएको छ । साथै, स्थानीय स्तरको व्यवसायीप्रति लगानीकर्ताको विश्वास, धितोपत्र दलाल व्यवसायीमा हुने जोखिम न्यूनिकरण हुने छ । देशमा संघीय संरचना अनुसार प्रादेशिक सरकार निर्माण भैसकेको र प्राथमिक बजारसंगै धितोपत्रको दोस्रो बजारलाई पनि सोही अनुरुप प्रतिस्पर्धात्मक रुपमा विस्तार गर्न आवश्यक भएकाले सो कार्यक्रम गर्न लागेको बोर्डले बताएको छ । हाल धितोपत्रको प्राथमिक बजार ७७ जिल्लामा विस्तार भैसकेको छ । उक्त व्यवस्था कार्यान्वयनमा आए पश्चात स्थानिय स्तरमा रोजगारीको स्तर वृद्धि हुने बोर्डले बताएको छ । साथै, धितोपत्रको दोस्रो बजार कारोबार सुविधा समेत देशव्यापी रुपमा विस्तार भई समग्र पूँजीबजारको दायरा फराकिलो हुने बोर्डको विश्वास रहेको छ ।

थामियो नेप्सेको गिरावट, कारोबार रकममा उत्साहजनक सुधार

काठमाडौं । सोमबारको सेयर बजारमा नेप्सेको गिरावट थामिएको छ । दिनभर भारी उतारचढाव भएको बजारमा परिसूचक अन्तत सामान्य अंकले बढेर बन्द भएको छ । समग्रमा सो दिनको परिसूचक ०.९० अंकले बढेर ११३१.७३ अंकमा पुगेको छ । परिसूचकमा उतारचढाव आएतापनि सेयर कारोबारमा उत्साहजनक सुधार भएको छ । सो दिन कुल १५६ कम्पनीको ६३ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । आइतबारको बजारमा कुल ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको सेयर कारोबार भएको छ । यस बैंकको एकैदिन ३१ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य सोमबार एक रुपैयाँले बढेर प्रतिकित्ता २९३ रुपैयाँ भएको छ । बैंकको एफपीओ आवेदकहरुको लगानी डिम्याट खातामा आएकोले कम्पनीको सेयर खरिदबिक्रीमा चाप बढेको जानकारहरु बताउँछन् । त्यसपछि मुक्तिनाथ विकास बैंकको २ करोड २२ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएका छन् । सोमबार निर्जीवन बीमा र जीवन बीमा दुबैको समूहको सूचक दोहोरो अंकले बढेका छन् । निर्जीवन बीमा समूह ९२, जीवन बीमा समूह १३, विकास बैंक ४.७ र अन्य समूह ०.४३ अंकले उकालो लागेका छन् । त्यस्तै, कारोबारमा आएका अन्य बाँकी समूहहरु सामान्य अंकले ओरालो लागेका छन् । बजारमा विजया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.६० प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ६९५ रुपैयाँ रहेको छ । सो दिन रैराङ् हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ५.५० प्रतिशतले घटेको छ ।