अपी पावरले पाँच प्रतिशत बाेनस सेयर दिने
काठमाडौं । अपी पावर कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५ प्रतिशत बाेनस सेयर दिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्तापुँजीको कर बाहेक ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनी निर्माण गरिरहेको आठ मेगावाट क्षमताको अप्पर नौगाड साना जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । कम्पनीले आगामी चैत १५ गतेदेखि विद्युत् उत्पादन शुरु गर्ने तयारी गरेको कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत् बलाँच सवस्टेशनमा जोडिनेछ । अपी पावर कम्पनीले निर्माण गरेको सो आयोजनामा नेपाल एसबिआइ बैंक र प्रभु बैंक लिमिटेडको संयुक्त लगानी रहेको छ । कम्पनीले यसअघि ८.५ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले यो आयोजना निर्माणपश्चात् ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण शुरु गर्ने तयारी गरेको जनाएको छ । यस्तै कम्पनीले १४ मेगावाट क्षमताका सोलार आयोजनाको निर्माण शुरु गरेको छ । रासस
हिमालयन डिष्टिलरीको पुस ४ गतेदेखि २ दिन बुक क्लोज
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको आगामी पुस ४ गतेदेखि बुक क्लोज हुँदै छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि दुई दिनसम्म अर्थात पुस ६ गते सम्म सेयरधनी दर्ता किताव बन्द गर्न लागेको हो । संस्थाको आगामी वार्षिक साधारणसभा पुस २५ गते बस्दै छ । सभाले सेयरधनीलाई २१.०१ प्रतिशत बोनस सेयर दिने संचालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ । साथै, साभाले पारित गर्ने उक्त नगद लाभांश सेयरधनी दर्ता कितावमा पुस ३ गतेसम्म नाम दर्ता कायम भएका सेयरधनीहरुले मात्र लिन पाउने छन् ।
४२.७५ प्रतिशत बोनसपछि सूर्योदय लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाले ४२.७५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १००१.०५ रुपैयाँ छ । जसको आधार मूल्य प्रतिकित्ता ८७९.३२ रुपैयाँ रहेको थियो ।