नेप्सेको अनलाइन प्रणालीको समस्या सुल्झियो, लगानीकर्तालाई युजर नेम र पासवर्ड लिन बाटो खुला

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ । गत कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएको सो प्रणालीमा केही प्राविधिक समस्या देखिएका थिए । स्टक, धितोपत्र दलाल व्यवसायी र प्रणाली निर्माणकर्ता कम्पनीको समन्वयमा समस्या समाधान भएको हो । नयाँ प्रणालीको निर्माण वाइको नेपालले गरेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले नयाँ प्रणाली सञ्चालनमा ल्याउँदा केही जटिलता देखिएको भए पनि ती सबै समस्या समाधान भएको जानकारी दिए । उनले नयाँ प्रणाली पूर्णरुपमा सञ्चालनमा आएको प्रतिक्रिया दिए । धितोपत्र दलाल व्यवसायी तथा लगानीकर्ताले इन्टरनेटको माध्यमबाट धितोपत्रको खरीद/बिक्री आदेश प्रविष्ट गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याइएको थियो । शुरुमा सो प्रणाली सञ्चालन गर्दा ज्ञानको अभाव तथा प्रविष्ट गर्न नजान्दा समेत समस्या देखिएको थियो । स्टकको अनलाइन डिस्ल्पे र कारोवार प्रणाली फरक–फरक हुन जाँदा दुविधा पैदा देखिएको थियो । नयाँ प्रणालीमा अभ्यस्त नहुँदा लगानीकर्तामा संशय पैदा भएको थियो । लगानीकर्ता, धितोपत्र दलाल व्यवसायीलाई सहज हुने गरी सबै व्यवस्था मिलाइएको र नियमित रुपमा नयाँ प्रणालीको जानकारी दिने तालीम दिइएकाले समस्या समाधान भएको नेप्सेको भनाइ छ । नेप्सेले नयाँ प्रणालीको माध्यमबाट धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताको खाता खोल्ने, कारोवार जोखिम व्यवस्थापन गर्ने, ब्रोकर कार्यालयका कर्मचारीको आन्तरिक व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापनलगायतका कार्य गर्न सक्ने व्यवस्था छ । पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा आउँदा ती विषयमा धेरैले थाहा नै पाएका थिएनन् । स्टकले परीक्षण कारोवार(मोक ट्रेडिङ) गराएको थियो । तर, कारोवारमा रहेका धेरै नयाँ प्रणालीमा अभ्यस्त हुन समय लाग्यो । कारोवारमा समेत केही समस्या देखिएको थियो । नेप्सेको डिस्प्लेमा कारोवारको सही तथ्याङ्क नदेखिँदा लगानीकर्तामा अन्योल बढाइदिएको थियो । स्टकका प्रवक्ता पराजुलीले सबै खालका समस्या समाधान भएको र अब पूर्णरुपमा नयाँ प्रणाली सञ्चालन भएको बताए। लगानीकर्ताले नयाँ प्रणालीको प्रयोग गरी सेयर खरीदको आदेश प्रविष्ट गर्ने, कारोवारकै समयमा चार्ट हेर्न मिल्ने, रकम ट्रान्सफर गर्न सकिने आदि सुविधा नयाँ प्रणालीमा छन् । नेप्सेले विगत दुई दशकदेखि विभिन्न प्रविधिको प्रयोग गर्दै आएको छ । पछिल्लो प्राविधिक विकासलाई आत्मसात गर्दै जाने क्रममा ती प्रविधि प्रयोगमा ल्याइएका हुन् । विसं २०५० मा नियमित बजार सञ्चालनका लागि सदस्य दलालले चिच्याएर आदेश दर्ता गर्न लगाउने र नेप्सेका कर्मचारीले सेतोपाटीमा उक्त आदेश लेख्ने व्यवस्था थियो । यस्तै २०६४ सालदेखि सेमी अटोमेटेड ट्रेडिङ सिष्टम सञ्चालनमा ल्याएको थियो । यस्तै २०७२ सालदेखि कागजी सेयर प्रमाणपत्रलाई विद्युतीय स्वरुपमा ढालेर कागजरहित बनाएको थियो । नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीलाई कार्यान्वयनमा ल्याएर विश्वस्तरको दोस्रो बजार सेवा दिएको हो । उक्त प्रणालीको अर्थमन्त्री डा. युवराज खतिवडाले शुभारम्भ गरेका थिए । पछिल्लो पटक नयाँ प्रणाली शुरु भएपछि कारोवार रकममा वृद्धि भएको छ । सेयर कारोवारको सङ्ख्यासमेत बढेको छ । नयाँ प्रणाली शुरु भएको कात्तिक २० गते कूल तीन करोड रूपैयाँको कारोवार भएको थियो । सो प्रणालीको शुरूवात भएलगत्तै तिहार बिदा भयो । तिहार बिदालगत्तै खुलेको बजारमा रु १० करोडको कारोवार भयो । क्रमशः कारोवार रकम र कारोवार सङ्ख्यामा वृद्धि भए पनि नेप्से परिसूचक भने घटेको छ । नयाँ प्रणालीबाट सेयर कारोवार गर्न एक पटक मात्रै धितोपत्र दलाल व्यवसायीकोमा युजर नेम र पासवर्ड लिए हुन्छ । सो प्रणालीबाट घर, कार्यालय वा विदेशबाट पनि सेयर खरीद गर्न वा बिक्री गर्न सकिन्छ । त्यसका लागि आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा रकम भने हुनु आवश्यक पर्दछ । रासस

कालिका लघुवित्तले १६ प्रतिशत लाभांश दिने, सेयर मूल्यमा ७.४३ प्रतिशत गिरावट

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १६.४२ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ८.४२ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । हालै सम्पन्न संस्थाको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ९ करोड ९९ लाख रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १० करोड ७९ लाख रुपैयाँ नाघ्ने छ । बोनस घोषणा गरेको दिन बिहीबार संस्थाको सेयर किन्ने भन्दा बेच्नेको चाप देखिएको थियाे । सो दिन दिउँसाे २ बजेसम्म ७९४ कित्ता सेयर बिक्रीमा रहेको थियाे तर किन्ने कोही पनि देखिएका थिएनन् । यसको मतलब संस्थाले घोषणा गरेको लाभांशमा सेयरधनी उत्साहित छैनन् भन्ने बुझिन्छ । अन्तत: बिहीबारको बजार बन्द हुँदा संस्थाको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँले घटेर प्रतिकित्ता ७६० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा संस्थाको सेयर मूल्यमा ७.४३ प्रतिशत गिरावट आएको छ ।

विभिन्न तहका पाठ्यक्रममा धितोपत्र बजार सम्बन्धी विषय वस्तु राख्न बोर्डको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको विभिन्न तहका पाठ्यक्रममा धितोपत्र बजार सम्बन्धी विषय वस्तु समावेश गराउन आग्रह गरेको छ । बोर्डले आ.व.२०७५/७६ को धितोपत्र तथा वस्तु विनियम बजार सम्बन्धी नीति तथा कार्यक्रम (बुँदा नं ६८) अनुसार विभिन्न विश्वविद्यालय तथा उच्च माध्यमिक विद्यालयका सम्बन्धित विषयको पाठ्यक्रममा उक्त विषयवस्तुहरु राख्न माग गरेको हो । बोर्डले धितोपत्र सम्बन्धी विषय वस्तु समावेश गर्ने/गराउने पहल तथा कार्यका लागि आवश्यक समन्वय तथा सहकार्यका लागि पाठयक्रम विकास केन्द्र, त्रिभुवन विश्व विद्यालयअन्तर्गत रहेका मानविकी तथा समाज शास्त्र संकाय, व्यवस्थापन संकाय, कानून संकायका डीनको कार्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्य पश्चिमाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका साथै अनामनगरको लोक सेवा आयोगलाई अनुरोध गरेको छ । उक्त नियम लागू गर्दा माध्यमिक विद्यालय र विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर स्तरका पाठ्यक्रमहरु समसामयिक तथा व्यवहार उपयोगी हुने छ । साथै, यसबाट लगानीकर्ताको हित संरक्षण तथा सशक्तिकरणमा सहयोग पुग्ने छ । त्यस्तै, सीमित स्रोत साधनबाट समेत बचत गरी उत्पादनशील क्षेत्रमा लगानी परिचालन हुने वातावरण तयार हुने बोर्डले जनाएको छ । जसले गर्दा देशको अर्थतन्त्रको विकास, विस्तार तथा वृद्धि हुनुका साथै वित्तीय साक्षरताको स्तर अभिवृद्धि भई धितोपत्र बजारको दिगो विकासमा सहयोग पुग्ने बोर्डको विश्वास छ । हालैका दिनहरुमा देशका ७७ जिल्ला र करिब ७०० स्थानीय निकाय अन्तर्गतका क्षेत्रहरुमा धितोपत्रको प्राथमिक बजारको पहुँच पुगिसकेको छ । धितोपत्रको दोस्रो बजार सेवामा नयाँ स्वचालित कारोबार प्रणाली संचालनमा आएपछि पूँजीबजार मार्फत विशेषतः वित्त शास्त्र तथा अर्थशास्त्रको समेत सैद्धान्तिक ज्ञानको व्यवहारिक उपयोग हुने देखिन्छ । बजारको विकास तथा विस्तारमा जोड दिँदै उक्त व्यवस्था लागू भएपछि नेपाल विकसितका साथै तथा देशको सुदृढ अर्थतन्त्र हुने छ । यस चालु आर्थिक वर्षदेखि पाक्षिक लगानीकर्ता प्रशिक्षण तथा रेडियो कार्यक्रमको संचालन शुरुवात गर्नुका साथै बोर्डबाट यससँग सम्बन्धित सामाग्री प्रकाशन तथा वितरणलाई निरन्तरता दिइएको छ । यस सन्दर्भमा बोर्डले धितोपत्र बजार सम्बन्धी अध्ययन अनुसन्धान तथा प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि धितोपत्र बजार प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्ने लक्ष्य समेत राखेको छ ।