मुक्तिनाथ विकास बैंकले १८ प्रतिशत बोनस र २० प्रतिशत हकप्रद जारी गर्ने, सेयर मूल्य बढ्यो
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १८.२५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.९३ प्रतिशत अर्थात २ करोड ४८ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले उक्त बोनस पश्चात कायम हुन आउने चुक्ता पुँजीमा २० प्रतिशत अर्थात १० बराबर २ का दरले हकप्रद सेयर जारी गर्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । १८.२५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ । त्यसपछि उक्ता पुँजीमा २० प्रतिशत हकप्रद जारी पछि कम्पनीको नयाँ चुक्ता पुँजी ३ अर्ब ६७ करोड रुपैयाँ नाघ्ने छ । कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको १२औँ वार्षिक साधारणसभा यही मंसिर २९ गते बस्दै छ । सो प्रयोजनको लागि मंसिर १८ गतेदेखि मंसिर २९ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ । कम्पनीले बोनस घोषणासँगै लगानीकर्तामा खुसी छाएको सेयर मूल्यले संकेत गरेको छ । आइतबार कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ४१४ रुपैयाँ पुगेको छ । बिहीबार प्रतिकित्ता ४०९ रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य आइतबार ५ रुपैयाँ अर्थात १.२२ प्रतिशतले बढेर प्रतिकित्ता ४१४ रुपैयाँ पुगेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको ८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । शुक्रबार मात्र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको ६ लाख ११ हजार ३०४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । काठमाडौंको बालुवाटारमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १४२ रुपैयाँमा किनबेच भएको छ ।
किसान माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले हालको चुक्ता पुँजीको २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव हालै सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नेछ । संस्थाको आगामी वार्षिक साधारणसभा पुस ५ गते हुँदै छ । सो प्रयोजनको लागि मंसिर २९ गते संस्थाको बुक क्लोज हुने भएको छ । हाल संस्थाको चुक्ता पुँजी ७ करोड २० लाख रुपैयाँ रहेको छ । २९ प्रतिशत बोनसपछि संस्थाका चुक्ता पुँजी ९ करोड २८ लाख रुपैयाँ नाघ्ने छ । बुधबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ११८५ रुपैयाँ रहेको छ ।