नेप्से १९ अंकले बढ्यो, सरकारले सकारात्मक नीति लिने लगानीकर्ताकाे अपेक्षा
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको आइतबारको नेप्से परिसूचक १८.८९ अंकले बढेर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक अघिल्लाे दिनकाे तुलनामा १.६४ प्रतिशतले उकालाे लागेर ११६७.६७ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचक सहित कारोबार रकममा पनि सुधार आएको छ । आइतबार कुल १५९ कम्पनीको ४७ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंंकको सेयर कारोबार भएको छ । संस्थाको एकैदिन ५ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन उत्पादनमूलक बाहेक कारोबारमा आएका बाँकी समूह हरिया भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १६७ अंकले बढेको छ । त्यस्तै, जीवन बीमा १३३, माइक्रोफाइनान्स ३७, होटल ३०, बैंकिङ् समूह १७ अंकले उकालो लागेका छन् । उत्पादनमूलक समूह ८.४३ अंकले ओरालो लागेको छ । सेयर बजारप्रति खराे बन्दै आएका अर्थमन्त्री डा युवराज खतिवडा पछिल्लाे समय लचिलाे भएपछि र राष्ट्र बैंकको डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा समिति गठन गरेपछि लगानीकर्ता आशाबादी देखिएका छ ।
१० प्रतिशत बोनसपछि विजया लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । विजया लघुवित्त वित्तीय संस्थाको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । १० प्रतिशत बोनस सेयर पछि आज(आइतबार) मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६३१.८३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ६९२.९१ रुपैयाँ रहेको थियो । आइतबार प्रतिकित्ता ६३१ रुपैयाँबाट कारोबार शुरु गरेको संस्थाको सेयर मूल्यमा वृद्धि भएको छ । सो दिन बैंकको सेयर प्रतिकित्ता ६९५ रुपैयाँसम्म कारोबार भएको छ ।
मिर्मिरे लघुवित्तले २४ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद जारी गर्ने, पुँजी १९ कराेड नाघ्ने
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । संस्थाले चुक्ता पुँजी १० करोड ३८ लाख ६० हजार रुपैयाँको सो मात्राको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, संस्थाले २४ प्रतिशत बोनस पछि कायम हुने चुक्ता पुँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी १२ करोड ८७ लाख रुपैयाँ पुग्ने छ । त्यसमा ५० प्रतिशत हकप्रद जारी पश्चात संस्थाको चुक्ता पुँजी १९ करोड रुपैयाँ नाघ्ने छ । संचालक समितिको उक्त प्रस्तावलाई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाको आठौँ वार्षिक साधारणसभा आगामी पुस २१ गते बस्दै छ । सो प्रयोजनको लागि संस्थाले आगामी पुस १० गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्न लागेको हो । साथै, सभाले संस्थाको वर्तमान अधिकृत पुँजी २० करोड बाट बढाएर ३० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्दै छ ।