दुई कम्पनीले एक अर्ब ४ करोडको आईपीओ जारी गर्दै, कसले कहिलेदेखि भर्न पाउने ?
काठमाडौं । बजारमा दुई कम्पनीले एक अर्ब ४ करोड ७४ लाख ४१ हजार २०० रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएका छन् । ग्रीन लाइफ हाइड्रोपावरले १८ करोड र यूनिभर्सल पावर कम्पनीले ८६ करोड ७४ लाख गरी सो मात्राको सेयर बिक्री गर्न लागेका हुन् । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितको लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले यही माघ २२ गतेदेखि आगामी फागुन ७ गतेसम्म साधारण सेयर बिक्री गर्नेछ । दोलखाका स्थानीयबासीले उक्त आईपीओमा न्यूनतम २० कित्ता र अधिकतम ९०० कित्तासम्म आवेदन दिन पाउने छन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले ३० प्रतिशतले हुन आउने ५ लाख ४० हजार कित्ता सेयर गौरीशंकर गाउँपालिका वडानम्बर ७ का बासिन्दाका लागि, गौरीशंकर गाउँपालिका वडानम्बर ५, ६, ८ र ९ का बासिन्दाका लागि ४० प्रतिशतले हुन आउने ७ लाख २० हजार कित्ता र बाँकी रहेको ३० प्रतिशतले हुन आउने ५ लाख ४० हजार कित्ता गौरीशंकर १, २ र ४ का बासिन्दा तथा बिगु गाउँपालिकाको वडा नम्बर ४ का बासिन्दाका लागि सुरक्षित गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४४ करोड रुपैयाँ रहेको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई १८ करोड र सर्वसाधारण तथा कर्मचारीहरुलाई १८ करोड रुपैयाँ बराबरको सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ८० करोड रुपैयाँ नाघ्ने छ । हाल कम्पनीले दोलखामा ४० मेगावाट क्षमता खानीखोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाबाट आगामी चैतदेखि विद्युत् उत्पादन शुरु हुने कम्पनीले जनाएको छ । त्यसैगरी, यूनिभर्सल पावरले माघ २५ गतेदेखि अंकित मूल्य १०० रुपैयाँ दरले ८६ लाख ७४ हजार कित्ता सेयरकाे बिक्री खुला गर्न लागेकाे छ । उक्त सेयरमा इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै, यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २१ लाख ३५० कित्ता आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ । हाल कम्पनीको सेयर बिक्री प्रवन्धकको काम नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडले गरिरहेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित र सर्वसाधारणलाई गरी कुल ९० करोडको सेयर बाँडफाँड पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ ।
मार्जिन कारोबारको बाटो खुल्दा पनि लगानीकर्तामा खुसी छाएन, नेप्से ८ अंकले घट्यो
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको बाटो खुला गराएपछि पनि लगानीकर्तामा खुसी छाएको छैन । बोर्डले ब्रोकर र लगानीकर्ता आफैले ब्याजदर तोक्न सक्ने गरी उक्त कारोबारकाे लागि बाटाे खुलाएपछि पनि लगानीकर्ता उत्साहित नदेखिएको आइतबार घटेको नेप्से परिसूचकले संकेत गरेको छ । आइतबारको नेप्से परिसूचक ८.५७ अंकले घटेको छ । कारोबार शुरु भएपछि निरन्तर ओरालो लागेको परिसूचक अन्तत ११५३.०६ अंकमा अडिएको छ । परिसूचकका साथै कारोबारमा आएका अधिकांश समूह राताम्मे देखिएका छन् । सो दिन सबैभन्दा बढी जीवन बीमा समूह ३७ अंकले ओरालो लागेको छ । ट्रेडिङ् समूह सामान्य २ अंकले हरियो देखिएको छ भने बाँकी समूह राताम्मे देखिएका छन् । आइतबार कुल १६९ कम्पनीको ४१ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी माछापुच्छ्रे बैंकको ५ करोड ९३ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । सो दिन बैंकको प्रमोटर सेयरको मूल्य प्रतिकित्ता ११३ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी विजया लघुवित्तको सेयर मूल्य ३.८३ प्रतिशतले बढेको छ । सबैभन्दा बढी सानिमा इक्विटी फण्डका लगानीकर्ताले गुमाएका छन् । उक्त फण्डको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३.७९६ प्रतिशतले घटेको छ ।
लुम्बिनी विकास बैंकको १ लाख ९७ हजार कित्ता हकप्रद सेयर लिलामीमा, बजार मूल्य १७४ रुपैंयाँ
काठमाडौं । लुम्बिनी विकास बैंकको १ लाख ९७ हजार ५ सय ९६ कित्ता हकप्रद सेयर लिलामीका हुने भएको छ । बैंकले १० कित्ता बराबर १ कित्ताका अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमध्ये संस्थापक तर्फको सो मात्रामा सेयर बिक्रि नभएपछि लिलामीका लागि सूचना निकालेको हो । लुम्बिनी विकास बैंकले माघ २७ देखि फागुन ३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।बैंकले न्युनतम मूल्य १ सय रुपैंयाँ राखेर न्युनतम १०० कित्ता आवेदन दिन सकिने जनाएको छ । भिबोर क्यापिटल मार्फत बैंकको संस्थापक सेयर किन्न सकिनेछ । लुम्बिनी बैंकको सेयरको बजार मूल्य १७४ रुपैंयाँ रहेको छ ।