प्राथमिक सेयर नबिकेको शिवममा किन आकर्षण ? (समग्र विश्लेषण)

काठमाडौं । स्थानीय जनतामा प्रतिकित्ता २ सय रुपैयाँमा ५ लाख कित्ता सेयर जारी गर्दा मात्रै ८५ प्रतिशत बराबर बिकेको शिवम् सिमेन्टको सेयर सर्वसाधारणलाई जारी गर्ने क्रममा भने मागभन्दा बढिको आवेदन प¥यो । सेयर बजारमा कुनै समय ३ सयको तहमा आउने र कुनै समय ६ सयसम्म पुग्ने गरिरहेको कम्पनीको वित्तीय आकार ठूलो (अर्बौं) भएकै कारण लगानीकर्ताहरुलाई तानिरहेको छ । पछिल्लो समय वर्षकै उच्च विन्दुमा आइपुगेको कम्पनीको सेयर नयाँ लक्ष्य बनाउने क्रममा छ । आगामी दिनमा कम्पनीको सेयर मूल्य कसरी अगाडी जाला, कम्पनीको वित्तीय अवस्था के छ भन्नेलगायतका विषय यस विश्लेषणात्मक आलेखमा समेट्ने प्रयास गरेका छौं । परिचय ९ जेठ २०६० मा निजी कम्पनीको रुपमा स्थापना भएको शिवम् २०७२ बाट पब्लिक कम्पनीको रुपमा रुपान्तरण भयो । कम्पनीले हाल ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको दैनिक ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिङ्कर उत्पादन गर्ने अनुमति पाएको छ । गत वर्ष कम्पनीले दैनिक (३६५ दिनकै आधारमा) १ हजार ५ सय ६३ टन क्लिङ्कर र २ हजार १ सय १६ टन सिमेन्ट उत्पादन गरेको छ । कम्पनीले हाल ४ वटा चुन ढुंगा खानी क्षेत्रको अनुमति लिएर उत्खनन गरिरहेको छ । केही खानी राष्ट्रिय वन क्षेत्रमा परेपनि सरकारबाट भोगाधिकार पाइसकेको छ । उपाधी कम्पनीले गुणस्तर तथा नापतौल बिभागबाट आइएसओ प्रमाणपत्र पाएको छ । यस्तो प्रमाणपत्र पाउने यस कम्पनी नै सिमेन्ट क्षेत्रको पहिलो भएको कम्पनीको दाबी छ । सरकारले सिमेन्टलाई निर्यातजन्य उद्योगको रुपमा लिएसँगै कम्पनीले भारतीय केन्द्रीय गुणस्तर बिभागबाट स्ट्याण्डर्ड सर्टिफिकेशन मार्क प्राप्त गरिसकेको छ । त्यस्तै, युआरएस नेपाल, ओएचएसएएसबाट समेत गुणस्तरको लागि प्रमाणपत्र पाएको छ । सेयर स्वामित्व कम्पनीमा लक्की, गोयल, सारडा समूहका लगानीकर्ताहरुको पकड छ । ५ प्रतिशत माथि सेयर स्वामित्व हुनेको विवरण अनुसार गोयल समूहको २० प्रतिशत, गुप्ता (लक्की समूह) समूहको १० प्रतिशत र भिमसरा समूहको करीब १३ प्रतिशत सेयर स्वामित्व छ । सञ्चालकहरुमा गोयर समूहका सुरेन्द्र कुमार गोयल अध्यक्ष छन् । सारडा समूहबाट सन्दिप कुमार सारडा र लक्की समूहबाट भने अमित मोर, रोहित गुप्ता र अल्का गोयललगायत छन् । अल्का गोयल सर्वसाधारण सेयरधनीको तर्फबाट समेत प्रतिनिधित्व गर्छिन् । अन्य लगानी कम्पनीले शिवम् होल्डिङ्स प्रालिको ८८ प्रतिशत सेयर स्वामित्व लिएको छ । शिवम् प्रालिले भने होङसी सिमेन्टमा ३ अर्ब ८२ करोड रुपैयाँ लगानी गरेको छ । विभिन्न क्षेत्रमा लगानीको लागी कम्पनीले शतप्रतिशत लगानीमा सहायक कम्पनी एससीएल इन्भेष्टमेन्ट प्रालि खोलेको छ । जसमा यस कम्पनीमा हाल २० करोड लगानी गरेको छ । एससीएलको जारी पूँजी ८१ करोड रहेको छ । एससीएलको भने शिवम् रेडिमिक्स कंक्रिट, अरुणभ्याली माइन्स एण्ड मिनिरल्स, दन्तकाली सिमेन्टमा शतप्रतिशत सेयर छ । त्यस्तै, एससीएललको ८० प्रतिशत लगानी रहनेगरी अर्को लगानी कम्पनी एचएस इन्भेष्टमेन्ट संस्थापना गर्ने तयारी भइरहेको छ । संस्थापक जोडिएकासँगको कारोबार कम्पनीले दोस्रो त्रैमाशसम्ममा लगानीकर्ता सुशील गुप्ताको कम्पनी मोडर्न इन्फ्रास्टक्चरबाट ११ करोड ५५ लाख, सुरेन्द्र कुमार गोयलको कम्पनी अरविन्द इम्पोरियमबाट १७ करोड ८७ लाख, होङसी सिमेन्टबाट ५४ करोडको खरीद गरेको छ । कम्पनीले होङसीलाई भने १० करोडको बिक्री गरेको छ । लाभांश सर्वसाधारणमा सेयर जारी गरेको करीब २ वर्ष पुग्न लागेको कम्पनीले लगानीकर्तालाई यसबीच दुई पटकसम्म लाभांश दिएको छ । कम्पनीले दुवै वर्ष १५ दशमलव ७८ प्रतिशत नगद लाभांश दिएको छ । बोनस सेयरको तुलनामा नगद लाभांशलाई कम रुचाउने नेपाली लगानीकर्ताहरुको प्रवृत्ति छ । अंकित मूल्य (१ सय रुपैयाँ) लगानी गरेकोले यो अवधिमा प्रतिकित्ता ३२ रुपैयाँ पाएका छन् । ६ सय रुपैयाँसम्म बजार मूल्य तिरेका लगानीकर्तालाई यो दर भनेको ३ प्रतिशत हाराहारी मात्रै हुन आउँछ । वित्तीय अवस्था चालु आवको दोस्रो त्रैमाशमा कम्पनीको उत्पादन बिक्री आम्दानी १० प्रतिशतले घटेपछि नाफा रकममा पनि २९ प्रतिशतले कमी आएको छ । देशमा निर्माण क्षेत्रमा आएको मन्दी र सिमेन्ट उद्योगको संख्याका साथै उत्पादनमा भइरहेको वृद्धिले यो क्षेत्रमा प्रभाव परेको छ । कम्पनीले उत्पादनको लागि नयाँ सामान झार्नेभन्दा स्टोर गरिने कच्चा पदार्थहरुको प्रयोग बढाएको देखिन्छ । कम्पनीको इन्भेन्ट्रिज (कच्चा पद्धार्थ) करीब २२ प्रतिशतले घटेको छ । कम्पनीले व्याज लाग्ने सापटी रकम घटाइरहेको छ । चालु दायित्व तर्फको यस्तो रकममा १ अर्ब ६० करोड रुपैयाँबाट घटाएर ६० करोड रुपैयाँमा सीमित पारेको छ । त्यस्तै, गैर चालु दायित्व अन्तरगतको यस्तो रकम २ अर्ब १६ करोड रुपैयाँबाट घटाएर १ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीले व्यापारको क्रममा भुक्तानी गर्नुपर्ने रकम ३४ प्रतिशतले बढेर १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । कम्पनीले लिनुपर्ने रकम भने ३५ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यसमा सुधार गर्नुपर्ने देखिन्छ । यसले कम्पनीले बजारबाट पैसा उठाउन नसकेको देखाउँछ । ह्रास कट्टी खर्चमा घटेको छ । यसमा २९ करोड ५९ लाख रुपैयाँ छुट्याएको छ । कम्पनीका सामानहरुको पुनर खरीदलाई यो रकम प्रयोग हुने छ । कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९७ पैसा, मूल्य आम्दानी अनुपात २३ दशमलव ३६ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ८९ रुपैयाँ रहेको छ । सन्तुलित क्षेत्रमा सेयर कारोबार कम्पनीको सेयरको माग उच्च भएको आरएआई सूचकले देखाइरहेको छ । कम्पनीको मूल्य १४ दिने आरएसआई स्केलको ८२.१९ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । सिम्पल मुभिङ एभरेज रेखामा दुई महिनाअघि क्रसओभर भएको छ । २१ दिने रेखाले ७ दिनेलाई काटेर माथि रहेको छ । ३ सय ५५ रुपैयाँसम्म पुगेर बढ्न थालेको मूल्य बुलिश प्रवृत्तिमा छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे एक महिनामा ७ सय २१ मा पहिलो लक्ष्य लिएर अगाडी बढेको छ । घट्ने क्रममा रहे ५ सय ६० मा पहिलो टेवा पाउने देखाउँछ । बढ्दो क्रममा रहेको कम्पनीको सेयर मूल्य एक वर्षकै उच्च विन्दुमा आएकोले लगानीकर्ताहरु केही अन्योल देखिएका छन् । सोही अनुरुप अन्तिम दिन ६ सय ९३ सम्म पुगेको भएपनि बजार बन्द हुँदा ६ सय ६७ सम्म ओर्लियो । अन्तिम दिन सुटिङ स्टार बनेकोले मूल्य घट्न सक्ने संकेत गरिरहेको छ । यो संकेत दरिलो भने होइन । हालसम्मकै उच्च विन्दुमा रहेकोले सचेत हुनुपर्ने भने देखिन्छ । ५ सय ८९ विन्दुबाट घटेर ३ सय ५५ सम्म पुगेर हालसम्मको विन्दुमा आउँदा कम्पनीको मूल्यले कप विथ ह्याण्डल प्रवृत्ति बनाएर ब्रेक इभनबाट माथि लागेको समेत संकेत गरिरहेको छ । कपको डेप्थको आधारमा मूल्य थप बढ्न सक्ने र ८ सयको तह पुग्न सक्ने संकेत गरिरहेको छ । प्राविधिक पक्षबाट मात्र हेरेर निर्णय लिनु भने सही हुँदैन् ।

नेप्से परिसूचकले नयाँ इतिहास रच्दै : सातामा मात्र ८अर्ब ६९ करोडको कारोवार

काठमाडाैं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस ट्रेन्ड’ पछ्यायो । बजार उकालो लागेर डेड वर्ष पहिलेको भन्दा माथिको अवस्थामा पुगेको छ । लगानीकर्तामा एक प्रकारको विश्वाससमेत पैदा भएको छ । यसले बजारमा नयाँ लगानीकर्तासमेत थपिएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १ सय ८१ कम्पनीको आठ अर्ब ६९ करोड ८९ लाख ६५ हजार ४ सय ७४ मूल्य बराबरका कूल दुई करोड ५३ लाख ३३ हजार ५५९ कित्ता शेयर कारोवार भए । बजार ओरालो लागेर न्यून विन्दुमा आइपुगेको नेप्सेको उकालो यात्रासँगै कारोवारमा देखिएको यो सुधार पछिल्ला दिनको सबैभन्दा बढी हो । साताको पहिलो दिन नेप्से परिसूचक  झण्डै २० अङ्कले बढ्यो । सो दिन विभिन्न चार कम्पनीका शेयरमा सकारात्मक ‘सर्किट’ समेत लागेको थियो । त्यस दिन नेप्सेमा १९.३९ ले वृद्धि भई एक हजार ३६३.९७ मा पुगेको थियो । कूल १७६ कम्पनीका ४१ लाख पाँच हजार १३४ कित्ता शेयर एक अर्ब ९७ करोड ८१ लाख आठ हजार ७ सय १ रूपैयाँ बराबरको कारोवार भए । सोमबार नेप्से परिसूचक ३४ अङ्कले बढ्यो । लगातार उकालो लागेको बजारमा त्यस दिन नेप्सेले नयाँ इतिहास कायम गरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुग्यो । झण्डै दुई अर्ब ७० करोड रूपैयाँको कारोवार भयो । कूल १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता शेयर दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ मूल्यमा खरिद–बिक्री भए । मङ्गलबार नेप्सेमा १.७७ ले वृद्धि भई एक हजार ४००.०१ मा पुग्यो । लामो समयपछि नेप्सेले एक हजार ४०० माथि पुगेको हो । नेप्सेमा झिनो सुधार देखिए पनि कारोवार रकम भने दुई अर्ब रूपैयाँ माथि पुगेको छ । कूल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर दुई अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ रूपैयाँ बराबरको कारोवार भयो । बुधबार नेप्सेमा ५.२४ विन्दुले सुधार आई एक हजार ४०५.२५ मा पुग्यो । त्यस दिन कूल १७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता शेयर रु एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ मूल्यमा खरिद–बिक्री भए । बिहीबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो । लगातार उकालो लागिरहेको बजारले नयाँ उचाइ कायम गर्यो । त्यस दिन नेप्सेमा २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७ मा पुग्यो । कूल १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता शेयर  दुई अर्ब ७८ करोड ५० लाख चार हजार ९०८ मूल्यमा खरिद–बिक्री भए । रासस

वर्षकै न्युन मूल्यमा आएको इन्भेष्टमेन्ट बैंकमा लगानी गर्नु कति उत्तम ? (समग्र विश्लेषण)

काठमाडौं । पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंक चर्चामा छ । भेट्रान बैंकर पृथ्वीबहादुर पाँडेले कार्यकारी अध्यक्ष भएर लामो समय संचालन गरेका बैंकमा अहिले पाँडे बैंक संचालक समिति अध्यक्ष छन् । बैंकको लगानी फसेको, नाफा घटेको जस्ता कारणले नेपाल इन्भेष्टमेन्ट बैंक पछिल्लो समय चर्चामा रहेको हो । यही परिवेशमा बैंकको अहिलेसम्मको ऐतिहासिक पृष्ठभूमि के कस्तो छ, सेयर मूल्य किन घटिरहेको छ, बैंकको सेयर किन्दा कस्तो होला भन्ने जस्ता विषयमा बैंकको सेयरको प्राविधिकसहित समग्र विश्लेषण गर्ने प्रयास गरिएको छ । परिचय नेपाल इन्डोसेज बैंकको नामबाट २६ फागुन २०४२ मा नेपाल इन्भेष्टमेन्ट बैंक सञ्चालनमा आएको हो । फ्रेन्च कम्पनी क्रेडिट एग्रीकोल इन्डोसेजको स्वामित्वमा रहेको ५० प्रतिशत सेयर २०५९ मा नेपाली व्यवसायीहरुले खरीद गरेपछि नाम परिवर्तन गरिएको हो । १ हजार ४ सय ८ जना कर्मचारी रहेको बैंकको ८२ वटा शाखा सञ्चालनमा छन् । १६ वटा एक्सटेन्सन काउन्टर, १ सय १७ भन्दा बढि एटिएम काउन्टरमार्फत बैंकले सेवा दिइरहेको छ । –वर्षकै न्युन विन्दु, प्रवृत्ति वियरिश नै –पाँच वर्षमा सबैभन्दा कम लाभांश –पाँडे परिवारको बाहुल्यता केटाकेटी बचत, सुरक्षा बचत, लोटस सेभिङ, आफ्नै बचत खाता जस्ता निक्षेप खाता सञ्चालनमा छन् । बैंकले निक्षेपमा ३.५० प्रतिशतदेखि ९.२५ प्रतिशत व्याज दिइरहेको छ । कर्जामा बेस रेट ८.५३ मा १.५० देखि ६.५० प्रतिशत व्याज लिइरहेको छ । बैंकलेसँगै भिसा डोमेस्टिक कार्ड मार्फत् भुक्तानी गर्दा १५ प्रतिशत क्यास ब्यक अफरसमेत छ । बैंकले देशभित्र २ हजारभन्दा बढी ऐजन्ट मार्फत् रेमिट्यान्स भित्र्याउन काम गरिरहेको छ । उपाधी बैंकले हालै एशियामनी २०१९ अन्तरगत बेस्ट कर्पोरेट एण्ड इन्भेष्टमेन्ट बैंकको उपाधी पाएको छ । बैंकले २०१८ को युरोमनि एक्सेलेन्स बेस्ट बैंकको ‘नेपाल बेस्ट बैंक’ उपाधी समेत पाएको थियो । बैंकले सन् २०१६ सम्ममा पाँचौं पटक फाइनान्सियल टाइम्स बैंक अफ एयर इन्टरनेशनल अवार्ड पाएको थियो । बैंकले गत वर्ष इक्रा नेपालबाट ए प्लस रेटिङ पाएकोमा यस वर्षभने ए रेटिङ मात्र पाएको छ । सेयर स्वामित्व शुरुदेखि नै बैंकमा अध्यक्ष पृथ्वीबहादुर पाँडेलगायतका व्यक्तिहरुले बैंकमा लगानी गरेका थिए । हाल पाँडेको स्वामित्व रहेको महालक्ष्मी इन्भेष्टमेन्ट, छाँया इन्भेष्टमेन्ट, केयुपी इन्भेष्टमेन्ट र सोफिया इन्भेष्टमेन्टमार्फत् बैंकमा लगानी छ । पाँडे अन्तरगतका कम्पनीहरुको नै बैंकमा २६.१४ प्रतिशत बराबर लगानी छ । हाल पाँडे बैंकमा अध्यक्ष छन् भने ज्योतिप्रकाश पाण्डे प्रमुख कार्यकारी अधिकृत छन् । अन्य लगानी बैंकले गत वर्ष मात्रै सुन्धारामा १४ करोड ७७ लाखमा जमिन खरिद गरेर भवन बनाउन लागिरहेको छ । त्यहाँ शाखा सञ्चालन गर्ने बैंकको योजना छ । बैंकको सहायक कम्पनी एनआइबीएल क्यापिटल रहेको छ । बैंकले मोबाइल बैंकिङ र कार्ड विस्तारको लागि फेक्जिटर्म र एमनेपालमा समेत ८७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको नेशनल माइक्रोफाइनान्स कम्पनीमा पनि २ करोड ५१ लाख रुपैयाँ सेयर लगानी गरेको छ । लाभांश ५ वर्षमा औसत करीब ३४.८९ प्रतिशतको लाभांश बाडेको नेपाल इन्भेष्टमेन्ट बैंकले गत आवमा १९ प्रतिशत लाभांश दिएको छ । बैंकले चालु आवमा नाफाको आधारमा लगानीकर्तालाई ८६ करोड रुपैयाँ वितरण गर्न सक्ने उल्लेख गरेको छ । बैंकमा ३ करोड २५ लाख रुपैयाँ सेयर प्रिमियमको रुपमा रहेकोले सो समेत कुल लाभांश ६ प्रतिशत बराबर पुगेको हो । आव अन्त्यमा भने यो लाभांश क्षमता दरमा परिवर्तन हुन्छ नै । वित्तीय अवस्था बैंकले चालु आवको दोस्रो त्रैमाशमा १ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १५.६६ प्रतिशतले घटेको हो । बैंक नाफा रकमको आधारमा भने छैठौं स्थानमा छ । बैंकको खुद व्याज आम्दानी ७ प्रतिशतले घटको छ । सञ्चालन नाफा भने १६ प्रतिशतले घटेको छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १३.३७ प्रतिशत रहेकोले हालको नियामकीय प्रावधान (११ प्रतिशत) भन्दा सहज छ । बैंकको निक्षेप र कर्जाको अनुपात ७५.३९ प्रतिशत छ । बैंकले थप कर्जा लागनी गर्न सक्ने अवस्था सहज नै छ । यस्तो अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ । बैंकले पूँजी थप्न ऋणपत्र जारी गर्ने समेत भएको छ । बैंकको सञ्चित तथा जगेडा कोषमा ११ अर्ब ९१ करोड रुपैयाँ रकम छ । बैंक पुँजी कोष लागत सामान्य घटेर ६.३७ मा भएको छ । यद्यपि ७ अर्ब ७३ करोड व्याज आम्दानी गरेको बैंकको व्याज खर्च ४ अर्ब छ । बैंकले खराब कर्जाको आधारमा सो कर्जाको १ सय २१ प्रतिशत रकम राखेको छ । बैकले प्रावधान रकम ५५ करोड ९० लाख छ । बैंकको प्रतिसेयर आम्दानी २३.४३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.२८ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ८४ रुपैयाँ छ । बैंक प्रतिसेयर आम्दानीको आधारमा १३ स्थानमा छ । इक्रा नेपालले केही दिन अघि मात्र बैंकलाई दिदै आएको रेटिङलाई घटाएर निगरानीबाट हटाएको छ । हाल बैंकलाई ए रेटिङ दिएको छ । इक्राले उल्लेख गरेका मुख्य विषयः –खराब कर्जा २.८४ प्रतिशत पुगेको –भाका नाघेको कर्जा भने १४ प्रतिशतबाट २२ प्रतिशत पुगेको –निक्षेप र कर्जाको आधार बलियो (समग्र बैंकिङ क्षेत्रमा बैंकको निक्षेप र कर्जा हिस्सा ५ प्रतिशत बढी) –कर्जामा केन्द्रीकरण (प्रमुख २० मा ३५ प्रतिशत कर्जा लगानी) –खुद व्याज मार्जिन ३.४५ बाट घटेर ३.२८ सन्तुलित क्षेत्रमा सेयर कारोबार बैंकको सेयर कारोबार सन्तुलित क्षेत्रमा आएको छ । बैंकको मूल्य १४ दिने आरएसआई स्केलको ४५.८३ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । सिम्पल मुभिङ एभरेज रेखामा केही समयअघि क्रमओभर भएको छ । २१ दिने रेखाले ७ दिनेलाई काटेर माथि रहेकोले मूल्य वियरिश प्रवृत्तिमा छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे एक महिनामा ४ सय ६ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे ३ सय ६८ मा पहिलो टेवा पाउने देखाउँछ । बढ्दो क्रममा रहेको बैंकको सेयर मूल्य वृद्धिमा ब्रेक लाग्ने संकेत देखिएको छ । अन्तिम दिन बनेको कालो मैनवत्तिले यही संकेत गरिरहेको छ । बैंकको सेयर मूल्य भने वर्षकै न्युन विन्दुमा पुगेकोले बढ्ने सम्भावना भने छ । मूल्यले हालै वर्षकै न्युन विन्दु ३ सय ७३ बाट उकालो लाग्ने प्रयामा छ । तर, बुलिश प्रवृत्ति देखिइनसकेकोले आगामी दिनको कारोबार हेरेर निर्णय लिनु सही हुन्छ ।