राष्ट्रिय वाणिज्य बैंकको १२ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रस्तावित १२ प्रतिशत नगद लाभांश पारित भएको छ । माघ २४ गते सम्पन्न बैंकको चौधौं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले हालकाे चुक्ता पुँजीकाे (एक अर्ब ८ कराेड रूपैयाँ) १२ प्रतिशत नगद लाभांश(कर समेत) पाउने छन् । साथै, बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंकको हाल ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रभु इन्स्योरेन्सको १६ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी एक अर्ब माथि

काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रस्तावित १६.३२ प्रतिशत लाभांश पारित भएको छ । माघ २४ गते सम्पन्न कम्पनीको २४ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनश सेयर तथा कर सहित ११.३२ प्रतिशत नगद गरी कूल १६.३२ प्रतिशत लाभांश पाउने छन् । बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ६२ लाख ७५ हजार रुपैयाँ पुगेको इन्स्योरेन्सले जनाएको छ । साधारण सभामा कम्पनीको सञ्चालक समितिका अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच कम्पनीले पुँजी वृद्धि, खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेको बताए । कम्पनीले आधुनिक बीमा सेवाका सबै प्रविधिहरु प्रयोग गरी प्रविधिमा आधारित बीमा सेवा स्थापित गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बताउँदै जोखिम व्यवस्थापन, कर्मचारी व्यवस्थापन, तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सबल बनाउन इन्स्योरेन्सले जोड दिएको उनले बताए । हाल कम्पनीले केन्द्रिय कार्यालय सहित ५६ भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरुबाट सेवा प्रदान गरिरहेको छ ।

गुराँस लाइफ इन्स्योरेन्सलाई शतप्रतिशत हकप्रद जारी गर्न अनुमति

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डकोे अनुमति पाएको छ । बोर्डले माघ २१ गते कम्पनीलाई सो मात्राको हकप्रद जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ८७ करोड ७० लाख रुपैयाँ नाघ्ने छ ।