अर्थमन्त्री र सेयर बजारको लुकामारीः खतिवडा नै दोहोरीने भनिएपछि नेप्सेमा उच्च गिरावट

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार सम्हालेको अघिल्लो दिन २०७४ फागुन १४ गते नेप्से १३ सय ५८ अंकमा थियो । खतिवडा अर्थमन्त्री भएर आएको केही दिनमै सेयर बजार नियमित रुपमा ओरालो लाग्यो । मन्त्री भएको तेस्रो दिन सेयर बजारकै कारण उनको आलोचना गरिएको थियो। फागुन १७ गते बिबिसीसँगको अन्तर्वातामा उनले सेयर बजार अनुत्पादक भएको टिप्पणी गरेका थिए। खतिवडाले पुँजीबजारबारे पहिलो टिप्पणी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा दिने कर्जा (मार्जिन लेन्डिङ) अनुत्पादक लगानी भएको उनको धारणा निकै आलोचित बन्यो । उनले त्यति मात्र भनेनन् सेयर बजारमा लहडका भरमा लगानी गर्नु हुँदैन, लहडमा लगानी गरेकाले बजार अस्वाभाविक रुपमा बढेको थियो, अहिले घट्नु सही, स्वाभाविक र सुधार हो भन्ने धारणा राखे । यो भनाइले पुँजीबजारमा झन् नकारात्मक प्रभाव पर्यो। लगानीकर्ताहरु उनी प्रति रुष्ट मात्र भएनन् उनको राजीनामा समेत माग गरे । त्यसपछि अर्थमन्त्रीले सेयर बजारको बारेमा सार्वजनिक सभामा बोल्न छोडका थिए । केही साताअघि उनी अर्थमन्त्रीबाट बाहिरे हल्ला थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभाको सांसद बनेका डा‍‍. खतिवडाको कार्यकाल २० फागुन अर्थात भोली सकिँदैछ । तर, उनलाई अर्थमन्त्रीको रुपमा पुनः दोहोर्याउने हल्ला पनि बजारमा छ । यसले पनि सेयर बजारमा प्रभाव पारेको हुन सक्ने जानकारहरु बताउँछन् । पुँजी बजारका लगानीकर्ता अर्थमन्त्री नफेरिने भएपछि सेयर बजार घटेको बताउँछन् । केही दिन अगाडि अर्थमन्त्री हट्ने भने र बढेको सेयर बजार पुनः खतिवडा नै दोहोरिने भएपछि आज ९६.०६ अंकले सेयर बजार घटेको छ । सोमबारको सेयर कारोबार नियमित समय अगाडि नै बन्द भएको छ । नेप्से परिसूचक ६ प्रतिशतले घटेसँगै आजको लागि सम्पूर्ण कारोबार बन्द भएको हो । बजार एकैदिन ९६.०६ प्रतिशतले घटेर १४९५.३० अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ६.०४ प्रतिशतले घटी हो । सोमबार कारोबार खुलेदेखि नै नेप्से परिसूचक निरन्तर रुपमा ओरालो लागेको थियो । बजार खुलेको करिब दुई घण्टाको अवधिमा ५ प्रतिशतले घटेर ४० मिनेटको लागि बजार बन्द भएको थियो । त्यसपछि खुलेको बजारमा पनि परिसूचक अघिल्लो दिनको तुलनामा ६ प्रतिशतले घटेपछि सोमबारको लागि कारोबार बन्द गरिएको नेप्सेले जानकारी दिएको छ । सोमबारको सेयर बजार घट्नुको कारण अर्थमन्त्री यथावथ रहनु भएको जानकारहरु बताउँछन् ।  कतिपय लगानीकर्ताले मन्त्रिपरिषद् पुर्नगठन हुँदा अर्थमन्त्री परिवर्तन भएर सेयर बजारको उकालो लाग्न सक्ने कल्पना गरेका छन् ।

लगातार उकालो लाग्दै शेयर बजार : सातामा साढे १८ अर्बको कारोवार

काठमाडाैं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य गिरावट भयो । सातामा नेप्से परिसूचक १९७.६० अङ्कले बढ्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १८० कम्पनीका चार करोड ४९ लाख ४४ हजार ११३ कित्ता शेयर कूल रु १८ अर्ब ६२ करोड ६६ लाख २२ हजार ४०७ मा खरिद बिक्री भए । साताको पहिलो दिन नेप्सेमा उच्च अङ्कको वृद्धि देखियो । आइतबार नेप्से झण्डै ७० अङ्कले बढ्यो । ‘बुलिस ट्रेन्ड’ देखिएको बजारमा नेप्से ६९.५६ ले वृद्धि भएर एक हजार ५०४.१४ मा पुग्यो । लामो समयपछि बजारमा आइतबार ‘सर्किट ब्रेक’समेत लगाउनुपर्यो । लगानीकर्ता ओइरिएर शेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाब पर्न गयो ।सोही कारण कारोवार शुरु भएको दोस्रो घण्टामा नै सर्किट ब्रेक लगाउनुपरेको थियो । सो दिन कूल १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ मूल्यमा खरिद बिक्री भए । साताको दोस्रो दिन नेप्सेमा सामान्य गिरावट आयो । सोमबार नेप्से १.९६ ले घट्यो । नेप्से झिनो अङ्कले घटे पनि कारोवार रकम भने तीन अर्ब माथि रह्यो । सो दिन कूल १७९ कम्पनीका कूल ८३ लाख ४८ हजार २३४ कित्ता शेयर रु तीन अर्ब ४१ करोड पाँच लाख १६ हजार २७८ बराबरको कारोवार भए । सोमबार केही गतिरोध आएको बजारमा मङ्गलबार भने भारी सुधार देखियो । उक्त दिन नेप्से ४३.०२ ले बढ्यो । नेप्सेको उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत वृद्धि भयो । कूल १८० कम्पनीका ७० लाख ५९ हजार ७१२ कित्ता शेयर रु दुई अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ मूल्य बराबरको शेयर खरिदक्रिी भए । धितोपत्र बजारमा नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम बुधबार पनि जारी रह्यो । सो दिन नेप्से परिसूचक ५०.९३ अङ्क बढ्यो । बुधबार कूल १८० कम्पनीका ९९ लाख छ हजार ९८९ किता शेयर रु चार अर्ब १५ करोड ४८ लाख ८३ हजारमा कारोबार भए । साताको अन्तिम दिन नेप्से ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुुगेर रोकियो । नेप्सेमा भारी वृद्धि हुँदा कारोवार रकम झण्डै साढे चार अर्ब पुग्यो । बिहीबार कूल १८० कम्पनीका एक करोड आठ लाख ५९ हजार ६५६ कित्ता शेयर रु चार अर्ब ४६ करोड पाँच लाख ३६ हजार २५१ मा खरिद बिक्री भए । रासस

एनएमबी बैंकको सेयरमा किन बढिरहेको छ आकर्षण ? (समग्र विश्लेषण)

काठमाडौं । लामो समयसम्म एनएमबी बैंक बिस्तारै आफ्नो गतिमा अगाडी बढ्ने मध्यम बैंकको रुपमा रहदै आयो । चुक्ता पुँजीको आधारमा देशकै तेस्रो ठूलो वाणिज्य बैंक बनिसकेपछि भने बैंकको व्यवसायको दर, नाफा मात्र उच्च छैन, सेयर कारोबारमा देखिने गरी गतिविधि बढेको छ । गत साताको सेयर कारोबार रकम आधारमा बैंक प्रमुख १० भित्र अटाएको छ भने बजार पूँजीकरणको आधारमा सूचीकृत कम्पनीहरुमध्ये चौंथो स्थानमा छ । लामो समयसम्म मर्जरको कारण कारोबार रोकिएको बैंकबाट लगानीकर्ताले कारोबार खुला भएपछि मात्रै करीब ३६ प्रतिशत प्रतिफल पाएका छन् । यस्तो प्रतिफल बुधवारसम्मको मूल्य परिवर्तनबाट मात्रै सम्भव भएको हो । आज हामी बैंकको वित्तीय अवस्था, सेयर कारोबारमा रहेको आकर्षण लगायतको आधारमा विश्लेषण गर्दैछौं । परिचय २०६५ सालमा स्थापना भएको एनएमबी बैंक पछिल्लो समय मर्जर र प्राप्तमा जोड दिदै अगाडी बढ्यो । हालै ओम डेभलपमेन्ट बैंक प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजीमा करीब २० प्रतिशतले वृद्धि भएको हो । हाल बैंक कञ्चन विकास बैंकलाई प्राप्ति गर्ने तयारीमा समेत छ । बैंकले क्लिन इनर्जी डेभलपमेन्ट, भृकुटी डेभलपमेन्ट बैंक, प्रुडेन्सियल फाइनान्स लगायतलाई समेत मर्ज गरेको थियो । –बजार पूँजीकरण आधारमा चौंथो स्थानमा आयो बैंक –सेयर अत्यधिक खरिद चाप क्षेत्रमा –ओमबाट आएको प्रिमियम लाभांश पाइने आशमा आकर्षण –खराब कर्जा र कर्मचारी खर्च वृद्धि मर्जरसँगै बैंकको कर्मचारी संख्या पनि निकै बढेको छ । हाल बैंकमा १ हजार ५ सय २३ कर्मचारी छन् । संख्यामा भएको वृद्धिको कारण कर्मचारी खर्चमा उच्च वृद्धि देखिएको छ । गत आव अन्त्यमा यस (बोनस बाहेक) मा ४३.२५ प्रतिशतले वृद्धि भएर १ अर्ब नाघेको छ । बैंकका लगानीकर्ता वार्षिक वित्तीय विवरण अनुसार बैंकमा नेदरल्याण्ड्सको एफएमओको १७ प्रतिशत लगानी छ भने मलेशियाको यङ लियनको ५.२३ प्रतिशत सेयर लगानी छ । गोल्याण समूहको समेत बैंकमा पकड छ । हाल बैंकमा यही समूहबाट अध्यक्षको रुपमा पवनकुमार गोल्यान छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी छन् । उपाधी बैंकले लगातार दुई वर्ष बैंक अफ दी इयरको अवार्ड पाएको छ । लण्डनको फाइनान्सियल टाइम्स् दी बैंकरबाट एनएमबी बैंकले सन् २०१७ र २०१८ मा यस्तो उपाधी पाएको थियो । सहायक कम्पनी बैंकको शतप्रतिशत लगानीमा सहायक कम्पनी एनएमबी क्यापिटल सञ्चालनमा छ । कम्पनीले मर्चेन्ट बैंकरको रुपमा मात्र नभई सामुहिक लगानी कोष पनि सञ्चालन गरिरहेको छ । त्यस्तै बैंकको ५१ प्रतिशत सेयर स्वामित्वमा एनएमबी लघुवित्त कम्पनी पनि सञ्चालनमा छ । बैंकले लगानीको रुपमा सूचीकृत भएको सेयरमा ६० करोड ६८ लाख र सूचीकृत नभएको सेयरमा ६३ करोड ३२ लाख लगानी गरेको छ । बैंकले गत आव अन्त्यसम्म १० करोड २९ रुपैयाँ बराबरको सम्पती खराब भएका ऋणीहरुबाट सकारेको छ । कानुनी काम कारवाही बैंक र त्यसअघि मर्जर भएका संस्थाहरुको कर निर्धारणको विषयमा सर्वोच्च र पुनरावेदन अदालतमा मुद्दा चलिरहेको छ । करीब १७ करोड ५० लाख रुपैयाँ करमा विवाद रहेको हो । बैंकले सकारेको जग्गाको विषयमा समेत मुद्दा परेको छ । यो मुद्दा काठमाडौं जिल्ला अदालतमा विचराधिन अवस्थामा छ । लाभांश दर बैंकले यसपटकको ३५ प्रतिशत लाभांश घोषणा गरिसकेको छ । बैंकले विगत ५ वर्षमा बार्षिक औषत २१.८४ प्रतिशत लाभांश दिएको छ । बैंकले बोनस सेयरलाई चुक्ता पूँजीमा समायोजन गरिसकेको देखिदैन । चालु आवको हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई १ अर्ब ११ करोड रुपैयाँ वितरण गर्न सक्छ । यो भनेको बोनस सेयर समायोजन पछिको चुक्ता पुँजीको आधारमा ८ प्रतिशत हो । निश्चय नै आव अन्त्यमा यो दर बढ्नेछ । बैंकको मर्जर अघि २ अर्ब ५१ करोड सेयर प्रिमियम रहेकोमा हाल २ अर्ब २४ करोड रहेको विवरण प्रकाशित गरेको छ । यसबाट समेत लाभांश दिन केही रकम प्रयोग भइसकेको देखिन्छ । तर, बैंकले सेयर प्रिमियममा ओम डेभलपमेन्टबाट आएको रकम देखाएको छैन । प्राप्तिको क्रममा एनएमबी र ओमको सेयर स्वाप रेसियो १ सय बराबर ७६ अनुपात कायम भएको थियो । यसको अर्थ बैंकको सेयर प्रिमियममा ६० करोड रुपैयाँ बढ्नु पर्ने हो । तर यस्तो वृद्धि भएको छैन । यता बैंकले ६२ करोड रुपैयाँ गैरसञ्चालन आम्दानी देखाएको छ । भविष्यमा प्रिमियम वापतको रकम समेत लाभांश दिन सक्ने व्यवस्था छ । वित्तीय अवस्था एनएमबी बैंकले चालु आवको दोस्रो त्रैमाशमा ४७.४० प्रतिशतले नाफा बढाएको छ । बैंकको नाफा १ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । नाफा रकमको आधारमा समग्र वाणिज्य बैंकहरुमध्ये एमएमबी बैंक सातौं स्थानमा छ । बैंकको जगेडा तथा सञ्चित कोषमा ७ अर्ब ६६ करोड रुपैयाँ छ । बैंकको व्याज आम्दानी ३२ प्रतिशत बढेको छ भने खुद व्याज आम्दानी ३६ प्रतिशतले वृद्धि भएको छ । ७ अर्ब १ करोड ब्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानीमा २ अर्ब ७३ करोड पुगेको छ । खुद व्याज आम्दानीसँगै फि, कमिशन र अन्य आम्दानी बढेको छ । तर, यसले पनि कुल सञ्चालन नाफा भने २ प्रतिशतले घटेको छ । १ अर्ब ५१ करोड सञ्चालन नाफा भएको छ । गत वर्ष ९ करोड १४ लाख प्रावधान राखेको बैंकले यो रकम बढाएर ६० करोड पु¥याएको छ । खराब कर्जा अनुपात बढेर १.९६ प्रतिशत छ । नोक्सानी व्यवस्थामा १ सय ३१ प्रतिशत रकम राखेको छ । निक्षेप प्राथमिक पुजीको आधारमा कर्जा लगानी अनुपात ७७.५५ प्रतिशत छ । बैंकलाई थप लगानीको लागि स्पेस कम भइसकेको छ । कोष लागत ७.३२ प्रतिशतबाट बढेर ७.७० मा पुगेको छ । बैंकको पूँजी लागत उच्च रहेको, कर्जा दिदा लिने व्याजदर (१०.१२) उच्च रहेकोले प्रतिस्पर्धी क्षमतामा यसले केही कमि ल्याएको छ । बैंकको प्रतिसेयर आम्दानी ३०.४० प्रतिशत, प्रतिसेयर नेटवर्थ १ सय ८८ प्रतिशत र मूल्य आम्दानी अनुपात ११.८१ प्रतिशत छ । प्रतिसेयर आम्दानी र नेटवर्थ औसतभन्दा माथि नै रहेपनि मूल्य आम्दानी अनुपात भने औसतभन्दा निकै तल छ । यसले बैंकको सेयरले अझै उचित मूल्य नपाएको देखाउँछ । बैंकले हाल घोषणा गरेको बोनस सेयर समायोजनपछि प्रतिसेयर आम्दानी केही घट्नेछ । बुलिश प्रवृत्ति विगत एक वर्षमा १ सय ३४ दिन मात्र कारोबार भएको बैंकको सेयर हालसम्मकै उच्च विन्दुमा छ ।बैंकको सेयर १४ दिने आरएसआई सुचकको स्केल ९६.०९ मा छ । बैंकको सेयरमा अत्यधिक खरिद चाप रहेको देखाउँछ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । २१ दिने सिम्पल मुभिङ एभरेज रेखालाई ७ दिने रेखाले काटेर केही माथि लागेको छ । यसले मूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्छ । ३० कारोबार दिनको पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे आगामी ३० दिनमा ५ सय २९ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे ३ सय ९५ मा पहिलो टेवा पाउने देखाउँछ । बैंकको सेयर मूल्यले अन्तिम दिन डोजी मैनवत्ति बनेको छ । यसले मूल्य घट्न सक्ने सम्भावनालाई पनि देखाइरहेको छ । यो संकेत दरिलो होइन । तर, वर्षकै उच्च विन्दुमा मूल्य रहेकोले प्रोफिट बुकिङमा लगानीकर्ता लाग्न सक्ने सम्भावना छ । हालसम्म अत्यधिक खरिद चाप नै देखिएकोले डराई हाल्नु पर्ने अवस्था छैन । तरपनि ध्यान दिनुपर्ने अवस्थामा भने मूल्य आएको छ ।