साताको शेयर : कोरोनाकाे प्रभाव परे पनि आठ अर्बको कारोवार, अर्काे सातादेखि बजार बन्द
काठमाडौं । कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा पर्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १७४ कम्पनीका कूल दुई करोड २७ लाख १९ हजार १ सय २२ कित्ता शेयर रुपैयाँ ८ करोड २६ लाख ९५ लाख दुई हजार ७ सय ११ बराबरको कारोवार भएकाे थियाे । त्यस्तै अर्काे सातादेखि अर्थात आइतवारदेखि सेयर बजार बन्द हुने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै सो दिनदेखि चैत २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द हुने बताएका हुन् । साताको पहिलो दिन नेप्से परिसूचकमा भारी गिरावट देखा पर्यो । शेयर कारोवारमा सहजता ल्याउन भन्दै नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेञ्जले कारोवार समय थप गरेर ४ बजेसम्म पु¥याएको भए पनि बजारमा उत्साह देखिन सकेन । त्यस दिन नेप्से परिसूचक ६४.१४ अङ्कले घटेर एक हजार ३१३.०४ मा पुग्यो । कूल १७४ कम्पनीका ५५ लाख ७० हजार ३० कित्ता शेयर दुई अर्ब १० करोड १४ लाख १७ हजार २ सय ९२ रुपैयाँमा खरिद बिक्री भए । सोमबार नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भयो । त्यस दिन नेप्से ३.३५ ले वृद्धि भई एक हजार ३१६.३९ मा पुग्यो । कूल १६० कम्पनीको ४१ लाख ९१ हजार ४ सय १५ कित्ता शेयर रु एक अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८ सय ७७ मूल्यमा खरिद बिक्री भए । मङ्गलबार नेप्से परिसूचक भारी अङ्कले ओरालो लाग्यो । त्यस दिन नेप्से परिसूचक ४४।३३ अङ्कले घटेर एक हजार २७२।०६ मा पुग्यो । घटेको बजारमा कारोवार रकम भने झण्डै डेढ अर्ब बराबर भएको छ । कूल १७५ कम्पनीको ४३ लाख ६७ हजार ७ सय ७५ कित्ता शेयर एक अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ मूल्यमा खरिद बिक्री भए । बुधबार पनि नेप्से परिसूचक ओरालो लाग्नेक्रम रोकिएन । त्यसदिन नेप्सेमा १६.२६ अङ्कले गिरावट भयो । आज कूल १७२ कम्पनीको ३४ लाख ८३ हजार २२१ कित्ता शेयर रु एक अर्ब १८ करोड ४४ लाख १६ हजार ८ सय ७८ मा खरिद बिक्री भए । साताको अन्तिम दिन बिहीबार नेप्सेमा सामान्य सुधार देखापर्यो । त्यस दिन नेप्सेमा १३.५० ले वृद्धि भई एक हजार २६९.३० मा पुग्यो । नेप्सेको उकालो यात्रासँगै कारोवार रकमसमेत बढेर झण्डै रु दुई अर्बको हाराहारीमा पुग्यो । कूल १७३ कम्पनीको ५१ लाख छ हजार ६ सय ८१ कित्ता शेयर एक अर्ब ९० करोड ३१ लाख ४२ हजार आठ बराबरको कारोवार भयो । चार कम्पनीको शेयर सूचीकृत साताभर बजारमा विभिन्न चार कम्पनीका कूल ६९ लाख २४ हजार ३ सय १२ कित्ता शेयर सूचीकृत भए । त्यसमा कृषि विकास बैंकको कूल ५४ लाख नौ हजार ३ सय १७ कित्ता शेयर लाभांश, गणपति माइक्रोफाइनान्सको ७२ हजार ४ सय ५० कित्ता शेयर लाभांश, आइसिएफसी फाइनान्सको चार लाख ४३ हजार २ सय ९६ कित्ता शेयर लाभांश र आरएमडिसी लघुवित्तको कूल नौ लाख ९९ हजार २ सय ४८ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । रासस
कोरोनाको प्रभाव: अमेरिकी शेयर बजारमा भुइँचालो, डाउजोन्स ९ सय अंकले घट्यो
न्यूयोर्क । अमेरिकी शेयर बजार वाल स्ट्रीट सातामा जसरी शुरुवात भएको थियो अन्त्य पनि त्यस्तै भयो, अर्थात् शेयर बजारमा कोरोना भाइरसको असर पूरै देखियो । शेयर बजारमा द्रुत गतिमा गिरावट आउनुका साथै तेलको मूल्यमा भारी कमी भयो । कोरोनाको महामारी फैलिन नदिने उपायस्वरुप अमेरिकी संघीय र राज्य सरकारहरुले देशको अर्थतन्त्रभन्दा मानिसको स्वास्थ्यलाई प्राथमिकता दिएपछि शेयर बजारमा मन्दी छाउनु स्वाभाविक थियो । एसियाली शेयर बजारमा केही सुधार देखिए पनि अमेरिकाकै प्रतिष्ठित शेयर सूचक डाउजोन्स औद्योगिक समूह एकै दिन ९ सय अङ्कले घट्यो । सातामा डाउजोन्स १७.३ प्रतिशत घटेको छ । पछिल्ला पाँच हप्तामध्ये चार हप्तामा शेयर सूचकांकमा लगातार गिरावट आएको छ । ट्रम्प प्रशासनले गरेको आर्थिक सहयोग सम्बन्धी घोषणाबाट एक दिन थामिएको शेयर बजारमा अरु दिन भुइँचालो नै गएको थियो । सन् २००८ को वित्तीय सङ्कटका कारण शेयर बजारमा देखिएको मन्दीपछि यो नै सर्वाधिक खराब हप्ता रह्यो । लगानीकर्ताहरु कोरोनाभाइरसले अमेरिका र अन्य प्रमुख अर्थतन्त्रहरुलाई गहिरो मन्दीमा धकेल्ने त होइन भनेर चिन्तित भएका छन् । प्रकोप फैलिन नदिन सरकारहरुले अबलम्बन गरेका नीतिहरुले अर्थव्यवस्थामा कठिनाई आउनुका साथै कर्मचारी कटौतीको सम्भावना बढाएका छन् । केन्द्रीय बैंकहरू र सरकारहरूले आर्थिक क्षतिलाई कम गर्न आपतकालीन कार्यक्रमहरू घोषणा गरिरहेका छन् तर यो अपर्याप्त कदम रहेको भन्दै आलोचना हुन थालेको छ । मानिसहरु विश्व अर्थतन्त्रको पहिलो नम्बरमा रहेको अमेरिकामा नोक्सान सहनु परेका घरपरिवार र उद्योगहरुलाई ट्रम्प प्रशासनले अर्बौं डलरको राहत उपलब्ध गराउने अपेक्षा गरिरहेका छन् । “कोरोनाभाइरसले अर्थव्यवस्थालाई शिथिल बनाउँदैछ,” एल्ली इन्भेस्टकी प्रमुख लगानी रणनीतिकार लिन्ड्से बेलले बताए । यहीबीच, तेलको माग घटेपनि उत्पादन बढाइएका कारण तेलको मूल्यमा कमी आएको छ । “यो अर्थतन्त्रको लागि दोहोरो धक्का हो ।” न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुमोले अधिकांश कामदारहरूलाई घरमै बस्न आदेश दिएपछि शुक्रबार शेयरको बिक्री एकाएक बढेको थियो । क्यालिफोर्नियाले यस्तै उपाय घोषणा गरेको एक दिन पछि न्यूयोर्कले यो घोषणा गरेको थियो । न्यूयोर्क र क्यालिफोर्नियामा अब रेष्टुरेन्टहरू, खुद्रा बिक्रेताहरू र अन्य व्यवसायहरु बन्द गरिएका छन् । यी उपायहरूले पनि खनिज तेलको माग घटाउने छ । अमेरिकी कच्चा तेलको मूल्यमा करिब २१ प्रतिशत गिरावट आएको छ र यो सन् २००२ को फेब्रुअरीपछि पहिलो पटक प्रति ब्यारेल २० डलर भन्दा तल पुगेको छ । लगानीकर्ताहरू बजारको वर्तमान अस्थिरतालाई रोक्न कोरोनाभाइरसको नयाँ संक्रमण रोकिनुको विकल्प नरहेको बताउँछन् । वेल्स फार्गो इन्भेस्टमेन्ट इन्स्टिच्युटका ग्लोबल मार्केट रणनीतिकार, पल क्रिस्टोफरले भने “हामीलाई थाहा छैन, अर्को दुई हप्तामा के हुने हो । अन्य देशहरूमा जस्तै संक्रमणको चक्रमा अमेरिका फस्यो भने त्यसबेला आँधी आउनेछ ।” विश्वभर कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ११ हजार ४०० भन्दा बढी पुगिसकेको छ । विश्वव्यापी रूपमा २ लाख ७६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यीमध्ये करिब ९२ हजार मानिस निको भएका छन् । अधिकांश व्यक्तिहरूमा कोरोनाभाइरसको हल्का वा मध्यम लक्षणहरू निम्त्याएको पाइन्छ, जस्तै ज्वरो र खोकी लाग्नु । तर हल्का बिरामी भएकाहरू करिब दुई हप्तामा निको भएको पाइएको छ । विशेषगरी वृद्धहरू र पहिल्यैदेखि स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा निमोनिया लगायतका गम्भीर अवस्था देखिन सक्छ र यस्तो परिस्थितिमा स्वास्थ्यलाभका लागि कम्तीमा छ हप्ता लाग्नेछ । रासस/एपी
सेयर लगानीकर्ता ब्रोकरको अफिसमा जान नपाउने
काठमाडौं । लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) को अफिसमा गएर टिभीमा सेयर कारोबारको लाइभ हेर्न नपाउने भएका छन् । बोर्डले बढी भिडभाड नगर्न र लगानीकर्ता ब्रोकर अफिसमा आउने अवस्था निरुत्साहित होस भने यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण सन्त्रासको कारण पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले स्क्रीन एक्जिविसन रुम बन्द गर्न निर्देशन दिएको कारण टिभी हेर्न नपाइने भएको हो । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले सेयर ब्रोकरलाई विभिन्न ५ बुदे निर्देशन दिएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको विभिन्न निर्णय तथा सेयर लगानीकर्ता, धितोपत्र दलाल व्यवसायी र अन्य सरोकारवालासँगको परामर्शमा यस्तो निर्णय गरिएको बोर्डको भनाइ छ । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले ‘अत्यावश्यक कामका बाहेक आवतजावत, हिडडुल नगर्ने, सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेला नहुने, स्कूल, कलेज, सरकारी, सामूदायिक तथा निजी क्षेत्रका तालिम केन्द्र तथा प्रतिष्ठानहरु एवं निजी क्षेत्र क्षेत्रका शैक्षिक परामर्श केन्द्रहरुबाट संचालित कार्यक्रमहरु बन्द गर्ने’लगायतका विभिन्न १८ वटा निर्णय गरेको थियो । सोही निर्णयका आधारमा बोर्डले धितोपत्र बजार सम्बद्ध विभिन्न पाँच लगानीकर्ता संघले पेश गरेको ज्ञापन पत्र तथा उक्त पाँच लगानीकर्ता संघहरुका प्रतिनिधिहरु, स्टक एक्सचेञ्जका उच्च पदाधिकारीहरु, स्टक ब्रोकर एशोसिएसनका पदाधिकारी र बोर्डका पदाधिकारीहरु बीच कोरोना भाइरसका कारणबाट फैलिएको त्रास र यसवाट विभिन्न आर्थिक गतिविधिहरुमा परेको प्रभाव तथा असर सम्बन्धमा छलफल भएको थियो । उक्त छलफल पश्चात् नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लो निर्णय र बजार सम्बद्ध पक्षहरुको हालको परिस्थितिप्रतिको चासो तथा गाम्र्भियता समेतलाई दृष्टिगत गरी विभिन्न निर्णय गरिएको बोर्डको भनाइ छ । यस्ता छन् निर्णयहरु (१) धितोपत्र दलाल व्यवसायीहरुले स्क्रीन एक्जिविसन रुम बन्द गर्ने (२) कार्यालयमा कर्मचारी बाहेक एक पटकमा पाँच जनाभन्दा बढीको संख्यामा ग्राहकको भिडभाड नहुने व्यवस्था गर्ने । (३) कार्यालयमा कर्मचारीहरु तथा लगानीकर्ताहरु प्रवेश गर्दा हात सफा गर्ने, स्यानिटाइजर तथा मास्कको प्रयोग र तापक्रम मापन कार्य गर्ने व्यवस्था गर्ने । ४) कोरोना भाइरस तथा यसबाट बच्ने उपायहरु सम्बन्धी सूचनामूलक जानकारी प्रवेशद्वारमा राख्ने । (५) नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मिति २०७६।१२।०५ को सम्बन्धित निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।