डिम्याट खाता र मेरो सेयर सित्तैमा खोल्न सकिने
काठमाडौं । वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ्गमा डिम्याट खाता र मेरो सेयर सित्तैमा खोल्न सकिने भएको छ । लगानीकर्ताले याे महिना अर्थात असार महिनाभर डिम्याट खाता र मेरो सेयर निःशुल्क खोल्न पाउने मर्चेन्टले जनाएको छ । मर्चेन्टले कोभिड-१९ को महामारीमा लगानीकर्तालाई राहत स्वरुप उक्त सुविधा उपलब्ध गराउने भएको हो ।
लगानीकर्ताका संघ र आर्थिक पत्रकारमाथि आचारसंहिता लगाउन रामकुमारी झाक्रीको प्रस्ताव
काठमाडौं । पुँजी बजार अध्ययन उपसमितिका संयोजक समेत रहेकी सांसद रामकुमारी झाक्रीले लगानीकर्ताका संघ र आर्थिक पत्रकारमाथि आचारसंहिता लागू गर्नुपर्ने बताएकी छन् । अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालसहितको समितिको टोलीले धितोपत्र बोर्डसँग गरेको छलफलमा सांसद झाक्रीले यस्तो बताएकी हुन् । सांसद झाक्रीले दोस्रो बजारमा हुने सूचना सम्प्रेषण, लगानीकर्ताका संघ संस्थाको गतिविधिका बारेमा चासो राख्दै लगानीकर्ता संघ तथा आर्थिक पत्रकारलाई आवश्यक परे अन्य नियमन निकायसँग समेत समन्वय गर्दै आचारसहिंता लागू गर्नपर्ने बताइन। नेपालको पँुजी बजारलाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने भन्दै उनले बोर्डको संस्थागत एवं नियमन क्षमता सुदृढ गरी बोर्डलाई सबल र शसक्त नियमन निकायको रुपमा विकास गर्न प्रयास गर्नुपर्ने धारणा राखिन् । समितिका सभापति कृष्णप्रसाद दाहालले नेपालको वित्तीय प्रणालीमा पँुजी बजार र यसको नियमन निकाय बोर्डको भूमिका अत्यन्त महत्वपूर्ण भएको हुनाले यसको विश्वसनीय एवं दिगो विकासका लागि कटिबद्ध भएर लाग्नुपर्ने धारणा राखे । धितोपत्रको प्राथमिक बजारको विकास उत्साहजनक देखिए तापनि दोस्रो बजारको विकास भने सोही गतिमा हुन नसकेको सभापति दाहालको भनाइ छ । उनले आगामी दिनमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन पहल गर्नुपर्ने, सार्क क्षेत्रका अन्य देशमा जस्तै नेपालको धितोपत्र बजारमा पनि विदेशी रणनीतिक साझेदार भित्र्याई बजारको स्तर अभिबृद्धि गर्नुपर्ने, पँुजी बजारलाई अन्तर्राष्ट्रिय बजारसँग आवद्ध गराउनुपर्ने र वस्तु विनिमय बजार सम्बन्धी पूर्वाधारको विकास गर्नका लागि आवश्यक काम गर्न निर्देशन दिए । बजारको विकासका लागि सम्बन्धित निकायहरुको भूमिका समन्वयकारी हुनुपर्नेमा जोड दिदै सभापति दाहालले बोर्डको संस्थागत क्षमता अभिवृद्धि र धितोपत्र नियमन तथा बोर्ड सञ्चालन सम्बन्धी कानुनी अपर्याप्तता हटाई यसलाई सुदृढ गर्नका लागि समितिले पर्याप्त भूमिका निर्वाह गर्ने आश्वासन समेत दिए । सांसद मेटमणि चौधरीले धितोपत्रको दोस्रो बजारको अनलाइन कारोबारका लागि प्रयोग हुने प्रविधि र हाल दोस्रो बजार बन्द भएको विषयमा चासो राखे । बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले हाल दोस्रो बजार सञ्चालनमा रहेका व्यवधानहरुको चर्चा गर्दे केहीको समस्या समाधान भएको र केही समाधानको क्रममा रहेको जानकारी गराएका थिए । पुँजी बजार संवेदनशील बजार भएको र यसको सम्बन्ध वित्तीय प्रणालीको अन्य क्षेत्रसँग पनि भएकोले सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि अनुरोध गरिएको जानकारी गराएका थिए । अध्यक्ष ढुंगानाले पँुजी बजारको दिगो विकासको लागि बोर्ड, नेप्से, सिडिएससीको संरचनात्मक सुधार गर्नुपर्ने, नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउनुपर्ने, धितोपत्र बजार सञ्चालन र बोर्ड सञ्चालनका लागि छुट्टाछुट्टै ऐन तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको औल्याए । विदेशी पुँजी परिचालन गर्न र देशमा उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न बोर्डले छिट्टै प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल सञ्चालनका लागि कोष व्यवस्थापकलाई अनुमति दिनुका साथै वस्तु विनिमय बजारको पूर्वाधार विकासका लागि बोर्डले छिटै प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको विकासका लागि बोर्डले विगतमा विभिन्न उल्लेखनिय कार्यहरु गर्दै आएको र लकडाउन अवधिमा दोस्रो बजार सञ्चालनका लागि इडीआइएसको व्यवस्था तथा ब्रोकरले पुँजीगत लाभकर म्यानुअली सिस्टममा भर्नुपर्ने व्यवस्थाको अन्त्य गर्नुका साथै बजार सञ्चालन लगायका कार्यका लागि नेप्से, सिडिएससी लगायतका संस्थालाई आवश्यक तयारी गर्न निर्देशन दिएको बताए । उपकार्यकारी निर्देशक डा. नबराज अधिकारीले हालको धितोपत्र बजारको अवस्था, बजार बन्द गर्नुपरेको कारणहरु, बोर्डका भावी कार्यक्रम तथा प्राथमिकता आदिका वारेमा प्रस्तुतीकरण गरेका थिए ।
आन्तरिक राजस्व विभाग भन्छः सेयरमा लाग्ने ५ प्रतिशत लाभकर अन्तिम नै हो
काठमाडौं । सेयर विक्रीबाट प्राप्त आम्दानीमा लाग्ने ५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर भएको आन्तरिक राजस्व विभागको प्रष्ट पारेको छ । विभागले ५ असारमा धितोपत्र बोर्डलाई गरेको पत्राचारमा पुँजीगत लाभकर अन्तिम हो भनेर उल्लेख गरेको भने छैन । आयकर ऐनको दफा ९२ मा अन्तिम रुपमा कर कट्टी हुने भुक्तानीमा पुँजीगत लाभकर समावेश छैन । ऐनको दफा ९२ मा भएको व्यवस्थाले पुँजीगत लाभकरलाई अन्तिम भनेर उल्लेख गर्न नमिल्ने भएकोले अग्रिम कर कट्टी गरिएको विषयमा करचुक्ता प्रमाणपत्र दिने व्यवस्था मात्रै खुलाइएको विभागका कर अधिकृत युवराज बस्नेतले जानकारी दिए । ‘आयकर ऐनको दफा ९२ मा अन्तिम रुपमा कर कट्टी हुने भुक्तानीको सुचीमा पुँजीगत लाभकर समावेश छैन, त्यसैले पुँजीगत लाभकर अन्तिम कर हो भने उल्लेख गर्न प्राविधिक रुपमा मिलेन, तर, ऐनको अनुसची १ मा प्राकृर्तिक व्यक्तिको हकमा सेयर निसर्गबाट प्राप्त हुने आम्दानीमा ५ प्रतिशत मात्रै कर लाग्ने व्यवस्था स्पष्ट गरिएकोले पुँजीगत लाभकर नै अन्तिम हो, थप कर लाग्दैन,’ कर अधिकृत बस्नेतले भने । विभागले बोर्डलाई लेखेको पत्रमा कर चुक्ता प्रमाणपत्र पाइने भनिए पनि पुँजीगत लाभकर अन्तिम हो कि होइन भनेर उल्लेख गरिएको छैन । विभागको यस्तो व्यहोराको पत्रले लगानीकर्तामा अन्योल अझै कायमै छ । आर्थिक ऐनमा पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा उल्लेख गरिएको भए अहिले देखिएको अन्योलता स्वतः हट्ने विभागको भनाइ छ । पुँजीगत लाभकर अन्तिम नभएकै अवस्थामा पनि त्यसले तात्विक भिन्नता नपार्ने विभागको दाबी छ । आयकर ऐनको अनुसुची १ मा पुँजीगत लाभकर ५ प्रतिशत मात्रै हुने व्यवस्था भएको र लगानीकर्ताले अग्रिम रुपमा बुझाएको कर पनि ५ प्रतिशत नै हुने भएकोले यसमा थप अल्मलिनु पर्ने अवस्था नरहेको विभागको भनाइ छ । यद्यपि कर चुक्ता प्रमाणपत्र लिनको लागि स्थायी लेखा (प्यान) नम्बर भने लिनै पर्ने भएको छ । पाँच लाख रुपैयाँसम्मको सेयर कारोबार गर्नको लागि प्यान नम्बर नचाहिने व्यवस्था गरिएको भएपनि इटीडीएसमा मात्रै कर चुक्ता प्रमाणपत्र पाइने विभागको प्रष्टोक्तिले प्यान नम्बर नलिएका लगानीकर्ताले करचुक्ता प्रमाणपत्र नपाउने अवस्था सिर्जना भएको हो । विभागले सेयर कारोबार मात्रै गर्ने व्यक्तिको वार्षिक ४० लाख रुपैयाँसम्मको आयमा कर विवरण बुझाउने नबुझाउने भन्ने निर्णय करदाताले नै गर्न सक्ने र सोभन्दा बढीको आयमा भने कर विवरण अनिवार्य भएको बताएको छ । सम्बन्धित सामग्री अब पुँजीगत लाभकरलाई अन्तिम मानिने, हट्यो वर्षौदेखिको अन्योलता पुँजीगत लाभकरलाई अन्तिम मानेपछि सेयर बजारमा कस्तो असर पर्ला ?