सेयर बजार सोमबारदेखि खुल्ने

काठमाडौं । हाल बन्द रहेको सेयर बजार सोमबार(असार १५ गते) देखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले सोमबार(भोलि)देखि बजार खोल्न नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) लाई निर्देशन दिएको बताएका छन् । बजार खोल्ने विषयमा सेबोनद्वारा गठित समितिले गत शुक्रबार नै बजार खोल्नुपर्ने सुझाव पेस गरेको थियो । साेहि विषयमा आइतबार बसेको बोर्डको बैठकले भोलिबाट बजार खोल्ने निर्णय गरेको हो । यससँगै बजार के कसरी कति अवधि खोल्ने भन्ने मोडालिटीको बारेमा नेप्सेलाई नै जिम्मेवारी दिइएको अध्यक्ष ढुङ्गानाले विकासन्युजसँग भने । सरकारले लकडाउन गरेसँगै सूचीकृत कम्पनीहरुको सेयर कारोबार हुने दोश्रो बजार चैत १० गतेदेखि बन्द अवस्थामा रहेको थियो । यसबीचमा दुई दिन खुलेको बजार पुनः बन्द भएको थियो ।

साधना लघुवित्तले ७ करोडको आईपीओ जारी गर्दै, कहिलेदेखि पाइन्छ भर्न ?

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । संस्थाले आगामी असार २१ गतेदेखि सो मात्रा अर्थात प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री गर्न लागेको हो । गत असार ७ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको लघुवित्तले १५ दिनमै सेयर निष्काशन गर्ने भएको छ । कूल ७ लाख ७ हजार ८ सय कित्ता साधारण सेयर मध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिने संस्थाले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि संस्थाले ईक्रा नेपालबाट ‘आईसीआरए एनपी आईपीओ ग्रेड ४’ क्रेडिट रेटिङ्ग पाएको छ ।

एनआईसी एशिया लघुवित्तको आईपीओमा लगानीकर्ताको आकर्षण, दुई दिनमै एक कराेड बढीकाे आवेदन

काठमाडौं । एनआईसी एशिया लघुवित्तको आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको संस्थाको सेयरमा दोश्रो दिनमा मागभन्दा साढे दुई गुणा बढी आवेदन परेको छ । सेयर निष्काशत तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बिहीबार(दोश्रो दिन) साँझ ५ बजेसम्ममा करिब एक करोड १२ लाख कित्ता सेयरको लागि आवेदन परेको छ । जुन मागभन्दा २.५२ गुणा बढी हो । सो अवधिसम्ममा करिब एक लाख ९९ हजार लगानीकर्ताले सेयरको लागि आवेदन दिएका क्यापिटलले जानकारी दिएकाे छ । संस्थाले बुधबारदेखि ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । इच्छुक लगानीकर्ताले आगामी असार १४ गतेसम्म उक्त सेयरमा आवेदन दिन सक्नेछन् । उनीहरुले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । सम्बन्धित समाचारः एनआईसी एशिया लघुवित्तको आईपीओमा १.५८ गुणा बढी आवेदन, हालसम्म कतिले भरे ?