बजेटबाट निरास बनेको पुँजी बजारले खाेजेको के थियो ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटले पुँजी बजारको सम्बोधन नगरेको भन्दै सरोकारवालाले खिन्नता व्यक्त गरिरहेका छन् । पुँजी बजारमा देखिएका नीतिगत समस्या समाधानको अपेक्षा गरिएपनि बजेटले सम्बोधन गर्न नसकेको उनीहरुको भनाइ छ । सरकारले ल्याएको बजेटबाट सरोकारवालाले कस्तो सम्बोधनको अपेक्षा गरेका थिए ? बजेटले के के दिन सक्थ्यो भन्ने प्रसंगमा हामीले सेयर ब्रोकर तथा लगानीकर्ता संघका जिम्मेवार पदाधिकारी र विश्लेषकसँग बुझ्ने प्रयास गरेका छौं । आगामी आर्थिक वर्षको बजेटले पुँजी बजारलाई खासै प्राथमिकता नदिएको ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाट बताउँछन् । धितोपत्र बोर्ड, नेप्से र सीडीएससीको पुनः संरचना बाहेक अरु जे जति कुराहरु आएका छन्, ती सबै कार्यान्वयनको प्रक्रियामा रहेका थिए । त्यसैले, ती बजेटमा नबोलेको भएपनि आउने क्रममै रहेको उनको प्रतिक्रिया छ । ‘धितोपत्र बोर्ड, नेप्से र सीडीएससीको पुनः संरचनाले पनि तत्कालको बजारमा खासै केही असर पर्दैन, त्यसैले बजेटमा सरोकारवाला पक्षहरुबाट जेजति सुझावहरु गएका थिए, जुन अहिले आउनु पर्ने आवश्यकता पनि थियो, ती कुराहरु केही पनि परेनन्,’ उनले भने । ‘मार्केटले राहात मागेको थिएन । केही विषयमा स्पष्टता चाहेको थियो, पुँजीगत लाभकर ५ प्रतिशत नै अन्तिम कर हो कि होइन भनेर । सम्भवतः यो कुरा बजेटमा आइदिएको भए राम्रो हुन्थ्यो, दाश्रो, यो परिस्थितिमा अरु सामान्य बेलाको भन्दा करको कुरामा केही सुविधा दिएको भए मार्केटलाई राम्रो हुने थियो,’ अध्यक्ष रानाभाटले भने । त्यस्तै, बजारमा माग सिर्जना गर्ने गरेर संस्थागत लगानीकर्ताहरु जस्तै, सञ्चय कोष, नागरिक लगानी कोषहरु लगायत अन्य कुनैको फण्ड आइदिएको भए पुँजी बजारलाई राम्रो हुने उनको भनाइ छ । ‘बजेटमा मार्केटले अपेक्षा गरेका कुराहरु नआइदिँदा अरु निकायहरुबाट आउन सक्ने सम्भावना भने छ । अर्थमन्त्रालयबाट यी कुराहरु आइदियो भने मार्केट त्यति नराम्रो नहोला,’ उनले थपे । मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष धुर्व तिमल्सिना पुँजी बजार सरकारको प्राथमिकतामा नपरेकोमा आफूलाई दुःख लागेको बताउँछन् । अनलाइन कारोबार व्यवस्थापन गर्ने कुराहरु बजेटमा भन्दा पनि नेप्सेको विजेनस प्लानमा आउनु पर्ने कुरा हो भन्दै उनले कम्पनीले गर्नु पर्ने काम बजेटमा राखेर केही अर्थ नभएको बताए । ‘पुँजी बजार र बैंक तथा वित्तीय संस्था एक अर्काका विकल्प नभई उनीहरु परिपूरक हुन्, पुँजी बजारको मेरुदण्ड भनेको कोषहरु नै हुन् । जस्तै, दोश्रो बजारमा सामूहिक लगानी कोषहरु हुन्छन् । प्रोजेक्ट फाइनान्सिङ्मा सर्पोट गर्ने भेञ्चर क्यापिटल, वैकल्पिक लगानी कोषहरु हुन्छन् । ती कोषहरुलाई मान्यता दिएको भएपनि एउटा पहल हुन्थ्यो । जसले पुँजी बजारमा बलियो आधार निर्माण गथ्र्यो,’ उनले भने । ‘सरकारको प्राथमिकता अहिले कोरोनाको भाइरसबाट थला परेको अर्थतन्त्रलाई कसरी उकास्ने भन्नेतिर जानु स्वभाविक नै हो । यसका साथै, एउटा नीतिगत व्यवस्था गरिदिएको भरमा कुनै क्षेत्रको विकास हुन्छ भने त्यसमा सरकार पछि पर्नु हुँदैन थियो । मर्चेन्ट बैंकिङ् तथा पुँजी बजारको क्षेत्रमा काम गर्ने हिसावले हामीले त्यो आशा गरेका थियौं,’ अध्यक्ष तिमल्सिनाले थपे । कमसेकम अहिले ती कुराहरुलाई मात्रै समेटिदिएको भएपनि बजारमा नयाँ आयाम दिने वातावरणहरु सिर्जना हुन्थ्यो भन्ने उनको भनाइ छ । तर त्यतातिर सरकारले वास्ता नदिएकोमा दुःख लागेको उनी बताउँछन् । बजेटमा ऋणपत्र दोश्रो बजारमा कारोबार गराउने भनिएको छ । तर यसको बजार विस्तार त्यति सजिलो नहुने उनले बताए । आर्थिक वर्ष २०७७÷७८ को बजेट हेर्दा पुँजी बजारमा ७ वर्ष अगाडि सरकारको दृष्टिकोण जस्तो थियो, अहिले पनि त्यस्तै रहेको लगानीकर्ता तथा पुँजी बजारका विश्लेषक प्रकाश तिवारी बताउँछन् । बाहिरतिरको जस्तो पुँजी बजारलाई फोकस गरेर विकास गर्नुपर्छ भन्ने सोच चै सरकारको अझै पनि नभएको उनको तर्क छ । ‘पुँजी बजारमा चाहिने कुराहरु धेरै छन्, बजेटले मात्रै सबै कुरा समेट्नु पर्छ भन्ने छैन । बजेटले समेटेन भन्दैमा सुधार नहुने, काम गर्नै नसकिने भन्ने होइन । तर लगानीकर्ताका दुविधाका विषयहरु पुँजीगत लाभकर अन्तिम कर हो कि होइन भन्ने छ । त्यो बजेटमा आएको भए राम्रै हुन्थ्यो,’ तिवारीले भने । ‘अल्पकालिन र दीर्घकालिन लगानीकर्ता छुट्याएर, दीर्घकालिन लगानीकर्तालाई करमा विशेष छुटको सुविधा दिने कुराहरु पनि थिए । बजेटमा समेटिनु पर्ने धेरै कुराहरु थिए, त्यसमध्ये कुनैपनि परेको भए सरकारले पुँजीबजारलाई सम्बोधन गर्न थाल्यो, हेर्ने दृष्टिकोण फरक हुन थाल्यो भन्ने लगानीकर्तामा पर्ने थियो,’ उनले थपे । प्राविधिक रुपमा भन्ने हो भने ऋणपत्र दोश्रो बजारमा कारोबार गर्नुपर्छ भन्ने कुरा सरकारको स्वार्थको लागि आएको उनको प्रतिक्रिया छ । सरकारले आन्तरिक ऋण उठाउने भनेको र त्यसको लागि ऋणपत्र अनिवार्य चाहिने हुँदा बण्डको कारोबार दोश्रो बजारमा गराउनुपर्छ भनिएको उनको तर्क छ । यसले लगानीकर्तालाई केही प्रभाव नपार्ने भन्दै उनले लगानीकर्तालाई सपोर्ट गर्ने खालका विषय बजेटमा नआएको बताए । उनका अनुसार लगानीकर्ताको साइडबाट हेर्दा मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुलाई के के आउँछ भनेर पनि हेर्नु पर्ने हुन्छ । त्यहि अनुसार बजेट कस्तो भयो भन्ने आँकलन गर्न सकिने उनी बताउँछन् । ‘बजेटले पुँजी बजारमा कार्यान्वयन हुने खालका केही कुराहरु पनि ल्याएन । तर पनि बजेटमै आउनु पर्छ भन्ने होइन । ती कुराहरु अर्थमन्त्रालय तथा नेपाल धितोपत्र बोर्डले पनि ल्याउन सक्ने छन्,’ विश्लेषक तिवारीले भने ।

सगुनले ९० लाख डलरको सेयर निष्काशन गर्ने, कम्तिमा ९ सय डलरको किन्न सकिने

वासिंगटन डिसी । अमेरिकामा रहेका नेपालीहरुको एक समुहले स्थापना गरेको सामाजिक इकमर्स स्टार्ट अप कम्पनी सगुनले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निष्काशन गर्ने भएकाे छ । सगुनमा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसइसी) ले केही समय अघि सगुनको विवरणपत्रलाई विक्रियोग्य तोकेको थियो । सगुनले यस चरणमा ‘ग’ श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्बसाधारणलाई बिक्री गर्ने छ । सगुनको सेयरमा विश्वभर रहेका सर्वसाधारणले कम्तिमा ३० कित्ता सेयर (९ सय डलरको) खरिद गर्न सक्नेछन् । कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निष्काशन गरेको हो । सगुनले सन् २०१७ मा यसको पहिलो ‘रेज ए प्लस’ मिनी आईपीओ प्रतिकित्ता २३ डलरका दरले निष्काशन गरेको थियो । त्यतिखेर सगुनको सेयरमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए ।  पहिलो चरणमा लगानी जुटाएपछि सगुनले निकै फड्को मारेको छ । यसले मोवाइलको एन्ड्रोइड प्लेटफर्ममा सगुन लाइट, एप्पलको आइओएस प्लेटफर्म र एन्ड्रौइडमा सोसियल स्मार्ट कार्ड तथा वेव व्राउजरहरुका लागि वेव एप्लिकेसन सार्वजनिक गरेको छ । ‘हामी विश्वभरीका लगानीकर्ताहरुबाट पाएको सहयोग र विश्वासले उत्साहित र गौरवान्वित भएका छौं । उहाँहरुले सगुनलाई फरक खालको अर्थपूर्ण सामाजिक सम्पर्क माध्यम बनाउन हामीले देखेको सपनालाई विश्वास गर्नु भएको छ । उहाँहरुको सहयोगले सगुनलाई हामीले बालकदेखि वृद्ध अबस्थासम्मका मानिसलाई जोड्ने प्लेटफर्म बनाउन सकेका छौं,’ सगुनका संस्थापक गोविन्द गिरीले भने, ‘हामीले सागुनलाई एउटा फरक खालको प्लेटफर्म निर्माण गर्न कडा मेहनत गरेका छौं । यसले विश्वभरका प्रयोगकर्ताको आवश्यकता र चासोलाइ पूरा गर्दछ । सगुनमा उनीहरूले साथीहरूसँग सम्पर्क गर्ने मात्र हैन, सोसियल इकमर्समा समेत संहभागी हुनसक्नेछन् । यसमा खाता खोलेर विताएको समयका अधारमा आम्दानी पनि गर्न सकिन्छ ।’ उनले नेपाल र भारतका प्रयोगकर्ताले सगुनलाई अझ धेरै मन पराएको बताए । उनले यी दुई मुलकका प्रयोगकर्ताले दिनमा २३ पटकभन्दा बढी सगुन खोल्ने गरेको जानकारी दिए । ‘सगुनका प्रयाेगकर्ताले दैनिक एक घण्टाभन्दा बढी समय यसमा खर्च गर्दछन्,’ उनले भने- ‘अरूले सुनाएकै अधारमा प्रयोगकर्ताको साप्ताहिक वृद्धिदर ३० प्रतिशत देखिएको छ । हामी विशिष्ट र सुरक्षित-ज्ञानमा आधारित सामाजिक अनुभवको खोजीमा रहेका प्रयोगकर्तालाइ यस संजालमा समेट्न सफल हुनेछौं भन्ने कुरामा हाम्रो बलियो र समर्पित टोली विश्वास गर्दछ ।’ ‘रेज ए प्लस’ मिनी आइपिओ निस्कासनले सर्वसाधारणलाई स्टार्ट अप कम्पनीमा शेयर लगानी गरेर स्वामित्व हासिल गर्ने सुनौलो अवसर प्रदान गर्दछ। सगुनले अमेरिकी सेयर बजारमा लगानी प्रक्रियाको सहजिकरण र नियमनका लागि फण्ड अमेरिका र प्राइम ट्रस्टसँग साझेदारी गरेको छ । सगुनले अहिलेको सार्वजनिक निस्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूबाट लगानी स्वीकार गर्नेछ । यस पटकको निष्काशन सीमित समयको लागि मात्र खुला रहनेछ। यस पटक सर्ब साधारणले गरेको लगानीबाट जम्मा भएको रकमले प्रयोगकर्ताको अधार वृद्धि गर्न, प्लेटफर्म विस्तार गर्न र सगुनका नयाँ एप, सुविधा र विशेषताहरू थप गर्न खर्च गर्ने कम्पनीले जनाएको छ । सगुनको सेयर खरिद गर्न इच्छुक  व्यक्तिले  https://www.sagoon.com/invest  मा गएर वा सगुन एपमा रहेको मिनि आईपीओ ट्याब छानेर लगानी गर्न आवेदन गर्न सक्नेछन्  । त्यहाँ सेयर बिक्री अह्वान पत्र पनि उपलब्ध छ। इच्छुक लगानीकर्ताहरूले लगानी गर्नुअघि उक्त अह्रवान पत्र (सर्कुलर) अध्ययन गर्नुपर्छ । सगुनका बारे सागुन एक विस्तारको चरणमा रहेको सामाजिक वाणिज्य (सेसियल कमर्स) प्लेटफर्म हो । यसका वाशिगटन डीसी, नयाँ दिल्ली र काठमाडौंमा कार्यालयहरू रहेका छन् । कम्पनीका १८ जनाको टोली सदस्य, ५६ लाखभन्दा भन्दा बढी प्रयोगकर्ता र विश्वभर ४००० भन्दा बढि लगानीकर्ताहरू छन् । सगुन शब्द संस्कृत शब्द ‘शकुन’ बाट आएको हो, जसको अर्थ नेपालीमा ‘शुभ क्षण’ वा ‘भाग्य’ भन्ने हुन्छ। सगुनको सेयरमा लगानी सम्बन्धि प्रस्ताव अमिरिकी धितोपत्र नियामक (एसइसी) मा पेश गरिएको छ । यस प्रस्ताव कथनलाइ एसइसीले सेयर विक्रियोग्य ताेकिदिएको छ । यसको अर्थ कम्पनीले प्रस्ताव विवरणमा उल्लेख गरिएको सेयर बिक्री गर्न सक्छ। एसईसीले यस प्रस्तावलाई अनुमोदन गरेको भने हाेइन । लगानी गर्न इच्छुकले सगुनकाे पत्र पढ्न यसमा  क्लिक गर्न सकिने छ ।

बजेटबाट खुसी भएनन् लगानीकर्ता, भन्छन्- हामी आशावादी थियौं, तर…

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै पुँजीबजारको दायरा विस्तार गरिने बताएका छन् । उनले बजारको दायरा फराकिलो बनाई ऋणपत्रको कारोबार दोश्रो बजारमा शुरु गरिने बताएका छन् । साथै, उनले नेप्सेको दोश्रो बजारको कारोबारलाई पूर्ण रुपमा अनलाइन गरिने बताएका छन् । त्यस्तै, पुँजी बजारमा संस्थागत लगानी बढाउन आगामी आर्थिक वर्ष स्टक डिलर सञ्चालनमा ल्याइने उनले जनाएका छन् । त्यसैगरी, बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले वस्तु विनिमय बजार सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाइने र नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएससीको संरचनात्मक सुधार गरिने बताएका छन् । उक्त बजेटमा प्रतिक्रिया दिँदै लगानीकर्ताहरुले यो बजेटले पुँजीबजारको लागि औपचारिकताको लागि मात्र सम्बोधन गरिएको बताएका छन् । कोरोना माहामारीले प्रभावित भएको यस क्षेत्रको लागि सामान्य सामान्य कुरापनि सम्बोधन नभएकोमा उनीहरु निकै निराशावादी देखिन्छन् । अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई बजेटले प्राथमिकतामा राख्न नसकेको उनीहरु बताउँछन् । यसैबीच बजारका बारेमा जानकार तथा लगानीकर्ताको प्रतिक्रिया के छ भनेर हामीले यो सामग्री तयार गरेका छौं । छोटेलाल रौनियार, अध्यक्ष- नेपाल इन्भेष्टर्स फोरम आगामी आर्थिक वर्षको बजेट खल्लो लागेको छ । कोभिड १९ को समस्यामा राहात प्याकेजहरु आउला भन्ने आशा गरिएको थियो । अरु कुरा छोडौं, हाम्रो प्रमुख माग नै सम्बोधन भएन । जुन कि पुँजीगत लाभकर ५ प्रतिशतलाई फाइनल गराउने तथा अल्पकालिन र दीर्घकालिन लगानीकर्तालाई करमा छुट्टै व्यवस्था गराउने जस्ता हाम्रा माग रहेको थियो । तर यस्तो कुनै पनि कुरा समेटिएन । हामीले आर्थिक प्याकेज ल्याउ भनेका थिएनौं, भएका कुरामा केहि सुविधा तथा खुकुलो खोजेका थियौं । अर्थतन्त्रको ऐना मानिने पुँजीबजारको विषयमा लगानीकर्ता खुसी हुने विशेष केहि पनि भएन । अर्थमन्त्रीले पुँजीबजार प्रति सकारात्मक छ, दोहोरो करको विषयमा सम्बोधन गर्छु भन्नुभएको थियो, तर कन्जुस्याई गर्नु भयो । त्यसैले बजेट खल्लो लाग्यो । लगानीकर्तामा खुसी छाउने कुरा केहि पनि छैन । यद्दपि, ऋणपत्र दोश्रो बजारमा कारोबार हुने लगायत विद्युतीय माध्यमबाट सेयर कारोबार गराउने भन्ने पक्ष राम्रो छ । राधा पोखरेल, अध्यक्ष- नेपाल पुँजीबजार लगानीकर्ता संघ सेयर बजारको लागी आगामी आर्थिक वर्षको २०७७/७८ को बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भने झै भएको छ । आगामी आर्थिक वर्षदेखि डिलर शिपको व्यवस्था गरेको भन्दा बाहेक एउटा पनि पुँजी बजारको विकास र विस्तारको लागी कार्यक्रम यो बजेटमा परेको छैन । विद्युतीय कारोबारको दायरा विस्तार गरिने भन्ने चालु आ.व. मै भएको व्यवस्थाको लागी थप समय खर्चेको जस्तो लाग्यो । खासै आगामी बर्षको बजेटबाट आम लगानीकर्ता लाभान्वित नहुने र यो बजेट महत्वकाक्षी रहेको छ । अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई बजेटले प्राथमिकतामा राख्न सकिएको छैन । कम्तिमा केहि महिनाको भए पनि निश्चित अंकसम्म ऋण र ब्याज मिनाहा गरिदिएर अर्थात् अहिलेको संकटको समयमा आर्थिक प्याकेज घोषणा गरेर मल्हमपट्टी लाउँनेछ र सेयर लगानीकर्तालाई ढुक्क बनाउँछ भन्नेमा हामी आशावादी रहेको थियौं । तर केही पनि भएन । हरि ढकाल, अध्यक्ष- सेयर लगानीकर्ता दवाव समूह बजेट पुँजीबजारका लगानीकर्ताको लागि निराशाजनक रहेको छ । सम्बोधन गर्नु परिने सामान्य कुराहरु पनि सम्बोधन भएन । पुरानै कुराहरु दोहोर्याईएको छ । जुन कुरा वर्षौ अघिदेखि गर्नुपर्ने कामहरु थियो त्यसमै टुङ्ग्याईएको छ । पुँजीबजार क्षेत्र पनि कोभिड-१९ ले प्रभावित छ भनेर लगानीकर्ताको मनोबल बढ्ने खालको केही पनि सम्बोधन भएन । मार्जिन कलको सीमा बढाइने छ भन्ने थियो, त्यो भएन । आशा गरौं, मौद्रिक नीतिसम्म कुरौं । त्यसबाट केही सम्बोधन होला कि ।