साधना लघुवित्तको आईपीओ आजदेखि खुल्यो, कति लगानी गर्ने र कसरी फाइदा लिने ?
काठमाडौं । राष्ट्रिय स्तरको साधना लघुवित्त वित्तीय संस्थाले आज(असार २१ गते)देखि साधारण सेयर(आईपीओ)को बिक्री खुला गरेको छ । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो । गत असार ७ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको लघुवित्तले १५ दिनमै सेयर निष्काशन गर्ने भएको छ । कूल ७ लाख ७ हजार ८ सय कित्ता साधारण सेयर मध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिने संस्थाले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि संस्थाले ईक्रा नेपालबाट ‘आईसीआरए एनपी आईपीओ ग्रेड ४’ क्रेडिट रेटिङ्ग पाएको छ । कति लगानी गर्दा उपयुक्त हुन्छ ? ‘सामन्यतः लघुवित्तको निष्काशन हुने सेयर संख्याको अनुपातमा आवेदन दिने व्यक्तिहरुको संख्या धेरै गुणा बढी हुने गर्दछ । त्यसो हुँदा प्रतिव्यक्ति १० कित्ताको दरले सेयर वितरण गरिने र त्यसमा पनि संख्या बढी भएमा चिठ्ठा मार्फत् छनोट गरिने हुँदा धेरै रकम लगानी गर्न आवश्यक छैन । तसर्थ हाम्रो लघुवित्तको हकमा न्युनतम कित्ता १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।’ – संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्याैपानेले बताए । यो आईपीओमा लगानी गर्दा कसरी फाइदा लिने र कहिलेदेखि प्रतिफल पाइन्छ ? ‘सेयरधनीहरुले यो आर्थिक वर्षको कमाईबाटै अझ गत वर्षहरुको सञ्चित आम्दानी समेत गरी अर्को वर्ष प्रतिफल पाउनुहुन्छ । अझ स्पष्ट भन्ने हो भने यसपालीको सेयरधनीहरु भाग्यमानी हुनुहुन्छ । किनभने, आईपीओ बाँडफाँट भए पश्चात् यस वर्षनै प्रतिफल दिईने संस्थाको योजना रहेको छ । त्यसैले, उहाँहरुले लगानी गरेको १० दिनमै उचित प्रतिफल पाउनुहुन्छ । ढुक्क भएर सेयर भर्नोस् ।’- सीईओ न्याैपानेले विकासन्युजसँग बताए । र, याे पनि पढ्नुहाेस्ः साधना लघुवित्तमा लगानी गरेको १० दिनपछि नै उचित प्रतिफल पाइन्छ- सीईओ न्यौपाने
साढे ४६ हजारले पाए एनआईसी एशिया लघुवित्तको २० कित्ता सेयर
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) शनिबार बाँडफाँड भएको छ । जसमा भाग्यशाली ४६ हजार ५ सय ७९ जनाले २० कित्ताको दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार उक्त सेयरमा रितपूर्वक आवेदन दिने सबैले १० कित्ताको दरले सेयर पाएका छन् । जसमध्ये ४६ हजार ५ सय ७९ जनाले गोलाप्रथाबाट थप १० कित्ता गरी जम्मा २० कित्ता सेयर हात पारेका हुन् । उक्त सेयरमा कूल ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । जसमध्ये ३ लाख ९७ हजार ७ सय ४१ जनाको आवेदन मात्र योग्य रहेको थियो । बाँकी १६ हजार ४ सय ३९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । गत असार १० गतेदेखि असार १४ गतेसम्म बिक्री खुला भएको उक्त आईपीओमा ४ लाख १४ हजार एक सय ८० जनाले कूल २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबर अर्थात २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ता सेयर माग गरेका थिए । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ५.१९ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । संस्थाले एक सय अंकित मूल्य रहेको कूल ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेको हो । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो । जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।
एनआईसी एशिया लघुवित्तको आईपीओ शनिबार नै बाँडफाँड हुने, घरबाटै लाइभ हेर्न सकिने
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) शनिबार(असार २० गते) नै हुने भएको छ । आइतबार बाँडफाँड हुने भनिएको संस्थाको आईपीओ एक दिन अगाडि नै बाँडफाँड हुने भएको हो । संस्थाको आईपीओ शनिबार बिहान साढे ९ बजे सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा हुनेछ । उक्त सेयरकाे बाँडफाँड प्रक्रिया लगानीकर्ताले सानिमा क्यापिटलको फेसबुक पेजबाट लाइभ हेर्न सक्नेछन् । आगामी साता दुई कम्पनीको आईपीओ निष्काशन हुने भएको र उक्त सेयरमा लगानी गर्न लगानीकर्तालाई सहज हुने भएकाले शनिबार नै बाँडफाँड गर्न लागेको बिक्री प्रबन्धक क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आइतबार साधना लघुवित्तको आईपीओको बिक्री खुला हुने भएको र सोहि दिन बाँडफाँड गर्दा सीडीएससीको सर्भरमा चाप पर्ने भएकाले अघिल्लो दिनको लागि मिति तय गरिएको हो । उक्त सेयरको प्री-अलोटमेन्ट आज(बिहीबार) भएको थियो । जसअन्तर्गत कूल ३ लाख ९७ हजार ७ सय ४१ जनाको आवेदन मात्र योग्य रहेकोे र बाँकी १६ लाख ४ सय ३९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । गत असार १० गतेदेखि असार १४ गतेसम्म निष्काशन भएको संस्थाको सेयरमा कूल ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । यससँगै सेयर बाँडफाँडको क्रममा पहिलो चरणमा सबै आवेदकले १०/१० कित्ताको दरले सेयर प्राप्त गर्ने छन् र त्यसपछि बाँकी रहेको सेयर गोलाप्रथा मार्फत वितरण गरिने छ । गत असार १० गतेदेखि असार १४ गतेसम्म बिक्री खुला भएको उक्त आईपीओमा ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । उनीहरुले कूल २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबर अर्थात २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ता सेयर माग गरेका छन् । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ५.१९ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । संस्थाले एक सय अंकित मूल्य रहेको कूल ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेको हो । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो । जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।