अजोड इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्यो, कति भर्न पाइन्छ ?
काठमाडौं । अजोड इन्स्योरेन्सको साधारण सेयर(आईपीओ) आज(असार २५ गते) बाट बिक्री शुरु भएको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो । गत असार ७ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको इन्स्योरेन्सले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । जसमध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन(सेयर भर्न) सक्ने छन् । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २९ गते र ढिलामा साउन ८ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । याे पनि पढ्नुहाेस् ः अजोड इन्स्योरेन्सको आइपीओ किन्नु कत्तिको उचित होला ?
नेप्सको अनलाइन प्रणाली भरपर्दो बनाउन यस्तो छ झाँक्री समितिको सुझाव
काठमाडौं । पूँजी बजार तथा मुद्रा बजारबारे अध्ययन गर्न अर्थसमितिले गठन गरेको उपसमितिको अध्ययन प्रतिवेदनले नेप्सको अनलाइन प्रणाली विश्वाशिलो तथा भरपर्दो बनाउन सिफारिस गरेको छ । सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित अध्ययन समितिले हाल पूर्णरुपमा स्वचालित तथा भरपर्दो नभएको दोश्रो बजार कारोबार तथा राफसाफ प्रणाली थप भरपर्दो बनाउन विभिन्न सुझावहरु अर्थसमितमा पेश गरेकाे हो । समितिले नेप्सेका संरचनात्मक सुधार र प्राविधिक, भौतिक, व्यवस्थापकीय, वित्तीय र मानव श्रोतको क्षमता विकास गर्दै नेप्सेलाई अन्तर्राष्ट्रियस्तरको स्टक एक्स्चेञ्जको रुपमा विकास गर्न यथाशीघ्र नेपाल स्टक एक्स्चेञ्जमा पुँजी र प्रविधि सहितको विदेशी ख्याती प्राप्त रणनीतिक साझेदार भित्र्याई स्वामित्व पुर्नसंरचना गर्न सुझाव दिएको छ । नेप्सेले विभिन्न प्यारामिटर्सहरु बनाई अटो सरमिल्यान्स सिष्टमको माध्यमबाट कारोबारको निगरानी गर्ने, सिष्टममा भएका डाटा सुरक्षित गर्ने र डाटा डिलिट भएमा डिलिट भएको पनि सिष्टममा देखिने गराउनु पर्ने छ । त्यस्तै, इन्भेष्टिगेसनलाई प्रभावकारी बनाउन जनशक्ति, कानून, पूर्वाधार, प्रविधि र प्रणालीको विकास गर्नुपर्ने उपसमितिको अध्ययन प्रतिवेदनमा उल्लेख छ । रेगुलेटरी ज्युरिसडिक्सन भित्र आफ्नो क्षमता अभिवृद्धि गर्ने र यसको लागि नेप्सेमा अटो सर्भिलेन्स सिष्टम जडान गरी लागू गर्नुपर्ने छ । नेप्से इन्डेक्सलाई कारोबार, पुँजी, क्षेत्र लगायतका आधारमा परिमार्जन गर्नुपर्ने देखिन्छ । त्यसैगरी, भौतिक पूर्वाधार विकासका संरचना, जनशक्ति र प्राविधिक क्षमताका लागि स्रोत साधनको पर्याप्त व्यवस्थापन गरी सुपरभिजन तथा नियमन प्रणालीको सुदृढीकरण तथा क्षमता विस्तार गर्न उपसमितिले सुझाव दिएको छ ।
साधना लघुवित्तको आईपीओमा १३ गुणा बढी आवेदन, हालसम्म कतिले भरे ?
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ)मा १३ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन गरेको तेश्रो दिनमै संस्थाको सेयरमा मागभन्दा १३.४० गुणा बढी आवेदन परेको हो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार संस्थाले सेयर जारी गरेको तेश्रो दिन आज(असार २३ गते)सम्म ८८ करोड ६४ लाख ८३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो अवधिसम्म ३ लाख ६३ हजार ३ सय ५२ जनाले ८८ लाख ६४ हजार ८ सय ३० कित्ता सेयर माग गरेका छन् । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको छ । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहेकाे ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे हाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । उनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । यो आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ ।