धितोपत्र बोर्डले शुरु गर्यो ईआरआरएस प्रणाली, विवरण पेश गर्न कार्यालय धाउनै नपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले इलेक्ट्रोनिक रिपोर्टिङ एण्ड रिट्राइभर सिष्टम(ईआरआरएस) प्रणालीको शुरुवात तथा अनावरण गरेको छ । यससँगै सूचीकृत कम्पनी तथा अन्य बजार सहभागीहरुले बोर्डमा पेश गर्नुपर्ने वित्तीय तथा अन्य विवरणहरु अनलाइनबाटै पेश गर्न सक्नेछन् । यस व्यवस्थाबाट अब बोर्डबाट इजाजतपत्र प्राप्त संस्था र निश्कासनकर्ता एंव सुचिकृत संगठित संस्थाहरुले भौतिक रुपमा विवरहरु पेश नगरी आफ्नै कार्यालयबाट विद्युतीय माध्यममार्फत आवधिक वित्तीय विवरण तथा अन्य विवरणहरु पेश गर्न सक्ने बोर्डले जनाएको छ । यससँगै बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी आधारभूत ज्ञान हाशिल गर्न चाहने स्कूल तथा कलेजका विद्यार्धीहरु र आम लगानीकर्ताहरुलाई लक्षित गरी बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता हाते पुस्तक, २०२० (अग्रेजी संस्करण) तयार गरी प्रकाशन गरेको छ । विश्व लगानीकर्ता सप्ताह २०२० को तेस्रो कार्यक्रमको रुपमा बोर्डले  हाते पुस्तक तथा उक्त प्रणालीको शुरुवात गरेको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले लगानीकर्ताको लागि हाते पुस्तकको बिमोचन र ईआरआरएस प्रणालीको शुरुवात गरेका हुन् । यससँगै, वित्तीय बजार, पुँजी बजार, धितोपत्र बजार, धितोपत्रको प्राथमिक निश्कासन तथा यसको प्रकृया, लगानी योजना तथा प्रक्रिया, सेयरधनीको अधिकार, बजार सहभागी तथा बजार सहभागीले प्रवाह गर्ने सेवा सुविधा, लगानीको मन्त्र, लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरु, बारम्बार सोघिने प्रश्नहरु तथा बजारसँग सम्बन्धित उपयोगी शव्दावली आदि समेटिएको धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी हाते पुस्तक, २०२० (अग्रेजी संस्करण) ले विद्यार्थी, सर्वसाधारण लगानीकर्ता तथा अन्य सरोकारवाला सबैको वित्तीय साक्षरतामा अभिवृद्धि गर्ने र यसबाट लगानी सम्बन्धी सुसूचित निर्णय लिन सहज हुने कुरामा बोर्ड विश्वस्त रहेको छ । त्यस्तै नियमन व्यवस्था अनुरुप सुचिकृत संगठित संस्थाले लगानीकर्तालाई उपलब्ध गराउनुपर्ने सूचना, जानकारी तथा विवरण लगानीकर्ताहरुले समेत प्राप्त गर्न सक्ने गरी विकास गरिएको ईआरआरएसको माध्यमबाट आम लगानीकर्ताले न्यून प्रयास तथा लागतमा प्राप्त गर्न सक्षम हुनेछन् । बोर्डले आगामी दिनमा क्रमशः धितोपत्र बजार सम्बन्धी अन्य गतिविधीहरु त्था प्रकृयाहरुलाई पनि प्रविधि मैत्री बनाउंदै लैजाने छ । यस प्रणालीको प्रयोगबाट बजारमा सूचना प्रवाह तथा नियमको परिपालना कार्य सहज हुनुका साथै बजार सहभागीहरुको कानुन परिपालना लागतमा कमी आउने बोर्डले जनाएको छ ।

जनरल इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालको साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर मंगलबार (असोज २७ गते)देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल जीआईसी दिइएको छ । यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०१ रुपैयाँदेखि अधिकतम ३०५ रुपैयाँ तोकेको छ । यस कम्पनीले सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि कुमारी क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

पाैने ९ लाख बढीले भरे सानिमा जनरल इन्स्योरेन्सकाे आईपीओ

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा ८ लाख ८२ हजार ७ सय ३ जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आज(असाेज २५ गते) आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्ममा ८२ हजार ७ सय ३ जनाले एक करोड ८९ लाख ७५ हजार ६० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन कम्पनीले माग गरेको भन्दा ६.९५ गुणा बढी हो । कम्पनीले  (असोज २१ गते) देखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरेकाे हाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे । ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँडपछि एक अर्ब रुपैयाँ पुग्नेछ। कम्पनीले असोज ५ गतेमात्र साे मात्राकाे सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.३५ रुपैयाँ र प्रतिसेयर आम्दानी २.६६ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः १०९.१ रुपैयाँ र ४.५४ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।