दशैंअघि लाभांश पाउने भाग्यमानी लगानीकर्ता

काठमाडौं । कोरोना कहरमा पनि नेप्सेमा सूचीकृत केही वित्तीय संस्थाले दशैं अघि नै लगानीकर्तालाई लाभांश वितरण गर्ने भएका छन् । उनीहरुले दशैं बाेनस स्वरुप आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न लागेका हुन् । माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई क्यापिटल, एनआईबीएल एस क्यापिटल, सेञ्चुरी क्यापिटल मार्केटस् र नेपाल ल्युब आयलका लगानीकर्ताले दशैं अघि नै लाभांश प्राप्त गर्ने भएका छन् । यी कम्पनीले दशैंअघि नै आफ्नो वार्षिक साधारणसभा आव्हान गरेर सेयरधनीलाई लाभांश वितरण गर्न लागेका हुन् । माछापुच्छ्रे बैंक गत आवको लाभांश घोषणा गरी साधारणसभा आव्हान गर्नेमा पहिलो वाणिज्य बैंक बन्न सफल भएको छ । बैंकले आगामी कात्तिक ६ गते २२औं वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभाले सेयरधनीलाई गत आवको नाफाबाट चुक्ता पुँजीकाे १०.०४ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दैछ । यससँगै कम्पनीका सेयरधनीले ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद लाभांश पाउँदैछन् । उनीहरुले दशैंअघि अर्थात साधारणसभा सकिएको दिन नै आफ्नो खातामा सो मात्राको लाभांश पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए । ‘अहिले लाभांश सेयरधनीको खातामा हाल्ने हो । त्यसैले हामीले एजीएम भएकै दिन अर्थात कात्तिक ६ गते नै हाल्दिने व्यवस्था मिलाएका छौं । सबैको अकाउन्ट भइहाल्छ । त्यही अकाउन्टमा हाल्ने गरी हामी तयारी गरेर एजीएममा जान्छौं । अनि उक्त एजीएम सकिएपछि सेयरधनीको खातामा लाभांश हाल्दिन्छौं’, विकासन्युजसँग कुरा गर्दै सीईओ कोइरालाले भने । त्यसैगरी, नाडेप लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १०.५२६ प्रतिशत लाभांश पाउने भएका छन् । बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश पारित गर्न असोज २७ गते वार्षिक साधारणसभा डाकिसकेको छ । वाणिज्य बैंकद्वारा संचालनमा आएका तीन क्यापिटलले पनि सेयरधनीलाई गत आवको लाभांश वितरण गर्ने भएका छन् । ग्लोबल आईएमई क्यापिटल, एनआईबिएल एस क्यापिटल र सेञ्चुरी क्यापिटल मार्केटस्ले आफ्ना सेयरधनीलाई क्रमशः ६.५, २२.२२ प्रतिशत (करसहित) र ४.२० प्रतिशत (करसहित) नगद लाभांश दशैं अघि नै वितरण गर्ने भएका हुन् । जसको लागि ग्लोबल आईएमई क्यापिटलले कात्तिक ३ गते, एनआईबिएल एस क्यापिटलले कात्तिक ५ गते र सेञ्चुरी क्यापिटलले कात्तिक ६ गते आफ्नो वार्षिक साधारणसभाको मिति तय गरिसकेका छन् । त्यसैगरी, नेपाल ल्युब आयलका सेयरधनीले पनि गत आवको नाफाबाट १० प्रतिशत नगद लाभांश पाउने भएका छन् । संस्थाले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्नको लागि कात्तिक ५ गते आफ्नो वार्षिक साधारणसभा डाकेको छ । बैंक तथा वित्तीय संस्थाले गत वर्षको तुलनामा यो वर्ष लाभांश घोषणा तथा साधारणसभाको मिति तय गर्न ढिला गरेका छन् । गत वर्ष दशैंअघि नै साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरेका कम्पनीहरुले पनि यो वर्ष भने लाभांश समेत घोषणा गरेका छैनन् । गत वर्षको भन्दा यो वर्ष दशैं ढिला छ । दशैं ढिला भएपनि सूचीकृत संस्थाहरुले हालसम्म लाभांश घोषणा गरेका छैनन् । विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण लाभांश घोषणा गर्न ढिलाई भएको बैंकरहरु बताउँछन् । कात्तिक ७ गते दशैंको फूलपाति परेको छ । र, त्यसपछि दशैंको बिदा शुरु हुन्छ । सेयरधनीलाई दशैंअघि लाभांश खुवाउन कात्तिक ६ गतेसम्म साधारणसभा सम्पन्न गरिसकेको हुनुपर्छ । कात्तिक ६ गते साधारणसभा सम्पन्न गर्नको लागि उक्त मितिको २१ दिन आगाडी अर्थात असोज १६ गतेसम्ममा साधारणसभामा सूचना प्रकाशित गरिसक्नुपर्ने हुन्छ । तर, सो दिनसम्म यी ५ कम्पनी बाहेक अन्य सूचीकृत संस्थाले सभाको सूचना प्रकाशन गरेका छैनन् । वाणिज्य बैंकमध्ये माछापुच्छ्रे बैंक र बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको लाभांश घोषणा गरिसकेका छन् । माइक्रोफाइनान्स समूह अन्तर्गत २ कम्पनी आशा लघुवित्त र समता लघुवित्तले लाभांश घोषणा गरेका छन् । अन्य समूह अन्तर्गत सेञ्चुरी क्यापिटल र एनआईबीएल क्यापिटलले लाभांश घोषणा गरी साधारणसभाको मिति पनि तय गरिसकेका छन् । उत्पादनमूलक समूह अन्तर्गत नेपाल ल्युब आयल र यूनिलिभर नेपालले लाभांश घोषणा गरीसकेका छन् । जसमध्ये नेपाल ल्युब आयलले लाभांश पारित गर्न वार्षिक साधारणसभा पनि डाकिसकेको छ । विकास बैंक, इन्स्योरेन्स, फाइनान्स, होटल, हाइड्रोपावर, उत्पादनमूलक समूहका कुनै पनि कम्पनीले यो समाचार तयार पार्दासम्म लाभांश घोषणा गरेका छैनन् । त्यस्तै, म्युचुअल फण्ड अन्तर्गत ६ वटाले आव २०७६/७७ वर्षको नाफाबाट इकाइधनीहरुलाई नगद लाभांश घोषणा गरिसकेका छन् । यद्यपि, सूचीकृत कम्पनीहरुले गत आवको वार्षिक साधारणसभा चालु आवको पुस मसान्तसम्म गरिसक्नु पर्ने व्यवस्था रहेको छ । त्यसैले अधिकांश कम्पनीहरुले अन्तिमको समयमा मात्र साधारणसभा गर्दै आएका छन् ।

मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ । संस्थाको २० लाख ७ हजार एक सय २३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नागबेली लघुवित्त वित्तीय संस्था प्राप्ती पश्चात संस्थाको सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ असोज २१ गतेदेखि भर्न पाइने

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गर्न लागेको प्राथमिक सेयर (आईपीओ)मा असोज २१ गतेदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले सो दिनदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँडपछि एक अर्ब रुपैयाँ पुग्नेछ। आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असोज २५ गते बैंकिङ समय पश्चात हुने छ । कम्पनीले असोज ५ गतेमात्र साे मात्राकाे सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.३५ रुपैयाँ र प्रतिसेयर आम्दानी २.६६ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः १०९.१ रुपैयाँ र ४.५४ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।