हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ४ प्रतिशत अर्थात ४ लाख १० हजार ८ सय ८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीकाे आज(कार्तिक १६ गते) मात्रै साे मात्राकाे सेयर नेप्सेमा सूचीकृत भएकाे हाे । यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न सकिने छ । आइतबारको बजारमा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । यो समाचार तयार पर्दासम्म कम्पनीको सेयर मूल्य १.१७ अर्थात ६ रुपैयाँले घटेर प्रतिकित्ता ५०६ रुपैयाँमा किनबेच भइरहेको छ । पछिल्लो दिन कम्पनीको सेयर प्रतिकित्ता ५१२ रुपैयाँमा कारोबार भएको थियो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक (एससीबी) ले ७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको १३ कात्तिकमा बसेको संचालक समिति बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र प्रतिकित्ता ४ रुपैयाँ ८४ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंक संचालक समितिको ४०३औं संचालक समिति बैठकले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।
बिओके क्यापिटलले मंसिर ५ गते बोलायो वार्षिक साधारणसभा
काठमाडौं । बिओके क्यापिटल मार्केटको पाचौं वार्षिक साधारणसभा आगामी मंसिर ५ गते हुने भएको छ । सभा सो दिन दिउँसो १ बजे विद्युतीय माध्यमबाट हुने निर्णय भएको छ । सभाले सेयरधनीलाई चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश(कर सहित) दिने प्रस्तावलाई पारित गर्ने भएको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने भएको छ । त्यसैगरी, प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी विशेष प्रस्तावलाई सभाले पारित गर्दै छ ।