६ लाख ४४ हजारले पाए साहस ऊर्जाको १० कित्ता

काठमाडाैं । साहस ऊर्जाले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआएबिएल एस क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीको आइपिओमा कूल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ११ हजार ९९६ जनाको आवेदन रद्द भएको र बाँकी २३ लाख ८३ हजार ४६० योग्य आवेदकमध्ये छ लाख ४४ हजार आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणलाई गत असोज ६ देखि १० गतेसम्म प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो । निष्कासन गरिएको ७० लाख कित्ता शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको थियो । तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । कम्पनीले हाल सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका र थुलुङ्गदूधकोशी गाउँपालिकामा कूल ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

यूनिक नेपालले घोडीघोडालाई गाभ्ने प्रस्ताव पारित, स्वाप रेसियो १ः०.५०

काठमाडौं । यूनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई गाभ्ने भएको छ । घोडीघोडाको हालै सम्पन्न विशेष साधारणसभाले संस्थालाई यूनिक नेपाल लघुवित्तले गाभ्ने निर्णय गरेको हो । संस्थाको पहिलो विशेष साधारणसभा असोज १६ गते शनिबार सम्पन्न भएको थियो । यससँगै घोडीघोडा लघुवित्त र यूनिक नेपाल लघुवित्तको स्वाप रेसियो अनुपात १ बराबर ०.५० तोकिएको छ । अब घोडीघोडा लघुवित्तको १०० कित्ता सेयर हुनेले यूनिक नेपालको ५० कित्ता सेयर पाउने छन् । संस्थाले मर्जर सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट २०७८ भदौ १५ गते प्रारम्भिक सैद्धान्तिक सहमति पाइसकेको छ । मर्जर सम्बन्धमा २०७७ कार्त्तिक २१ गते दुई संस्थाबीच प्रारम्भिक समझदारी भएको थियो । त्यससँगै कार्त्तिक २३ गतेदेखि नै संस्थाको सेयर कारोबार रोक्का थियो । सम्बन्धित समाचार मर्जरमा जान लागेको घोडीघोडा लघुवित्तले बोलायो पहिलो साधारणसभा, स्वाप रेसियो कति ?

साल्ट ट्रेडिङ्गले २५ प्रतिशत लाभांश दिने, डाक्यो वार्षिक साधारणसभा

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । संस्थाले उक्त आवको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सो प्रस्तावलाई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । संस्थाको आगामी वार्षिक साधारणसभा कार्त्तिक १६ गते मंगलबार बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्दै छ । सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक २ गतेदेख कार्त्तिक १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै कार्त्तिक १५ गतेसम्म कायम सेयरधनी साधारणसभामा सहभागि हुनका साथै प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । प्रस्तावित लाभांश अघिल्लाे ३ वर्ष यताकै न्यून हाे । संस्थाले आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म वर्षेनि लगातार ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।