नेप्से परिसूचक दैनिक घटेर २५७० बिन्दुमा, सोमबार पौने ४ अर्बको पनि भएन कारोबार
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । सोमबारको बजारमा पनि नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ बिन्दुसम्ममा झरिसकेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले घटी हो भने धेरै यताको न्यूनतम बिन्दु हो । परिसूचक मात्रै होइन कारोबार रकम पनि दैनिक रुपमा घटिरहेको छ । सोमबारको कारोबार ३ अर्ब ६२ करोड रुपैयाँमा मात्रै सीमित भएको छ । जुन धेरैयताको न्यून कारोबार हो भने अघिल्लो दिनको तुलनामा ४९ करोड रुपैयाँले घटी हो । बजारमा २२७ कम्पनीको स्क्रीप्टहरु कारोबारमा आएका छन् । जसमध्ये यूनाईटेड मोदी हाईड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन १२ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ रहेको छ । घटको बजारमा पनि विभिन्न ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आशा लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, मैलुङ्ग खोला जलविद्युत कम्पनीको ९.९९, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.९७ र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८३ प्रतिशतले बढेको छ । सोमबारको बजारमा सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ । संस्थाको सेयर मूल्य ९.३८ प्रतिशतले घटेर प्रतिकित्ता १८८५ रुपैयाँमा झरेको छ । त्यस्तै, होटल्स एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र अन्य समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।
लाभांश पारित गर्न साधना लघुवित्तले डाक्यो एजीएम, कार्त्तिक ३ गतेदेखि बुक क्लोज
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आगामी कार्त्तिक १३ गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । संस्थाले आफ्नो पाँचौ वार्षिक साधारण सभा सो दिन बिहान ११ बजे गोरखाको होटल गोरखा बिसौनीमा गर्ने निर्णय गरेको हो । सभामा जाने प्रयोजनको लागि कार्त्तिक ३ गतेदेखि कार्त्तिक १३ गतेसम्म बुक क्लोजको मिति तय गरेको छ । यससँगै कार्त्तिक २ गतेसम्म कायम सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् । सभाले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी २५ करोड ६९ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पारित पश्चात संस्थाको चुक्ता पुँजी ३२ करोड ११ लाख रुपैयाँ पुग्ने छ । सम्बन्धित समाचार साधना लघुवित्तले घोषणा गर्यो २६ प्रतिशत लाभांश, चुक्ता पुँजी ३२ करोड नाघ्ने
बोनसपछि सानिमा माई हाइड्रोको सेयर मूल्य समायोजन
काठमाडौं । सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४०६.३६ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ४४७ रुपैयाँमा भएको थियो ।