आजदेखि न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला, कस्तो छ कम्पनी ?
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशनमा ल्याएको हो । कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आज बैंकिङ समयदेखि आवेदन दिन पाउनेछन् । निष्काशन गरेका सेयरमा सर्वसाधारणले यही असोज १९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए असोज ३१ सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ । कम्पनीले हाल लमजुङको मस्र्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको कूल अनुमानित लागत छ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ रुपैयाँ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ३९ लाख २५ हजार १८६ दशमलव पाँच हुने कम्पनीले जनाएको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । धितोपत्रको सार्वजनिक निष्काशन गर्दा रेडिङ गर्नुपर्ने प्रावधानअनुसार केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बिबी इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको भन्ने बुझिन्छ । कम्पनीले आफ्नो जारी पूँजी एक अर्ब ५० करोडको प्रतिसेयर १०० अङ्कित दरले हुने एक करोड ५० लाख कित्ता शेयरमध्ये १५ प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो । आयोजना प्रभावित क्षेत्र लमजुङका बासिन्दाका लागि छुट्याइएको १०० अङ्कित मूल्यका १५ लाख कित्ता सेयर र संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि छुट्याइएको तीन लाख कित्ता सेयर गरी १८ लाख कित्ता सेयर गत भदौ १ देखि निष्काशन खुला गरिएको र त्यसको बाँडफाँटसमेत भइसकेको छ ।
सीवाईसी नेपाल लघुवित्तले अघि बढायो आईपीओ जारी गर्ने प्रक्रिया, माग्यो बोर्डको स्वीकृति
काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । लघुवित्तले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा फाइल पेश गर्दै करिब ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । संस्थाले कूल ३ लाख ९५ हजार ३३६ कित्ता अर्थात ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको आईपीओ जारी गर्न गत असोज ११ गते मात्रै बोर्डसँग स्वीकृति मागेको छ ।बोर्डको स्वीकृति पाएपश्चात संस्थाले सो मात्राको सेयर सर्वसाधारणमा जारी गर्ने छ । संस्थाले आईपीओ जारी गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच सेयर निष्काशन सम्बन्धी सम्झौता भइसकेको छ । बाग्लुङको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रियस्तरको ईजाजतपत्र पाएको छ । संस्थाले म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई एक्विजिशन ९प्राप्ति० गरिसकेको छ ।
२१ लाख बढीले भरे बुद्धभूमि नेपालको आईपीओ
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले जारी गरेको आईपीओमा २१ लाख भन्दा बढी आवेदकले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आज (असोज १४ गते) अन्तिम दिनसम्ममा २१ लाख ११ हजार ८१९ जनाले आवेदन दिएका छन् । अन्तिम दिन साँझ ५ बजेसम्ममा उनीहरुले २ अर्ब ६५ करोड ३१ लाख ४ हजार रुपैयाँ बराबरको अर्थात २ करोड ६५ लाख ३१ हजार ४० कित्ता सेयरको लागि आवेदन दिएका क्यापिटलले जनाएको छ । जुन संस्थाले माग गरेको भन्दा ३३.१६ गुणा बढी हो । कम्पनीले गत असोज ११ गतेबाट सर्वसाधारणका लागि आठ लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशतअर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरेको छ । र, बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो । कम्पनीले माग गरेको भन्दा बढी आवेदन परेसँगै कम्पनीको आईपीओ निष्काशन आजबाट बन्द भएको छ ।