सेयर बजारको समाचार लेख्न पत्रकारलाई कडाई गर्न चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सेयर बजारको समाचार लेख्न पत्रकारलाई कडाई गर्न माग गरेकाे छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै चेम्बरले पुँजी बजारसँग सम्बन्धित समाचार सम्प्रेषण गर्ने मिडियाहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने वा बोर्डले यस सम्बन्धमा कोड अफ कन्डक्ट बनाई लागु गरिनु पर्ने बताएकाे हाे । नेपालको पुँजी बजारमा हालै देखिएको अस्वाभाविक गिरावट प्रति ध्यानाकर्षण गराउँदै चेम्बरले मिडियालाई कडाई गर्ने लगायतका विभिन्न १६ बुँदे सुझाव दिएकाे छ । दैनिक २०।२१ अर्बको कारोबार भई ४२ खर्ब बढीको पुँजीकरण भई नेप्से परिसुचक इन्डेक्स ३२१७ को हाराहारी पुगिसकेको बजार हाल आएर करिब ४ अर्बको कारोबार र लगभग ६५० इण्डेक्स तथा पुँजीकरणमा गिरावट आएसँगै चेम्बरले सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराउँदै विभिन्न सुझावहरु दिएको हो । बजारमा हुने सामान्य उचारचढावलाई बजारको विशेषताकै रुपमा लिने गरिन्छ तर कुनै नीतिका कारण बजारमा अस्वाभाविक गिरावट आउने वा आउन सक्ने अवस्था देखिएमा त्यसमा विश्लेषण गरेर मात्र नीति नियम ल्याउनु पर्ने चेम्बरको धारणा रहेको छ । अन्य उद्योग व्यवसायको तुलनामा पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या र स-सानो पुँजी लगानी भएका लगानीकर्ताहरु सँख्या धेरै हुनाले स-साना समाचार, नीति र अभिव्यक्तिकै कारण प्रभावित भई सहि निर्णय गर्न नसक्दा ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य हुने अवस्था रहेकाे चेम्बरले बताएकाे छ । यस्ता छन् चेम्बरको १६ बुँदे सुझाव १. नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा निर्धारण गरेको ४ करोड र १२ करोडको कर्जा सिमा नै मुख्य कारण रहेकोले उक्त सिमा पूर्ववत नै कायम गर्नु पर्ने र विद्यमान सीसीडी रेसियो हटाई सीडी रेसियो लागु गर्दा ३०० अर्ब हाराहारी लगानी योग्य पुँजी उपयोग विहिन भएकाले माथिका दुबै व्यवस्था पूर्ववत कायम गरिनुपर्ने । २. नेपाल स्टक एक्सचेञ्ज, तथा नेपाल धितोपत्र बोर्ड नेतृत्व विहिन हुँदा बजारमा अनेक किसिमका विकृतिहरु देखा परेको र नीतिगत रुपमा सम्बोधन हुनु पर्ने एजेन्डाहरु सम्बोधन नहुँदा बजार अनिर्णयको अवस्थामा पुगेकोले यथासम्भब उल्लेखित निकायहरुको विवाद समाधान गरि नया नेतृत्व ल्याइनु पर्ने । ३. नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड जस्ता नियामक निकायहरुले नीति नियम तर्जुमा गर्दा निजी क्षेत्रसंग पनि समन्वय गरि गरिनु पर्ने । ४. हाल संस्थागत लगानीकर्ता भन्दा व्यक्तिगत लगानीकर्ताको संख्या बढी रहेको र व्यक्तिगत लगानीकर्तालाई ७.५ प्रतिशत, संस्थागत लगानीकर्तालाई २५ प्रतिशत करको दर रहेकोले संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्दै यस अगाडि बैंक तथा वित्तिय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न छुट भएकोमा हाल आएर रोक लगाईएकोले माग र आपूर्तिमा सामन्जस्यता ल्याउन बैंक तथा वित्तिय संस्थाहरुलाई पूर्ववत रुपमा पुँजी बजारमा लगानी गर्न खुल्ला गरिनु पर्ने । ५. अन्तर्राष्ट्रिय रुपमा अभ्यासमा रहेको स्टक ब्रोकर मार्फत सेयर खरिदका लागि ब्रोकर कम्पनी मार्फत मार्जिन कर्जाको व्यवस्था गर्ने विषयलाई अनिवार्य रुपमा लागु गरिनु पर्ने जसले गर्दा बजारमा देखिने माग र आपूर्तिको अवस्थालाई सन्तुलित राख्न सहयोग पुग्ने र लगानीकर्ताहरुले सहज सेयर खरिद कर्जा प्राप्त गर्न सक्ने । ७. संस्थागत स्टक डिलर, मार्केट मेकर जस्ता संस्थाहरुलाई बजारमा ल्याईनु पर्ने । ८. हाल बजारमा जो कोहीले पनि बजारको बारेमा अध्ययन अनुसन्धानका नाममा बजारलाई प्रभावित पार्ने गरि टेक्निकल एनालाइसिस गर्ने गरेकोमा त्यसलाई नियमन गर्न एडभाइजर वा टेक्निकल एनालाइटिस्टको अनुमति दिएर त्यस्ता व्यक्ति वा संस्थाहरुलाई मात्र बजारको बारेमा फोरकास्टिङ्ग गर्न दिने व्यवस्था गर्ने । ९. हाल धेरैभन्दा धेरै अनलाइन मिडियाहरु सञ्चालनमा आएको र सेयर बजारका बारेमा आफु अनुकुल वा विभिन्न व्यक्ति वा समुहको हितमा सेयर बजार सम्बन्धि समाचारहरु सम्प्रेषण तथा प्रकाशन गर्ने गरेको र जसले गर्दा बजारमा साना तथा नयाँ लगानीकर्ताहरुमा थप अन्यौलता पर्ने हुँदा पुँजी बजारसँग सम्बन्धित समाचार सम्प्रेषण गर्ने मिडियाहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने वा नेपाल धितोपत्र बोर्डले यस सम्बन्धमा कोड अफ कन्डक्ट बनाई लागु गरिनु पर्ने । १०. सेयर कारोबार गर्दा हुने रकम भुक्तानी तथा प्राप्ती गर्दा कायम रहेको विधुतिय माध्यमबाट हुने भुक्तानीको सिमा खुल्ला गरिनु पर्ने । ११. अनलाईन कारोबार प्रणालीको वर्तमान संरचनालाई चुस्त दुरुस्त बनाई बैंक इन्टीग्रेसन सहितको प्रभावकारी प्रणाली बनाईनु पर्ने तथा प्रविधिको विकास विस्तार र प्रयोगलाई जोड दिईनु पर्ने । १२. बजेट मार्फत धितोपत्र कारोबारमा लाग्ने लाभकरमा भएको बृद्धि हालको संक्रमणकालिन अवस्थालाई मध्यनजर गरि स्थगन गरिनु पर्ने । १३. निश्चित सिमा भन्दा बढी पूँजी भएका वास्तविक क्षेत्रका कम्पनीहरुलाई अनिवार्य रुपमा नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत गरिनु पर्ने । १४. फ्युचर अप्सन, जस्ता डेरिभेटिभ प्रोडक्टहरु ल्याउने तथा इन्ट्रा डे कारोबारको सुरुवात गरिनु पर्ने । १५. ब्रोकर कम्पनीहरुलाई सब ब्रोकर, एजेन्ट नियुक्त गर्न दिने तथा शाखा विस्तार गरि देशका सबै तहबाट दोस्रो बजारमा लगानीकर्ताहरुको सहज सहभागिता हुने व्यवस्था गरिनु पर्ने । १६. नेपाल स्टक एक्सचेञ्जको स्तरोन्नती तथा नयाँ स्टक एक्सचेञ्जको व्यवस्था गरिनु पर्ने ।

३० प्रतिशत हकप्रद प्रस्ताव गरेको छ्याङ्दीले थप ४० प्रतिशत जारी गर्ने

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले थप ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । हाल ३० प्रतिशत हकप्रद सेयर निष्काशनको तयारी गरिरहेको कम्पनीले थप ४० प्रतिशत पनि जारी गर्ने घोषणा गरेको हो । असोज १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद जारी पश्चात कायम हुने चुक्ता पुँजीमा थप ४० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । संस्थाले ३० प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पेश गरिसकेको छ । यसपछि संस्थाको चुक्ता पुँजी ३८ करोड ७७ लाख रुपैयाँ पुग्ने छ । त्यसपछि ४० प्रतिशत हकप्रद पश्चात संस्थाको चुक्ता पुँजी ५४ करोड १७ लाख रुपैयाँ पुग्ने छ । कम्पनीले हाल निर्माण गरिरहेको ४ मेगावाटको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गर्न ऋणको आवश्यक परेकोले थप ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि बढाएको हो । साथै, सोको लागि आवश्यक दीर्घकालिन ऋण यो योजनामा लगानी गरिरहेका बैंक अफ काठमाण्डू र कुमारी बैंक समक्ष माग गर्ने कम्पनीले जनाएको छ । उक्त प्रस्तावलाई विद्युत नियमन आयोगले स्वीकृत गर्नुपर्छ ।

मेरो माइक्रोफाइनान्सले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । असोज १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस र १.०५२६ प्रतिशत नगद(कर प्रयोजनको लागि) गरी कूल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी एक अर्ब २० करोड रुपैयाँ पुग्ने छ ।