नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रकृया अघि बढाएको छ । सो प्रयोजनको लागि फाइनान्सले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । सो नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । हाल फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३४ लाख रुपैयाँ रहेको छ । जसको ७० प्रतिशत अर्थात एक बराबर ०.७० कित्ता हकप्रद सेयर जारी पश्चात संस्थाको चुक्ता पुँजी ८३ करोड ८७ लाख रुपैयाँ पुग्ने छ ।

सेयर बजारमा छायो हरियाली, ५० अंकले बढ्यो परिसूचक, अपिमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा धेरै पछि हरियाली छाएको छ । गत एक साताअघिदेखि निरन्तर राताम्मे देखिएको सेयर बजार आज भने हरियो देखिएको छ । बुधबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । घटेर २५८०.४ बिन्दुसम्म पुगेको नेप्से परिसूचक अन्ततः बढेर २६६५.९४ बिन्दुसम्म पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.९३ प्रतिशत अर्थात ५०.५८ अंकले बढी हो । परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन (मंगलबार) पौने ६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार भने ५ अर्ब रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । सो दिन २२९ स्क्रिप्टको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी अपि पावरको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २२ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको बजारमा कम्पनी विभिन्न तीन शीर्षकमा अग्रस्थानमा रहेको छ । कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको कम्पनी कारोबार संख्या र टप गेनरमा पनि अग्रस्थानमा नै रहेको छ । त्यस्तै, धेरै पटक कारोबार हुनेमा कम्पनी दोश्रो स्थानमा रहेको छ । दिनभरको कारोबारमा कम्पनीको ५ लाख १४ हजार ४३९ कित्ता सेयर २ हजार ३६५ पटकमा किनबेच भएको थियो । त्यसैगरी, अपिको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५९.८० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ४१.८० रुपैयाँले बढी हो । अपिसँगै अन्य ४ वटा कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । ग्रीन डेभलपमेन्ट बैंकको १० प्रतिशत, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ९.९३, यूनाईटेड ईदी मार्दी आरबी हाइड्रोपावरको ९.६४ र कालिका पावर कम्पनीको सेयर मूल्य ९.५० प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा बढीले सेयर मूल्य घट्नेमा मेगा बैंक अग्रस्थानमा रहेको छ । बैंकको सेयर मूल्य ३.९२ प्रतिशतले घटेर प्रतिकित्ता ३४२.८० रुपैयाँमा रहेको छ । बुधबार कारोबारमा आएका सबै समूहहरु हरिया देखिएका छन् । जसमध्ये निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २५५.६६ अंकले बढेको छ ।

पुँजी बजारमा बुलिश सकिएकै छैन: लगानीकर्ता पौडेल

काठमाडौं । पुँजी बजारका भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सेयर बजार अझै बुलिश ट्रेण्ड नसिकएको जानकारी गराएका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत बजारमा बुलिश नसकिएको भन्दै सबैलाई जानकारी गराएका हुन् । साथै, उनले हालको बजारले लगानीकर्ताको विश्वास र धैर्यतालाई परिक्षण गरिरहेको समेत बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका सभापति समेत रहेका लगानीकर्ता पौडेलले सञ्जालमार्फत लगानीकर्तालाई भनेका छन् ‘तपाईंको आफ्नो लगानीप्रतिको विश्वास र धैर्यातालाई पूँजी बजारले परिक्षण गरेको यो समयले नै तपाईंमा कति परिपक्कता आएको रहेछ भन्ने कुरा केही दिनमा नै प्रमाणित हुनेछ ।’ ‘मेरो बिश्वास बुलिश सकिएको छैन,’ उनले लेखेका छन् । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उच्च अंकले घटिरहेको छ । बुधबारको सेयर बजारमा पनि तीव्र उतारचढाव भइरहेको छ ।  हालसम्ममा परिसूचक घटेर न्यूनतम २५७८ र बढेर अधिकतम २६४७ बिन्दुसम्म पुगेको छ । यो समाचार तयार पार्दा (१२ः५७ बजे) सम्म सेयर कारोबार मापक नेप्से परिसूचक १० अंकले बढेर २६२५ बिन्दुसम्म पुगेको छ ।