होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट
काठमाडौं । चितवनको भरतपुरमा अवस्थित चारतारे होटल सिराइचुली लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले धितोपत्र बोर्डको नियमावली र निर्देशिकाअनुसार आवश्यक स्वीकृति प्राप्त गरेपछि शेयर निष्कासन प्रक्रिया अघि बढाउने बताएको छ । सो कार्यका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । आयोजित औपचारिक सम्झौता कार्यक्रममा होटल सिराइचुली तर्फबाट अध्यक्ष चुडामणी खनाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच सम्झौतामा हस्ताक्षर गरिएको हो । कार्यक्रममा होटल सिराइचुलीका प्रबन्ध सञ्चालक विष्णु कुँवर र सञ्चालक बाबुराम उपाध्यायको पनि उपस्थिति रहेको थियो । भरतपुर–१० मा अवस्थित सिराइचुली होटल एक आधुनिक र सुविधासम्पन्न चारतारे होटल हो । होटलमा समकालीन आवास, मल्टिकुजिन रेस्टुरेन्ट, ३ वटा बैंक्वेट हल, ५ वटा बोर्डरुम, इन्फिनिटी स्विमिङ पूल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा लगायतका सेवा उपलब्ध छन् । होटलको विशेषता भनेको हिमालय पर्वत शृङ्खलाको दृश्यावलोकन गर्न मिल्ने सिटी सेन्टर लोकेशनमा रहेको शानदार सुविधा हो, जसले आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षण गर्ने कम्पनीको विश्वास छ ।
सन नेपाल लाइफको सेयरको ३ वटा कटअफ मूल्य निर्धारण, अधिकतम ४६१ रुपैयाँ
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको कटअप मूल्य निर्धारण गरिएको छ । कम्पनीले लिलामीमा बिक्री गरेको सेयरको कटअफ मूल्य निर्धारण भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार कम्पनीको संस्थापक समूहतर्फको सेयरको कटअफ मूल्य १५१ रुपैयाँ कायम भएको छ । यस्तै, सर्वसाधारण समूहको (लकइनमा रहेको) सेयरको कटअफ मूल्य प्रतिकित्ता ४०१ रुपैयाँ र सर्वसाधारणतर्फ लकइनमा नरहेको सेयरको कट अफ मूल्य ४६१ रुपैयाँ निर्धारण भएको कम्पनीले जनाएको छ । कम्पनीले गत असार २३ गतेदेखि असार गतेसम्म संस्थापक समूहको ८० हजार २२२ कित्ता, सर्वसाधारण समूहको (लकइनमा रहेको) ४ हजार कित्ता र सर्वसाधारण समूहको लकइनमा नरहेको १ लाख ४० हजार ४५७ कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको उक्त सेयर खरिदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्रहरुको प्रशोधन गरि निष्काशनकर्ता कम्पनीले साउन ४ गते बाँडफाँड गरिएको जनाएको छ । बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी साउन ८ गतेदेखि आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आइपीएस मार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ ।
छ्याङ्दी हाइड्रोले साउन १४ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले २ लाख ९८ हजार ८३२ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले जेठ २३ गतेदेखि असार २७ गतेसम्म चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अकित मूल्य दरका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । उक्त अवधिमा बिक्री नभएको २ लाख ९८ हजार ८३२ कित्ता सेयर भदौ साउन १४ गतेदेखि साउन २१ गतेसम्म बिक्री गर्न लागेको हो । कम्पनीको सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको सेयरमा लगानीकर्ताहरूले बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आर्दशनगर, वीरगंज, हेटौडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ्ग, नेपालगंज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन सक्नेछन् ।