आइसिएफसि फाइनान्सको १५.७८ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले बाइसौं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५५ प्रतिशत दरले नगद लाभांश दिने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक लेखापरीक्षकमा श्री 'एसएआरएसोसिएट्स' चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ । फाइनान्सका अनुसार चुक्तापूँजी एक अर्ब अठार करोड चौतीस लाख रुपैयाँ रहेको छ । हालसम्म संस्थाले २१ वटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी ग्राहकलाई आधुनिक प्रविधि मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन र १७ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।
कृषि विकास बैंकको १९औँ साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । बैंकको साधारण सभाले १३ प्रतिशत लाभांश पारित गरेको छ । बैंकका सञ्चालक समिति अध्यक्ष डिमप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीलाई चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभामा पारित प्रस्तावअनुसार लाभांश यथाशीघ्र सेयरधनीलाई उपलब्ध गराइने प्रतिबद्धता बैंकले जनाएको छ । सभामा बैंकको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पनि अनुमोदन गरिएको छ । सभामा बैंकले हाल देशभर २८५ वटा कार्यालयमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको जानकारी गराएको छ । बैंकले दुर्गमदेखि सुगम क्षेत्रसम्म आफ्नो बृहत कार्यसञ्जाल विस्तार गर्दै आएको र वाणिज्य बैंकहरूमध्ये कृषिमा सबैभन्दा बढी लगानी गर्ने बैंकको रूपमा आफूलाई स्थापित गरेको दाबी गरेको छ । साधारण सभामा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि मुक्तीरमण पराजुलीसहित ९ जना वक्ताले आफ्ना धारणा राखेका थिए भने केही सेयरधनीले लिखित मन्तव्यसमेत प्रस्तुत गरेका थिए । सेयरधनीहरूले उठाएका जिज्ञासाबारे अध्यक्ष पौडेलले स्पष्ट पार्दै प्राप्त सुझावहरूलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । सेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको सभामा विभिन्न निकाय तथा संस्थाका प्रतिनिधि, बैंकका उच्च व्यवस्थापन, कर्मचारी र सञ्चालक समिति सदस्यहरू सेवन्तक पोखरेल, डा. हरिबहादुर केसी, गोविन्दप्रसाद भट्टराई, संजीव पौडेल, विनोदकुमार गुरागाईं, रीता सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिति रहेको थियो । साधारण सभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।
सामान्य बढ्यो सेयर बजार, फाइनान्समा झुम्मिए लगानीकर्ता
काठमाडौं । सोमबार सेयर बजार सामान्य बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अंकले बढेर बन्द भएको छ । बजार बन्द हुनुभन्दा केही बेर अगाडिसम्म घटिरहेको बजारमा अन्तिम समयमा खरिदकर्ता हाबी भएपछि बजार बढेको हो । सोमबार नेप्से ०.२५ प्रतिशतले बढेर परिसूचक १६०१.६१ बिन्दु पुगेको छ । सोमबार दिनभरमा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर कारोबार भएको छ । बजार बन्द हुँदा १५५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३२९ वटा कम्पनी कारोबारमा आउँदा ५६ हजार १२२ पटक सेयर किनबेच भएको छ । आज दुई वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । १३ समूह मध्ये होटेल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूह घटेको छ भने बाँकी अरू समूह बढेको छ । आज सबैभन्दा बढी फाइनास समूह ०.९० प्रतिशतले बढेको छ भने सबैभन्दा बढी अन्य समूह ०.१७ प्रतिशतले घटेको छ ।