तेह्रथुम पावरको हकप्रद सेयर खरिद गर्ने समय लम्बियो
काठमाडौं । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । असार १६ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा लगानीकर्ताहरुले अब साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा, कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् ।
हिमालयन बैंकमा लगानी गर्ने आज अन्तिम मौका
काठमाडौं । हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज साउन ४ गते अन्तिम दिन रहेको छ । असार ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको एफपीओमा लगानीकर्ताहरुले आजसम्म लगानी गर्न सक्नेछन् । बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता बिक्री खुला गरेको हो । बैंकको हाल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको छ । जसमा ७२.९९ प्रतिशत अर्थात् १५ अर्ब ८० करोड ७१ लाख ६३ हजार रुपैयाँ संस्थापक समूह र २७.०१ प्रतिशत अर्थात् ५ अर्ब ८४ करोड ९४ लाख ५१ हजार रुपैयाँ सर्वसाधारण समूहको सेयर स्वामित्व रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था छ । सोही बमोजिम बैंकले सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई एफपीओ जारी गर्न लागेको हो । बैंकको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओमा आवेदन दिनका लागि लगानीकर्ताहरुले न्यूनतम १० कित्ता सेयरका लागि १ हजार ५७० रुपैयाँ जोहो गर्नुपर्नेछ । बैंकको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
घरधुरीलाई सेयर बाँड्दै सरकार, मन्त्री खड्का भन्छन्- अब गरिब पनि धनी बन्छन्
काठमाडौं । 'म सामान्य मान्छे हुँ, तपाईंहरूको बलमा मन्त्री भएको हुँ, अब शिर झुकाउने छैन, परिणाम देखाउनेछु ।' ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शुक्रबार संखुवासभाको चैनपुरमा सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयको उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिए । कार्यक्रममा बोल्दै मन्त्री खड्काले सरकारको कार्यकाल पूर्ण हुने दाबी गर्दै, जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए । 'यो सरकार चल्छ, एक वर्ष सम्माननीय केपी ओली प्रधानमन्त्री हुनुहुन्छ, त्यसपछि शेरबहादुर देउवा बन्नुहुन्छ, तर सरकार जनताले अपेक्षा गरेको काम गर्छ,' उनले भने । संखुवासभालगायत भोजपुर, धनकुटा र तेह्रथुम गरी चार जिल्लालाई लक्षित गरी नयाँ कार्यालय सञ्चालनमा ल्याइएको हो । उद्घाटन समारोहमा मन्त्री खड्काले ११ वटा जलस्रोत तथा सिंचाइ आयोजनाको ठेक्का खुलिसकेको जानकारी दिँदै, अरुण तेस्रो आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको बताए । 'अरुण तेस्रो आयोजनाबाट ९०० मेगावाट विद्युत उत्पादन हुनेछ, जसमा २०० मेगावाट नेपालले पाउँछ । अपर अरुण पनि अगाडि बढिसकेको छ,' उनले जानकारी गराए । साथै, स्थानीय घरधुरीहरूलाई सेयर दिने तयारी भइरहेको भन्दै उनले विपी कोइरालाको समाजवादी मार्गदर्शनअनुसार गरिबलाई धनी बनाउने नीति कार्यान्वयन भइरहेको उल्लेख गरे । मन्त्री खड्काले सिचाइ क्षेत्रमा रोकिएका कामहरूलाई अघि बढाउने प्रयास भइरहेको भन्दै, 'किमाथान्का' मा पुल, भन्सार नाका लगायत पूर्वाधार निर्माणमा भारत र चीन दुबै देशसँग सहकार्य गरिने बताए । नीतिगत क्षेत्रको प्रगति उल्लेख गर्दै मन्त्री खड्काले जलस्रोत र विद्युत् सम्बन्धी विधेयकहरू अगाडि बढिसकेको, मौसम नीति पारित भई विपद् सूचनालाई वडा वडा सम्म पुर्याउने प्रणाली लागू भइसकेको जानकारी दिए । 'मेरो पालामा बंगलादेशमा ४० मेगावाट विद्युत् बेचिएको छ, जसबाट १ अर्ब २५ करोड रुपैयाँ आम्दानी भएको छ,' उनले तथ्य प्रस्तुत गरे । कार्यक्रममा ऊर्जा मन्त्रालयका सिचाइ सचिव सरिता दवाडीले 'चार जिल्लामा सेवा पुर्याउने यो कार्यालय मन्त्रीको दृढताका कारण स्थापना भएको हो,' भन्दै यसले स्थानीय विकासमा ठूलो योगदान पुर्याउने बताए । सिचाइ विभागका महानिर्देशक सञ्जिव बरालले 'संघीय सरकार अन्तर्गतको आयोजना खुल्नु आफैमा चारै जिल्लाका लागि ठुलो उपलब्धि हो,' भनेका थिए । स्थानिय जनप्रतिनिधिहरूले पनि मन्त्री खड्काको नेतृत्वमा जिल्लामा ठूलो बजेट भित्रिएकोमा आभार व्यक्त गरे । खाँदवारी नगरपालिकाका मेयर महेश थपलियाले '५ अर्ब २० करोड बजेट जिल्लामा ल्याएकोमा मन्त्रीज्यूलाई धन्यवाद दिन्छु' भनेका थिए । पाँछखपन नगरपालिकाका मेयर विपिन राईले त मन्त्री खड्कालाई 'हाम्रो लागि भगवानसरह नेता' भन्दै प्रशंसा गरे । संघीय संरचनाअनुसार सशक्त सेवा दिन स्थापना गरिएको ‘सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय’ ले पूर्वी पहाडी जिल्लाहरूमा जलस्रोतको समुचित उपयोग गर्दै कृषि उत्पादनमा वृद्धि र समृद्धिमा टेवा पुर्याउने आयोजना प्रमुख धिराज लम्सालले बताए ।