इमर्जिङ्ग नेपालले सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ । मङ्सिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो । नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज मंसिर २९ गते अन्तिम दिन रहेको छ । मंसिर २५ गतेदेखि बिक्री खुला गरेको बैंकको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतका दरले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयर सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआश्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

आजसम्म सेयरधनी बने लक्ष्मी सनराइज र कालिञ्चोक दर्शनको लाभांश पाइने

काठमाडौं । लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको लाभांश सुरक्षित गर्ने आज मंसिर २९ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी २ कम्पनीले पुस १ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन् । लक्ष्मी सनराइज बैंकले पुस १४ गते कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे २५औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले २ अर्ब ४३ करोड ४६ लाख ५१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशतका दरले १२ करोड ८१ लाख ३९ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, कालिञ्चोक दर्शनले पुस १५ गते काठमाडौंमा ११औँ वार्षिक साधारण सभा साढे ११ बजे बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।