शिखर पावर डेभलपमेन्टले माघ ६ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । शिखर पावर डेभलपमेन्टले माघ ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँकाे १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ९ करोड ८० लाख रुपैयाँको ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरिनेछ । स्थानीयलाई छुट्याएको सेयरमा बागलुङको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका वडावासी र विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ करोड २२ लाख रुपैयाँको २ लाख २२ हजार कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् ।  कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा स्थानीय बासिन्दाले माघ २० गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण आवेदन नपरेमा फागुन ८ गतेसम्म आवेदन दिन समय लम्बिनेछ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

विजय लघुवित्तको एफपीओमा आवेदन भर्ने आज अन्तिम दिन

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीओ)मा आवेदन दिने आज पुस २४ गते अन्तिम दिन रहेको छ । पुस २१ गतेदेखि बिक्री खुला गरेको लघुवित्तको एफपीओमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ बिक्री गरेको हो ।  साविकको नयाँ सारथी र विजय लघुवित्तको मर्जर पश्चात् बनेको विजय लघुवित्तको हाल कायम चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँ रहेको छ । जसमा संस्थापक सेयरधनी समूहको ७४.३९ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको २५.६१ प्रतिशत सेयर स्वामित्व रहेको छ । सोही व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनी समूहको सेयर स्वामित्व न्यूनतम् ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो । एफपीओ जारीपश्चात् लघुवित्तको जारी तथा चुक्ता पुँजी ७९ करोड १७ लाख २२ हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।  लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

सिंगटी हाइड्रोले ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक साधारण सभाबाट स्वीकृत प्रस्तावअनुसार चुक्ता पूँजीको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गरिनेछ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  यससम्बन्धी सम्झौतामा बुधबार सिंगटी हाइड्रो इनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक सुदीप खड्का र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीका अनुसार हकप्रद सेयर निष्कासनबाट संकलित रकम अन्य हाइड्रोपावर कम्पनीहरूमार्फत प्रवर्धन गरिएका ६१.११ मेगावाट क्षमताको नारखोला जलविद्युत आयोजना तथा ८६.५९ मेगावाट क्षमताको लान्द्रुक मोदी जलविद्युत आयोजनामा लगानी गर्न प्रयोग गरिनेछ । हकप्रद सेयरमार्फत पूँजी संरचना मजबुत बनाउँदै दीर्घकालीन ऊर्जा परियोजनामा लगानी विस्तार गर्ने सिंगटी हाइड्रो इनर्जीको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।