नेपाल बैंकको नाफा १३ हजार १७५ प्रतिशत बढ्यो, जगेडा कोष २४ अर्ब रुपैयाँ पुग्यो
काठमाडौं । नेपाल बैंकको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा १३ हजार १७५ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ करोड ८४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत बढेर १० अर्ब ८ करोड ७१ लाख ५१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ८ अर्ब ६३ करोड ४७ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६.०७ प्रतिशत बढेर १ अर्ब १७ करोड ४९ लाख ९१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशत बढेर ११ अर्ब ९४ करोड ३९ लाख ३७ हजार रुपैयाँ र सञ्चालन नाफा ६९२ प्रतिशत बढेर ५ अर्ब ४१ करोड ८६ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । वितरणयोग्य नाफा ऋणत्मक रहेकाले बैंकले लाभांश पनि वितरण गर्न नसक्ने अवस्थामा छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९६ करोड ५० लाख ७४ हजार रुपैयाँ ऋणात्मक थियो । १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा २३ अर्ब ९३ करोड २० लाख ४८ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा बैंकको निक्षेप १७.२८ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब २ करोड १० लाख ४७ हजार रुपैयाँ र कर्जा लगानी १३.८८ प्रतिशत बढेर २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख ८५ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ८३ अर्ब ८ करोड ३७ लाख ४५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ अर्ब ६६ करोड ७७ लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी २५.६८ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ०.१९ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.३५ गुणा छ । अघिल्लो वर्ष ४.३३ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.४७ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १०.२२ प्रतिशत, आधार दर ५.५८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७०.७२ प्रतिशत रहेको छ ।
माउन्ट एभरेष्ट डिष्टिलरीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले कुल १२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा साउन २८ गते, काठमाडौंको नक्साल स्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुबै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडका प्रबन्ध सञ्चालक सतीश कुमार कर्ण र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।
अपि पावरले विद्युत उत्पादन क्षमता बढाउँदै, ५० मेगावाटको दिव्य ज्योति हाइड्रो प्राप्त गर्ने
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले विद्युत उत्पादन क्षमता बढाउने योजना अन्तर्गत दिव्य ज्योति हाइड्रोपावर प्रालि प्राप्त गर्ने निर्णय गरेको छ । कम्पनीले लमजुङ जिल्लामा प्रवर्द्धन भइरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजना आफ्नो स्वामित्वमा ल्याउने भएको हो । कम्पनीका अनुसार, आयोजनाको आर्थिक र प्राविधिक मूल्यांकनपछि निर्माण र सञ्चालनका लागि उपयुक्त देखिएकाले दिव्य ज्योति हाइड्रोपावर प्रालिका विद्यमान सबै सेयर खरिद गर्ने निर्णय गरिएको हो । यसपछि कम्पनीको सम्पूर्ण व्यवस्थापन अपि पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहने छ ।