सिद्धार्थ प्रिमियरको साधारण सभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले मंगलबार ३२औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले सेयरधनीलाई २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुरेशलाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए । उनले नेपाली बीमा बजारमा कम्पनीले आफ्नै छुट्टै पहिचान बनाउँदै बीमितहरूको आकांक्षाअनुसार उच्चस्तरीय बीमा सेवा प्रवाह गर्न सफल भएको बताए । अध्यक्ष श्रेष्ठले उच्चतम प्रतिफल दिने लक्ष्यअनुरूप कम्पनीले सन्तोषजनक उपलब्धि हासिल गरेको उल्लेख गरे । सभाले २५ प्रतिशतका दरले हुन आउने कुल ७० करोड १६ लाख ३७ हजार ४७५ रुपैयाँ बराबरको नगद लाभांश स्वीकृत गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित

दार्चुला । अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेयर दिनुपर्ने मागसहित स्थानीय आन्दोलित भएका हुन् । हाइड्रोपावर कम्पनीले सेयर जारी गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था सिर्जना भएको आरोप लगाउँदै मकरीगाड सेयर वितरण सङ्घर्ष समिति गठन गरी कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन् । सङ्घर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक रूपमा कमजोर तथा गरिब स्थानीय नागरिकलाई निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने र आयोजना प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा ८० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । ज्ञापनपत्रमा आयोजनाका कारण प्रभावित सडकमा पक्की पर्खाल र तटबन्ध निर्माण गर्नुपर्ने माग राखिएको छ । यस्तै प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार विकास, पानीका मुहान सुक्ने स्थानमा खानेपानी योजना निर्माण तथा विस्थापित पुराना घट्टको सट्टा नयाँ पानी घट्ट निर्माण गर्नुपर्ने मागमा उल्लेख छ । यसअघि मकरीगाडमा परम्परागत घट्ट थिए ।  त्यसैगरी, आयोजना प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण तथा आधारभूत स्वास्थ्य संस्थामा आवश्यक उपकरण उपलब्ध गराउन कम्पनीसँग माग गरिएको छ । मकरीगाड हाइड्रोपावरलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेखित माग तीन दिनभित्र सम्बोधन नगरिए हाइड्रोपावर बन्द गर्ने चेतावनी पनि दिइएको छ । हाइड्रोपावरलाई ज्ञापनपत्र बुझाएको सङ्घर्ष समितिले अपिहिमाल गाउँपालिकासँग पनि सेयर वितरण र आयोजनाका विषयमा आवश्यक समन्वय गर्न आग्रह गर्दै ज्ञापन बुझाएको छ । गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई ज्ञापन बुझाउँदै स्थानीयले पाउने सेवा–सुविधाका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न माग गरिएको छ ।  

निगालो होटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं। निगालो होटल लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा निगालो होटल लिमिटेडका तर्फबाट अध्यक्ष टिकाराज बराल र मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशी ले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा चार्टर्ड एकाउन्टेन्ट अनिल पौडेल को समेत उपस्थिति रहेको थियो । नगरकोटमा अवस्थित परम्परागत तथा सांस्कृतिक शैलीको वास्तुकला झल्किने यस चारतारे होटलले जारी पुँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार निगालो होटलले परम्परागत हेरिटेज अनुभव र आधुनिक आतिथ्य सेवामार्फत फरक पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ । होटल परिसरबाट हिमाल, काठमाडौं, भक्तपुर तथा ललितपुर उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने विशेष भ्यु टावर रहेकोले यसले विशिष्ट पहिचान बनाउने विश्वास व्यक्त गरिएको छ । परियोजनामार्फत पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । सञ्चालनको अन्तिम चरणमा रहेको यस होटलमा ६८ वटा प्रिमियम कोठा (सुइटसहित), तीनवटा बैंक्वेट हल, तीनवटा रेस्टुरेन्ट, बार, पौडी पोखरी, स्पा, जिम, ध्यान कक्ष, कफी शप, सङ्गीत क्लबलगायत विभिन्न विश्वस्तरीय सुविधा रहनेछन् । साथै, भविष्यमा उक्त क्षेत्रकै पहिलो क्यासिनो सञ्चालन गर्ने योजना पनि दीर्घकालीन रणनीतिमा समावेश गरिएको छ । आईपीओ निष्कासनपछि निकट भविष्यमा पोखरा, काठमाडौं र चितवनजस्ता प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने दीर्घकालीन योजना रहेको कम्पनीका अध्यक्ष बरालले जानकारी दिए । कम्पनीका संस्थापक तथा प्रवर्द्धक समूहमा पर्यटन, जलविद्युत्, बैंकिङ तथा शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यवसायीहरूको संलग्नता रहेको छ । होटल सञ्चालनतर्फ २५ वर्षभन्दा बढी अनुभव भएका व्यवस्थापकहरूको नेतृत्वमा सेवा सञ्चालन गरिने कम्पनीले जनाएको छ । करिब १ अर्ब रुपैयाँ लगानी रहेको यो होटल आगामी चार महिनाभित्र सञ्चालनमा आउने कम्पनीको भनाइ छ । साथै, भारतीय तथा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी रणनीतिक रूपमा होटल सञ्चालन गर्ने विषयमा समेत अध्ययन भइरहेको जनाएको छ ।