लचिलो नीतिमा बैंकहरू उत्साहित, दोब्बरले बढाए सेयर कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सेयर धितो कर्जामा खुकुलो नीति अघि सारेपछि बैंकहरूले लगानी ह्वात्तै बढाएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा मार्जिन प्रकृतिको कर्जा (सेयर कर्जा)को सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएसँगै बैंकहरूले पनि सेयरमा लगानी बढाएका हुन् ।  साथै, राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेको छ । जसले गर्दा पुँजी बजारमा बैंकहरूले खुलेरै लगानी गरेको लगानीकर्ताहरू बताउँछन् । गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले १ खर्ब १६ अर्ब ८० करोड ९४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् । जुन अघिल्लो वर्षको तुलनामा गत वर्ष ६६.०५ प्रतिशत अर्थात् ४६ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका थिए ।  समीक्षा वर्षमा अधिकांश बैंकले सेयरमा लगानी बढाएका छन् भने विभिन्न ८ वटा बैंकको दोब्बरभन्दा बढाएका छन् । गत वर्ष माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै सेयर कर्जा बढाएको छ । गत असारसम्ममा माछापुच्छ्रे बैंकको ४४२.०९ प्रतिशत अर्थात् २ अर्ब ६ करोड रुपैयाँ बढेर २ अर्ब ५३ अर्ब १९ लाख रुपैयाँ लगानी गरेको हो । अघिल्लो वर्ष बैंकले ४६ करोड ७० लाख रुपैयाँ मात्रै सेयर प्रवाह गरेको थियो । समीक्षा अवधिमा सबैभन्दा धेरै सेयर कर्जा दिने बैंकमा नबिल अग्रस्थानमा छ । नबिल बैंकको ४६.६८ प्रतिशत अर्थात् ५ अर्ब ३३ करोड ५४ लाख रुपैयाँ बढाएर १६ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ सेयरमा लगानी गरेको हो । जुन वाणिज्य बैंकमा सबैभन्दा धेरै सेयर कर्जा हो । अघिल्लो वर्ष बैंकले ११ अर्ब ४२ करोड ७८ लाख रुपैयाँ मात्रै सेयरमा लगानी गरेको थियो । यस्तै, नेपाल एसबिआई बैंकको २०७.१५ प्रतिशत अर्थात् ४१ करोड ७६ लाख रुपैयाँ बढाएर ६१ करोड ९१ लाख रुपैयाँ, कृषि विकास बैंकको १९२.६६ प्रतिशत अर्थात् ३ अर्ब ६ करोड ६४ लाख रुपैयाँ बढाएर ४ अर्ब ६५ करोड ८० लाख रुपैयाँ, एनएमबि बैंकको १४४ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड २४ लाख रुपैयाँ बढाएर २ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् ।  यस्तै, लक्ष्मी सनराइज बैंकको १४३.५३ प्रतिशत अर्थात् ४ अर्ब ८६ करोड ५१ लाख रुपैयाँ बढाएर ८ अर्ब २५ करोड ४५ लाख रुपैयाँ, कुमारी बैंकको १३८.४० प्रतिशत अर्थात् ६ अर्ब ५ करोड ७० लाख रुपैयाँ बढाएर १० अर्ब ४३ करोड ३२ लाख रुपैयाँ, प्राइम बैंकको १०४.२९ प्रतिशत अर्थात् ४ अर्ब २२ करोड ७७ लाख रुपैयाँ बढाएर ८ अर्ब २८ करोड १५ लाख रुपैयाँ, सानिमा बैंकको १००.५१ प्रतिशत अर्थात् १ अर्ब ६६ करोड रुपैयाँ बढाएर ३ अर्ब ३१ करोड १५ लाख रुपैयाँ सेयरमा लगानी गरेका छन् ।  राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि)को ८१.३० प्रतिशत अर्थात् १ अर्ब ५१ करोड रुपैयाँ बढाएर ३ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ, एभरेष्ट बैंकको ६९.७२ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड रुपैयाँ बढाएर ३ अर्ब ४४ करोड रुपैयाँ, प्रभु बैंकको ६८.०६ प्रतिशत अर्थात् २ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बढाएर ५ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ६३.७४ प्रतिशत अर्थात् ४ अर्ब ७९ करोड २० लाख रुपैयाँ बढाएर १२ अर्ब ३० करोड ९३ लाख रुपैयाँ सेयरमा लगानी गरेका छन् ।  सिद्धार्थ बैंकको ६०.२९ प्रतिशत अर्थात् ३ अर्ब ४९ करोड ९ लाख रुपैयाँ बढाएर ९ अर्ब २८ करोठ ७ लाख रुपैयाँ, सिटिजन्स बैंकको ४६.१७ प्रतिशत अर्थात् २ अर्ब २१ करोड ९६ लाख रुपैयाँ बढाएर ७०२६.६२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४४.४९ प्रतिशत अर्थात् १ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ बढाएर ६ अर्ब १५ करोड ८७ लाख रुपैयाँ, हिमालयन बैंकको ३४.८८ प्रतिशत अर्थात् ७० करोड १७ लाख रुपैयाँ बढाएर २ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ र नेपाल बैंकको १५.९५ प्रतिशत अर्थात् १ अर्ब ८ करोड १५ लाख रुपैयाँ बढाएर ७ अर्ब ८६ करोड २४ लाख रुपैयाँ सेयरमा लगानी गरेका छन् । तर, समीक्षा वर्षमा एनआईसी एशिया बैंकले भने सेयरमा कर्जा घटाएको छ । एनआईसी एशियाको ४८.२१ प्रतिशत अर्थात् १ अर्ब ९१ करोड ३८ लाख रुपैयाँ घटाएर २ अर्ब ५ करोड ५२ लाख रुपैयाँ मात्रै सेयरमा लगानी गरेको छ ।

माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँट

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइतबार आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि कुल १२ लाख ४८ हजार ९०४ कित्ता सेयर निष्कासन गरेको थियो । सो सेयर खरिदका लागि २२ लाख ५ हजार ८७१ जनाले कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसअनुसार २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएका छन् भने ८ हजार २८९ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो । त्यसअनुसार १ लाख २४ हजार ८९० जनाले प्रत्येकी १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । बाँडफाँटपछि बाँकी रहेका ४ कित्ता पुनः गोलाप्रथामार्फत वितरण गर्दा ४ जनाले थप १–१ कित्ता पाएका छन् । यसरी कुल १ लाख २४ हजार ८९४ लगानीकर्ताले माबिलुङ्ग इनर्जीको सेयर प्राप्त गरेका छन् ।

एनएमबि सरल बचत फण्ड-इ को लाभांश घट्यो, भदौ ८ गतेदेखि बैंक खातामा जम्मा

काठमाडौं । एनएमबि सरल बचत फण्ड–इ को लाभांश घटेको छ । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड-इ का इकाईधनीहरुका लागि ४.१८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । यसअघि एनएमबि सरल बचत फण्ड-इ का इकाईधनीहरुलाई ४.२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सरल बचत फण्ड-इ को असारसम्म कायम इकाई पुँजी ३ अर्ब ३५ करोड ९१ लाख २१ हजार रुपैयाँको ४.२७ प्रतिशतका दरले १४ करोड ३४ लाख ३४ हजार ९४० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।  साथै, कम्पनीले उक्त फण्डका लागि लाभांश वितरण प्रयोजनार्थ साउन १५ गते इकाईधनी पुस्तीका बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको थियो । साउन १५ गतेसम्ममा योजनाको इकाई पुँजी ३ अर्ब ४३ करोड ३ लाख २४ हजार रुपैयाँ रहेको हुँदा घोषित लाभांश रकम इकाई पुँजीको ४.१८ प्रतिशत रहने कम्पनीले जनाएको छ ।  साथै एनएमबि सरल बचत फण्ड-इ को डिभिडेण्ड रिइन्भेष्टमेन्ट प्लानमा सहभागी जनाउने इकाईधनीहरुको प्रतिफल रकममा प्रचलित कानून बमोजिम लागु हुने कर र इकाई खरिद गर्दा लाग्ने निर्धारित शुल्क कट्टी गरे पश्चात् साउन १५ गते समायोजित खुद सम्पत्ति मूल्य ११.२२ प्रति इकाईको आधारमा इकाई खरिद गरिने कम्पनीले जनाएको छ ।  हाल उक्त योजनाको आकार वृद्धिको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन गरिएको र उक्त आवेदन बमोजिम इकाई वृद्धिको स्वीकृती प्राप्त भए पश्चात् इकाईधनीहरुलाई डिभिडेण्ड रिइन्भेष्टमेन्ट प्लान अन्तर्गत इकाई खरिद गरिने कम्पनीले जनाएको छ । इकाई खरिद गर्दा बाँकी रहने रकम र डिभिडेण्ड रिइन्भेष्टमेन्ट प्लानमा सहभागी नहुने इकाईधनीहरुको हकमा प्रतिफल रकममा कानून बमोजिम लागू हुने कर कट्टी पश्चात् खुद रकम सम्बन्धित इकाईधनीको हित ग्राही खातामा उल्लेखित बैंक खातामा भदौ ८ गतेदेखि जम्मा गरिने कम्पनीले जनाएको छ ।