१ हजार ९६७ जनाले पाए बुङ्गल हाइड्रोको आईपीओ, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड गरिएको छ । स्थानीय बासिन्दालाई बिक्री गरिएको आईपीओ भदौ ५ गते बाँडफाँड गरिएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । कम्पनीका अनुसार अति प्रभावित क्षेत्रका १९६ आवेदकलाई १ लाख १० हजार ५६० कित्ता र सामान्य प्रभावित क्षेत्रका १ हजार ७७१ जना आवेदकलाई ७ लाख १९ हजार ४४० कित्ता गरी कुल १ हजार ९६७ जना आवेदकलाई सेयर बाँडफाँड गरिएको हो ।  बाँडफाँडमा परेका सेयरको विवरण बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइडबाट हेर्न सकिने कम्पनीले जनाएको छ । साथै, बाँडफाँडमा नपरेको सेयर बापतको बाँकी रकम सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने बताइएको छ ।  कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको थियो ।  आयोजना प्रभावितलाई छुट्याइएको सेयरमध्ये ५ लाख ३९ हजार ५ सय कित्ता सेयरमा अति प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १)का स्थानीय र २ लाख ९० हजार ५ सय कित्ता सेयरमा सामान्य प्रभावित क्षेत्र बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११ का स्थानीयहरूलाई छुट्याइएको थियो । 

नर्भिक हस्पिटलको ४२.१०५ प्रतिशत लाभांश घोषणा, २० प्रतिशत आईपीओ

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकट कलेजले लाभांश घोषणा गरेको छ । नर्भिक हस्पिटलको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  नर्भिकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद गरी कुल ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर नगद लाभांशबाट कट्टा गरिने जनाएको छ ।  प्रस्तावित लाभांश पारित गर्न हस्पिटलले भदौ २९ गते थापाथली काठमाडौंमा साढे १२ बजे वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ ।  यस्तै, संचालकहरुको निर्वाचन र सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत साधारण सेयर (आईपीओ) जारी गर्ने एजेन्डा राखेको छ । 

घट्यो सेयर बजार, ५ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले घटेर २७५७ बिन्दुमा झरेको छ । आज ५३ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३१९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको २० करोड, बलेफी हाइड्रोको १४ करोड, बुटवल पावरको १३ करोड र हिमालयन डिस्टीलरीको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा निर्जीवन बीमाबाहेक सबै समूहका सूचक घटेका छन् । निर्जीवन बीमा ०.१४ प्रतिशतले बढेको छ । घटेका सबै समूहको गिरावट दर १ प्रतिशतमुनि रहेका छन् । बैंकिङ ०.११, विकास बैंक ०.६५, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.५२, लगानी ०.२६, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.१८, माइक्रोफाइनान्स ०.२१, अन्य ०.५२ तथा व्यापार ०.६४ प्रतिशतले घटेको छ । आज विकास हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।