साताभर नेप्सेमा उतारचढाव, कारोबार १५ अर्ब नाघ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता उतारचढावबीच समग्रमा सामान्य वृद्धि भएको छ । साताको पहिलो दिन सोमबारदेखि लगातार दुई दिन ओरालो लागेको बजार बुधबार र बिहीबार सुधारिए पनि शुक्रबार पुनः घटेर बन्द भएको हो । साताको पहिलो कारोबार दिन सोमबार नेप्से १६.५४ अंक घटेर २६३२.९६ विन्दुमा बन्द भएको थियो। मंगलबार पनि बजारले ओरालो यात्रा कायम राख्दै २४.६३ अंक घटेर २६०८.३३ विन्दुमा झरेको थियो । तर बुधबार बजारमा सुधार देखियो । यस दिन नेप्से ४४.५९ अंकले उकालो लाग्दै २६५२.९३ विन्दुमा पुगेको थियो । बिहीबार पनि बजारले निरन्तरता दिँदै ८.७८ अंक बढेर २६६१.७१ विन्दुमा पुगेको थियो । साताको अन्तिम कारोबार दिन शुक्रबार भने नेप्से ८.३० अंकले घटे पनि २६५३.४० विन्दुमा बन्द भयो । यससँगै अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा नेप्से २०.४४ अंक अर्थात् करिब ०.७८ प्रतिशतले बढेको छ । कारोबार रकम पनि उत्साहजनक रह्यो । पाँच कारोबार दिनमा कुल १५ अर्ब ५८ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । साताभर करिब ३ करोड ४४ लाख कित्ता सेयर किनबेच हुँदा २ लाख ६५ हजारभन्दा बढी कारोबार भएको तथ्यांक छ । साताको सबैभन्दा धेरै कारोबार बुधबार भएको थियो । बुधबार ३ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो । सबैभन्दा कम कारोबार भने सोमबार २ अर्ब ५८ करोड रुपैयाँमा सीमित रह्यो । बजार विश्लेषकहरूका अनुसार साताभर बजारमा नाफा सुरक्षित गर्ने र खरिदकर्ता दुवै सक्रिय देखिएकाले नेप्से उतारचढावका बीच सीमित दायरामै घुमेको छ ।
नेप्से ८.३० अंकले घट्यो, कारोबार रकम ४ अर्ब ४१ करोड पुग्यो
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.३० अंकले घटेर २ हजार ६५३.४० विन्दुमा बन्द भएको छ । बजार परिसूचक ओरालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । शुक्रबार ३४५ वटा कम्पनीको ८५ लाख कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । अघिल्लो दिन बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबार भएका कम्पनीमध्ये १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको घटेको छ । शुक्रबार सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, नेपाल फाइनान्सको सेयर मूल्य करिब १५ प्रतिशतले वृद्धि हुँदा खानी खोला हाइड्रोपावरको मूल्य ११.५ प्रतिशतले बढेको छ । यस्तै अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य भने १३.६५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा एग्रीकल्चरल बण्ड शीर्ष स्थानमा रह्यो । उक्त बण्डको ४३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसपछि ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९को करिब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १७ करोड ५० लाख रुपैयाँ नाघेको छ । शुक्रबार ५ उपसमूह हरियो रहँदा ८ उपसमूह ओरालो लागेका छन् । वित्त उपसमूह सबैभन्दा धेरै १।०६ प्रतिशतले बढेको छ । विकास बैंक, जलविद्युत, लघुवित्त र व्यापार उपसमूहमा सामान्य सुधार देखिएको छ ।
२.६० खर्बको कारोबारमा ८३ करोड आम्दानी, मार्जिन लेण्डिङका लागि ३ अर्ब ऋण
काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा ८३ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १५८.२० प्रतिशत अर्थात् ५१ करोड १० लाख रुपैयाँ बढी हो । कम्पनीले आव २०८०/८१ मा ३२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीका अनुसार कुल आम्दानीमध्ये ९७ प्रतिशत हिस्सा ब्रोकरेज कमिसनबाट आएको हो । सेयर दलाली कमिसन आम्दानीमा आएको तीव्र वृद्धिले कुल सञ्चालन आम्दानीमा उल्लेख्य उछाल ल्याएको कम्पनीको भनाइ छ । सन् २००७ डिसेम्बरमा स्थापित नासा सेक्युरिटिज नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट इजाजतप्राप्त धितोपत्र दलाल (सेयर ब्रोकर) तथा निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) कम्पनी हो । कम्पनीको मुख्य व्यवसाय सेयर बजारमा धितोपत्रको खरिद–बिक्री सहजीकरण गर्नु र त्यसबाट कमिसन आम्दानी आर्जन गर्नु हो । नासा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सदस्यसमेत हो र यसले नेप्सेबाट सदस्यता प्रमाणपत्र नम्बर ५८ प्राप्त गरेको छ । कम्पनीले वीरगञ्ज, पोखरा र जनकपुरमा रहेका तीन शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्य (डीपी) को सदस्यता लिएको नासाले लगानीकर्तालाई धितोपत्र अभिलेखीकरण तथा सम्बन्धित सेवा उपलब्ध गराउँदै आएको छ । यसअन्तर्गत डिम्याट खाता खोल्ने तथा नवीकरण गर्ने, भौतिक सेयरलाई अभौतिकीकरण (डिम्याट) गर्ने, धितोपत्र धितो राख्ने तथा फुकुवा गर्ने, साथै आईपीओ तथा हकप्रद सेयरमा आवेदन दिने लगायतका सेवा प्रदान गरिँदै आएको छ । नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ सुविधा निर्देशिका, २०८२ लागू गरेसँगै कम्पनीले मार्जिन लेन्डिङ सुविधा सञ्चालनका लागि पनि स्वीकृति लिइसकेको छ । कम्पनीले लगानीकर्तालाई धितोपत्र धितोमा कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ । यसका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब रुपैयाँ ऋण लिइएको छ, जसमा १ करोड १० लाख रुपैयाँ दीर्घकालीन र २ अर्ब ९८ करोड ९० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । नासा सेक्युरिटिजको नेतृत्व अध्यक्ष मदन पौड्यालले गर्दै आएका छन् । उनीसँग वित्तीय तथा पुँजी बजार क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख प्रवद्र्धक सन्दीप जलान हुन् । खुद नाफा ३१ करोड रुपैयाँ गत आर्थिक वर्ष २०८१/८२ मा नासाको कुल कारोबार रकम १९८ प्रतिशतले बढेर २ खर्ब ६० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । कारोबार रकममा आएको यही वृद्धिले ब्रोकिङ कमिसन आम्दानीलाई थप बल दिएको कम्पनीले जनाएको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३१ करोड २० लाख रुपैयाँ र ग्रस क्यास अक्रुअल ३३ करोड ८० लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको खुद सम्पत्ति (नेटवर्थ) ८५ करोड ७० लाख रुपैयाँ पुगेको छ भने समग्र ऋण दायित्व ७५ करोड ७० लाख रुपैयाँ रहेको छ । यसमा ४० करोड १० लाख रुपैयाँ बराबरको गैर–कोषमा आधारित सीमा पनि समावेश छ । यस आधारमा कम्पनीको समग्र गियरिङ अनुपात ०.८८ गुणा पुगेको छ, जुन अघिल्लो वर्षको ०.८३ गुणाको तुलनामा केही उच्च हो । उक्त गैर–कोषमा आधारित सीमा नासाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई उपलब्ध गराएको बैंक ग्यारेन्टीसँग सम्बन्धित रहेको बताइएको छ । नासा सेक्युरिटिजले पछिल्ला वर्षहरूमा खरिद–बिक्री कारोबार रकम (टर्नओभर) का आधारमा ६ प्रतिशतभन्दा बढी बजार हिस्सा कायम राख्दै इक्विटी सेयर ब्रोकिङ उद्योगमा आफूलाई अग्रणी कम्पनीका रूपमा स्थापित गरेको जनाएको छ । कम्पनीका अनुसार सन् २०२६ को अप्रिल मध्यसम्म यसको बजार हिस्सा ६.५० प्रतिशत पुगेको छ । कम्पनीको ग्राहक संरचना पनि यसको सबल पक्ष मानिएको छ । नासासँग ठूलो संख्यामा खुद्रा लगानीकर्ता आबद्ध छन् र ग्राहक आधार विभिन्न वर्गमा फैलिएको छ । यसले सीमित ग्राहकमा निर्भरता कम गर्ने, ग्राहक एकाग्रता जोखिम घटाउने तथा व्यवसायलाई थप सन्तुलित बनाउने सकारात्मक प्रभाव पार्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार मार्जिन लेन्डिङ कारोबार विस्तार भएसँगै ब्रोकरेज आम्दानीबाहेक थप आयस्रोत सिर्जना हुने अपेक्षा गरिएको छ । यद्यपि, ब्रोकरेज आम्दानी मात्र होइन, मार्जिन ट्रेडिङ सुविधा अन्तर्गतको ब्याज आम्दानी पनि अन्ततः सेयर बजारकै प्रदर्शनमा निर्भर रहने भएकाले कम्पनीको समग्र आम्दानी पूर्ण रूपमा बजार जोखिमबाट अलग हुन सक्दैन । सेयर बजारमा कारोबार घट्नु, लगानीकर्ताको मनोबल कमजोर हुनु वा मूल्यमा तीव्र उतारचढाव आउनुले नासाको आम्दानी र नाफामा अस्थिरता ल्याउन सक्ने कम्पनीले जनाएको छ ।