निजीलाई भन्दा विद्यार्थी कोटा सरकारीलाई बढी दिने

काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ । आइतबार सिंहदरबारमा बसेको आयोगको बैठकले पिजी अध्ययनका लागि विद्यार्थीको कोटा निर्धारण गरेको हो ।  बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बैठकमा पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थी कुन कलेजलाई कति सिट दिने भन्नेबारे छलफल भएको बताए । सरकारी क्याम्पसलाई एक हजार भन्दा बढी र निजीलाई एक हजार भन्दा केही कम दिनेगरी विभाजन गरिएको उनको भनाइ छ । सरकारको यस निर्णयबारे सबै खुशी रहेको बताए ।  उनले भने, ‘चिकित्सा शिक्षा आयोगको बैठकमा पोस्ट ग्रेजुएट पढ्ने विद्यार्थीहरुको कुन कलेजलाई कति सिट दिने भन्नेकुरामा छलफल भयो । करिव सरकारी कलेजलाई हजार भन्दा अलि बढी र निजीलाई हजार भन्दा अलिकति कम सिट विभाजन गरिएको छ ।’ आइतबार आयोगका अध्यक्ष समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शिक्षा आयोगको बैठक बसेको हो ।

सोमबारदेखि पुनः सञ्चालनमा आउँदै चन्द्रागिरी केबलकार

काठमाडौं । राजधानीमा सञ्चालित चन्द्रागिरि केबलकार सेवा सोमबार (भोलि)देखि पुनः सञ्चालनमा आउने भएको छ । केही समयदेखि निर्माणाधीन तथा मर्मतसम्भारका कारण बन्द रहेको उक्त सेवा अब नियमित रूपमा सञ्चालनमा आउन लागेको हो ।  केबलकार सञ्चालक समिति सचिव झलक शर्माका अनुसार सोमबार बिहान ८ बजेदेखि यात्रुहरूका लागि नियमित सेवा उपलब्ध हुनेछ । भाडादरमा भने कुनै परिवर्तन गरिएको छैन । पहिलेकै ८ सय २५ रुपैयाँ भाडा कायम गरिएको उनले जानकारी दिए ।  यद्यपि, विद्यार्थीहरूका लागि भने २५ प्रतिशत छुटको व्यवस्था यथावत राखिएको छ ।  तत्कालका लागि अन्य कुनै नयाँ छुट वा विशेष अफरहरू नभएको उनको भनाइ छ। मंसिर १५ गते सोमबार एक दिनका लागि केबलकार टिकटमा २५ प्रतिशत छुट सुविधाको व्यवस्थासमेत गरिएको छ । आगामी दिनमा नयाँ योजनाहरू ल्याउन सकिने विषयमा छलफल गरिने सचिव शर्माले बताए ।  कम्पनीका अनुसार सञ्चालन प्रणाली (प्यानल बोर्ड) मा समस्या देखिएपछि सेवा अनिश्चितकालका लागि स्थगित गरिएको थियो । गत भदौ २४ गते केबलकारमा तोडफोड भएपछि केबलकार बन्द भएको थियो । केबलकारमा पुर्ननिर्माण भएर कात्तिक २२ र २३ गते सञ्चालनमा आएको थियो ।  सचिव शर्माले विकासन्युजसँग भने, ‘प्यानल बोर्डमा धुलो जम्मा भई प्रणालीमा समस्या आएको थियो । यसलाई समाधान गर्न अस्ट्रियाबाट आवश्यक पार्टपुर्जा मगाइएको छ र सबै काम सकेर भोलिबाट केबलकार सञ्चालनमा आउँछ ।’ सेवा नियमित सञ्चालनमा आउनु अघि रोकिएको निर्माण कार्य सम्पन्न भइसकेको र अब सेवा सुचारु गर्न कुनै प्राविधिक समस्या नरहेको जानकारी गराइएको छ ।

प्रीमियर स्कुल र इम्बार्क अनम्याथको एनपिएल थीम भएको गणित अक्शन आयोजना

काठमाडौं । इम्बार्क अनम्याथले प्रिमियर इन्टरनेशनल आइबी कन्टिन्यूम स्कुलसँगको साझेदारीमा कात्तिक ६ गते (नोभेम्बर २१) एक नवीन सिकाइ–केन्द्रित गणित सत्र आयोजना गर्यो । कार्यक्रममा विद्यार्थीहरूले हाल चलिरहेको नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ बाट प्रेरित लाइभ मोक क्रिकेट ‘अक्शन’मा सहभागी हुँदै खेलकुदको रोमाञ्चलाई रणनीतिका साथ गणितीय सिकाइसँग जोड्ने अनुभव पाए । उक्त गतिविधिले विद्यार्थीहरूलाई गणितका अवधारणाहरू वास्तविक परिस्थितिमा कसरी प्रयोग हुन्छ भन्ने अनुभव गरायो । सत्रमा ६० विद्यार्थी, तीन शिक्षक तथा चितवन राइनोजका विशेष अतिथि बिपिन आचार्य सहभागी थिए । आचार्यले अनलाइनमार्फत खेलाडी छान्ने रणनीतिबारे आफ्नो पेशागत अनुभव सुनाए । विद्यार्थीहरूले सांख्यिकीय विश्लेषण, बजेट व्यवस्थापन, सम्भाव्यता र रणनीतिगत योजना प्रयोग गरी निर्धारित रकमभित्र सन्तुलित टिम निर्माण गर्ने अभ्यास गरे । इम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठीजाले भने, 'हरेक फ्रेन्चाइज टिमका लागि खेलाडीको सही संख्या र सीपको राम्रो संयोजन मिलाउन गणित नै मुख्य आधार हो । गणित र रणनीतिक योजना बिना प्रभावकारी निर्णय लिन सकिँदैन । यही कुरा यो सत्रको मुख्य सन्देश हो ।' विद्यार्थीहरूले लाइभ अक्शनको दबाब र रोमाञ्चको बीचमा गणितका अवधारणाहरूमा सक्रिय रूपमा भाग लिए । एक विद्यार्थीले भने, 'हिसाबकिताब गरेर जोखिम कसरी लिनुपर्छ, कहाँ बुद्धिमानीपूर्वक लगानी गर्नुपर्छ र समूह तथा खेलाडीलाई प्रभावकारी रूपमा कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने सिक्यौँ । यो साँच्चिकै स्मरणीय अनुभव भयो ।' प्रीमियर इन्टरनेशनल स्कुलले अनुभव र खोजीमूलक सिकाइलाई जोड दिंदै वास्तविक जीवनमा लागू हुने ज्ञान, आलोचनात्मक सोच र विषयगत सम्बन्धमा ध्यान केन्द्रित गर्छ । यसले विद्यार्थीहरूलाई गणितमा मात्र दक्ष नभई दैनिक जीवनका जटिल समस्याहरू समाधान गर्न आवश्यक आत्मविश्वास र सीप पनि विकास गराउँछ । साझेदारी, व्यावहारिक परियोजना र विश्वव्यापी सिकाइका अवसरहरू मार्फत प्रीमियरले विद्यार्थीहरूलाई विश्लेषणात्मक, सहकार्य गर्न सक्ने र भविष्यका चुनौतीका लागि निरन्तर तयार पारिरहेको छ । २०१२ मा स्थापना भएको अनम्याथले विद्यालयमा गणित सिकाइको अनुभवलाई नयाँ ढंगले परिभाषित गर्दै आएको छ ।