काठमाडौं । नयाँ सरकार गठन भएसँगै सरकारी कार्यालयमा जनताका लागि सेवा चुस्त भएको दाबी गरे पनि कलंकीको मालपोतमा भने उस्तै अवस्था रहेको पाइएको छ । अन्य सरकारी कार्यालयको तुलनामा कलंकीको मालपोतमा भने भद्रगाेल अवस्था रहेको छ ।

विकासन्युजको टिम बुधबार कार्यालय पुग्दा सेवाग्राहीहरू घण्टौंदेखि लाइनमा बसेका थिए । कार्यालयमा सहजीकरण गर्नका लागि कोही नभएकाले र सर्भर डाउनको समस्याले घण्टौं लाइन बस्नु परेको हो ।
सेवाग्राही रुद्र महर्जन रास्वपाका नेताहरूले भनेजसरी काम नभएको र बिहानदेखि लाइनमा बस्दा पनि काम नसकिएको गुनासो गरे ।
त्यस्तै, दोलखाका विजय श्रेष्ठले चार घण्टा लाइन बसेर काम सकेको बताए । विशेषगरी सर्भरको समस्याले हैरान पारेको उनको भनाइ छ ।

‘नयाँ सरकार आएर बिचौलियाको रजगज कम भएको देखियो तर कार्यालयमा सर्भरको समस्याले भने सारै दिक्क लगायो । कार्यालयमा कुनै कुरा पनि सिस्टममा नभएकाले सेवाग्राहीले धेरै दुःख पाएका छन्,’ उनले भने ।
सरकारी कार्यालयमा सहजीकरणको व्यवस्था नहुँदा सेवाग्राहीहरू अलमलमा परेको उनको भनाइ छ ।
त्यस्तै, अर्का सेवाग्राही विष्णु चापागाईं पहिलाको तुलनामा केही सजिलो त भएको तर जति परिवर्तन हुनुपर्ने हो त्यो भने नभएको बताउँछन् ।

अमोनकुमार डंगोल पनि सर्भरको समस्याले लाइनमा बस्नुपर्ने बाध्यता रहेको बताउँछन् ।
हरेक सरकारी कार्यालयमा सर्भरको समस्या हुने बताउँदै उनी यसमा पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिन्छन् ।
सेवाग्राही बद्री अर्याल पहिलाको तुलनामा कम समयमा काम भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा आएको जस्तो अवस्था भने नरहेको बताए ।
‘पहिला दिनभरि लाग्ने काम अहिले चार पाँच घण्टामा हुन्छ । तर कार्यालयको समस्या र सर्भरको समस्याले गर्दा अझै ढिलासुस्ती भएको छ । जति व्यवस्थित हुनुपर्ने हो त्यति अझै व्यवस्थित हुन सकेको छैन,’ उनले भने ।
अर्याल सरकारले सरकारी कार्यालयहरूलाई पूर्णरूपमा डिजिटल बनाउनुपर्नेमा जोड दिन्छन् ।
उनी सरकारी कार्यालयमा कहाँ के गर्नुपर्छ भन्ने थाहा पाए सजिलै काम हुनेमा जोड दिन्छन् । हरेक कार्यालयमा सहजीकरणको व्यवस्था हुनुपर्ने उनी बताउँछन् ।

‘पढेलेखेका भनेर हुँदैन, कहाँनेर के काम गर्ने भन्ने जान्नुपर्दछ, सरकारी कार्यालयमा सहजीकरणको व्यवस्था भयो भने धेरै सेवाग्राहीलाई सजिलो हुने थियो,’ उनले भने।
कार्यालय प्रमुख रबिन ढकाल जेनजी आन्दोलनका क्रममा जलेको कार्यालयबाटै सेवा प्रवाह भइरहेकाले केही ढिला भएको स्वीकार्छन् ।

उनले भने, ‘पहिला हामीले पाँच तलाबाट सेवा दिँदै आएकोमा अहिले तीन तलाबाट सेवा प्रवाह गरिरहेका छौं, त्यसैले पनि केही ढिलासुस्ती भएको हो ।’
आगामी असारसम्म कार्यालयको पुनः निर्माण सम्पन्न हुने उनले जानकारी दिए ।
ढकाल मालपोत कार्यालयलाई पूर्ण रूपमा डिजिटल बनाउन आवश्यक रहेको र यसका लागि सरकारले पहल गर्नुपर्ने बताउँछन् ।