नेपाल एसबिआई बैंकले विराट बहिरा माध्यमिक विद्यालयमा गर्यो साढे २ लाख सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिराटनगरको कोचाखालस्थित विराट बहिरा माध्यमिक विद्यालयमा डिप बोरिङ जडान गर्ने उद्देश्यले २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । यस पहलले विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई सहज खानेपानीको व्यवस्थापन सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । उक्त कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मिना जोशी र प्रधानाध्यापक मिनु अधिकारी दाहाललाई संयुक्त रूपमा सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, कोशी प्रदेश प्रमुख श्रीधर अधिकारी लगायत बैंक तथा विद्यालयका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो । नेपाल एसबिआई बैंकले शिक्षा क्षेत्रमा यस प्रकारका सामाजिक उत्तरदायित्व कार्यक्रमहरू समय समयमा गर्दै आइरहेको छ ।
आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न, ५३५ विद्यार्थी दीक्षित
काठमाडौं । बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयसँग सम्बन्धनप्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ । काठमाडौंस्थित सोाल्टी होटलमा आयोजित उक्त समारोह नेपालका लागि बेलायती उपराजदूत डा. लुक बोमोन्ट, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, सन्डरल्याण्ड विश्वविद्यालयका उच्च अधिकारी तथा अभिभावकहरूको उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न भएको हो । समारोहमार्फत बीबीए, बीएचएम, बीएससी.आईटी (सीएसई) गरी कुल ५३५ जना विद्यार्थी दीक्षित भएका छन् । कार्यक्रममा उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई सन्डरल्याण्ड विश्वविद्यालयले विशेष अवार्ड प्रदान गरेको कलेजले जनाएको छ । त्यस्तै, उत्कृष्ट विद्यार्थीहरुलाई आईएसएमटी समूहका विभिन्न क्याम्पसहरूमा स्नातकोत्तर तहका कार्यक्रम अध्ययन गर्न १०० प्रतिशत छात्रवृत्तिसमेत प्रदान गरिएको छ । आईएसएमटी समूहले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा बीबीए, बीएचम,बीएससी।आईटी, साइबर सेक्युरिटी र डिजिटल फरेन्सिक, एमबीए लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नोभेम्बरमा भित्रिए १ लाख १६ हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार
काठमाडौं । सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो। जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी, क्रमश: संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९, बंगलादेशबाट ५ हजार ६५३, अष्ट्रेलियाबाट ५ हजार ३९३, श्रीलंकाबाट ४ हजार ८३१, म्यानमारबाट ४ हजार ४८४, फ्रान्सबाट ४ हजार २११ र जर्मनीबाट ४ हजार १३४ पर्यटक भित्रिएका छन् । क्षेत्रगत रूपमा दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, एसियाली अन्य मुलुकबाट २८ हजार ६१३, युरोपबाट ५ हजार ८९१, अमेरिकाबाट १३ हजार ६७८, मध्यपूर्वी मुलुकबाट १ हजार ८०२, अफ्रिकाबाट ४१२ र अन्य मुलुकबाट ६ हजार २६९ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २०२५ को पछिल्लो ११ महिना जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९ पर्यटक भित्रिएका छन् । यस वर्षको अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो महिनालाई मुख्य पर्यटकीय याम मानिन्छ । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने अगष्टमा ८८ हजार ६८० पर्यटक भित्रिएका थिए ।