श्री एयरलाइन्सले बंगलादेश र भारतमा उडान भर्ने
काठमाडौं । श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले उक्त विमानलाई अन्तर्राष्ट्रिय उडान गर्न अनुमति दिएको हो । श्री एयरलाइन्सले भारत र बंगलादेशमा उडान गर्न अनुमति पाएको हो । भारतको डिल्ली र कलकताको लागि उडान अनुमति पाएको नागरिक उड्यन प्राधिकरणले जनाएकाे छ । क्यानका अनुसार एयलाइन्सले गत शुक्रबार अन्तर्राष्ट्रिय उडान भर्ने अनुमति पाएको हो । त्यसैगरी बंगलादेशको ढाकामा उडान अनुमति पाएको हो । भारत सरकार र बंगलादेशले उडान अनुमति दिएपछि विमानले आफ्नो उडान तालिका सार्वजनिक गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । नेपालमा रहेका चार एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका छन् । नेपाल वायुसेवा निगम, हिमालयन एयरलाइन्स, बुद्ध एयरलाइन्स र श्री एयरलाइन्सले उडान भर्ने छन् । आन्तरिक उडान भर्ने एयरलाइन्समा बुद्ध एयरले यसअघि अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको छ । बुद्ध एयरलाइन्सले भारतको वणारस र पटनामा उडान भर्न अनुमति पाइसकेको छ ।
पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
गण्डकी । प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले भने पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । बन्दीपुर विगतमा मोटरबाटोको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लमजुङ, गोरखा र मनाङबाट सामान ल्याएर बिक्री गर्ने प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित थियो । तनहुँको सदरमुकामसमेत रहेको यहाँबाट २०२५ सालमा सदरमुकाम दमौली सारिएसँगै यसले व्यापारिक नाकाको पहिचान बदलेर पर्यटकीय गन्तव्यका रुपमा परिणत भएको हो । यहाँको सांस्कृतिक सम्पदा एवं प्राकृतिक मनोरमताले पर्यटकीय महत्त्वलाई झनै बढाएको छ । बन्दीपुरको भूदृश्यले तत्कालीन राजा महेन्द्रलाई पनि आकर्षित गरेको थियो । उनले त्यस समयमा नै बन्दीपुरलाई पहाडकी रानी उपमा दिएका थिए । बन्दीपुरमा रहेका प्राचीन शैलीका घर तथा बस्तीसँगै वरपरका रमणीय दृश्य, खड्गदेवी माई, टुँडिखेल आदिले यहाँको आकर्षण बढाएको छ । मस्र्याङ्दी नदी तरेर बन्दीपुर जाने उकालो बाटोको चर्चा गर्दै मबिबि शाहको लेखन र तारादेवीद्वारा गाइएको 'बन्दीपुरे उकाली लामो, मस्र्याङ्दी डुङ्गाले तरेर...' गीत अहिले पनि गुनगुनाउने गरिन्छ । बन्दीपुरको महिमा र गरिमालाई प्रवर्द्धन गर्न पछिल्लो समय विभिन्न पहल हुँदै आएको छ । गाउँ पर्यटनको नमूना गन्तव्यजस्तै रहेको बन्दीपुरमा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सहआयोजनामा यही वैशाख १८ र १९ गते गाउँ पर्यटन मेला आयोजना गर्न लागिएको छ । बन्दीपुरमा पहिलो पटक प्रदेशस्तरीय ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए । बन्दीपुर गाउँपालिकाले ‘बन्दीपुर गाउँ पर्यटन भ्रमण वर्ष’ घोषणा गरेको सन्दर्भसमेत पारेर पर्यटन मेला गर्न लागिएको हो । 'मेलाको मुख्य उद्देश्य गाउँका साना पर्यटन व्यवसायी र समुदायिक घरवास (होमस्टे)लाई सिधै सहरी बजार र ठूला एजेन्सीहरुसँग जोड्ने प्लेटफर्मको रुपमा विकास गर्ने हो', उनले भने, 'मेलामार्फत होमस्टे र त्यहाँबाट दिने सेवालाई बजारसँग जोड्ने, गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।' मेलामा प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधित्व गराउने पहल भइरहेको छ । उनले पर्यटन लक्षित कार्यक्रम पोखरामा मात्रै केन्द्रित नगरी प्रदेशका अन्यस्थानमा पुर्याउने योजना रहेको पनि बताए । मेलामा बन्दीपुरको पर्यटनका विषयमा सामूहिक छलफल गरिने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । 'गाउँ पर्यटनबाट समृद्धिको यात्रा, विभिन्न जातजातिको संस्कृतिक प्रस्तुति एवं प्रवर्द्धन, सामुदायिक घरवास तथा पर्यटन व्यवसायीका प्रवर्द्धनात्मक कक्षहरु मेलामा स्थापना गरिनेछ', उनले भने, 'उक्त क्रममा यहाँका पर्यटन लक्षित सूचना तथा प्रचार सामग्री वितरणसँगै पर्यटकीय आकर्षणका विविध पक्षलाई उजागर गरिनेछ ।' बन्दीपुर र व्यास नगरपालिकालाई जोडेर ‘होमस्टे सर्किट निर्माण’ प्रक्रिया अगाडि बढाइएको छ । अध्यक्ष थापाका अनुसार यस सर्किटमा बन्दीपुर–२ को मोहोरिया, रामकोट, व्यास–१४ कुलुङ, केशवटार, रुम्सी, बन्दीपुर–६ धरमपानी, व्यास–१२ कमलाबारी, बन्दीपुर–५ कोरिखा, बन्दीपुर सामुदायिक होमस्टे, बन्दीपुरको धरमपानी होमस्टे, ऐतिहासिक हुस्लाङकोट गढी, कमलाबारी, कोरिखा र बन्दीपुर सामुदायिक होमस्टेलगायत समेटिएका छन् । बन्दीपुरको पर्यटन क्षेत्रमा छ अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको बताउँदै अध्यक्ष थापाले भ्रमण वर्ष २०२५ मा बन्दीपुरमा स्वदेशी तथा विदेशी गरी छ लाख २५ हजार पर्यटक आएको जानकारी गराए । यस वर्ष ग्रामीण पर्यटन बन्दीपुर भ्रमण वर्ष २०२६ मा सात लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । बन्दीपुर क्षेत्रका रामकोट, धरमपानी र कोरिखा होमस्टेलाई नमूना पर्यटकीय गाउँका रुपमा विकास गर्न लागिएको अध्यक्ष थापाले बताए । बन्दीपुर क्षेत्रमा मात्र सात वटा व्यावसायिक घरबास सञ्चालनमा छन् । मेलासँगै यहाँको अर्गानिक खाना, रैथाने अन्नबाली, परम्परागत कला संस्कृतिको समेत प्रवर्द्धन एवं संरक्षण हुने स्थानीयवासीको विश्वास छ । मेलामार्फत समग्र गण्डकी प्रदेशको गाउँ पर्यटनको प्रवर्द्धन र विकासको लक्ष्य राखिएको गाउँ पर्यटन प्रवर्द्धन मञ्च ९भिटोफ० गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले बताए । गण्डकी प्रदेशभित्र ५० भन्दा बढी होमस्टे सञ्चालन भइरहेका छन् । उनले यस्ता कार्यक्रममार्फत होमस्टेहरूबीचको पर्यटकीय साझेदारीमा समेत फाइदा पुग्ने विश्वास लिइएको बताए । 'कार्यक्रममार्फत होमस्टेबीच अनुभव आदानप्रदान, व्यवसायिक साझोदारीमा पनि महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेका छौँ', उनले भने, 'सरकारले हप्तामा दुई दिन बिदाको व्यवस्था गरेकाले पनि गाउँ पर्यटनमा सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।' गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले विगत लामो समयदेखि गण्डकी प्रदेशका सम्भावना युक्त घरवासहरूको प्रवर्द्धनमा काम गरिहेको भिटोफ गण्डकीका संस्थापक अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । गण्डकी प्रदेशका हरेक गाउँहरू पर्यटकीय गन्तव्यका रुपमा रहेको बताउँदै उहाँले तिनीहरूको पर्यटकीय उपयोगको आवश्यकता औँल्याए । रासस
काभ्रेपलाञ्चोकमा वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको सरकारी वन क्षेत्रमा ‘जडीबुटी’को प्रचुर सम्भावना रहेको देखिएको छ । हाल यहाँको एक लाख ४० हजार किलोसम्म जडीबुटी सङ्कलन गर्न सकिने डिभिजन वन कार्यालय धुलिखेलको तथ्याङ्कले देखाएको छ । वन नियमावलीअनुसार तोकिएका जडीबुटी अनुमति लिएर सङ्कलन गर्न सकिने भए तापनि हालसम्म कसैले चासो नदिँदा बहुमूल्य जडीबुटी खेर गएको हो । कार्यालयको रणनीतिक कार्ययोजनाअनुसार सरकारी वन क्षेत्रबाट ३१ प्रकारका जडीबुटी सङ्कलन गर्न सकिने उल्लेख छ । यस वर्ष पाँच–औँले तीन हजार छ किलो, वन लसुन एक हजार २००, सतुवा एक हजार ६५०, पाखनवेद सात हजार ५००, जटामसी चार हजार ५००, पाषणवेद तीन हजार किलो सङ्कलन गर्न सकिने कार्यालयले छ । यसैगरी कुरिलो एक हजार पाँच किलोग्राम, ठूलो ओखती दुई हजार २५०, मजिठो एक हजार ५००, सुगन्धवाल एक हजार ५००, बुहारीझार छ हजार, निमपात तीन हजार किलोग्राम सङ्कलन गर्न सकिने कार्यालयका सूचना अधिकारी वन अधिकृत सरिता लामाले जानकारी दिए । उनका अनुसार धसिङगरे छ हजार किलोग्राम, तितेपाती दुई हजार ८००, गुर्जो एक हजार ६००, कालीकाठ १५ हजार, बेल तीन हजार, अमला एक हजार ७६०, सिलटीमुर सात हजार ५०० किलो सङ्कलन गर्न सकिनेछ । त्यसैगरी कण्ठकारी ८०० किलोग्राम, हर्रो एक हजार २००, बर्रो एक हजार ६००, पिपला १२ हजार, बनकरेला दुई हजार, नुनढिकी एक हजार ७५०, काफल आठ हजार, काउलो ६००, सिस्नु सात हजार दुई, चिराइतो १५ हजार र कुकुरडाइनो दुई हजार किलो सङ्कलन गर्न सकिने छ । जिल्लामा ५८४ सामुदायिक वन, ४६० कबुलियति वन, एक धार्मिक वन तथा १२ निजी (दर्ता) वन रहेका छन् । रासस