मानसिक स्वास्थ्यलाई सहयोग गर्ने यी पाँच जीवनशैली

काठमाडौं । मानसिक स्वास्थ्य सुधार गर्ने उपाय भनेको स्वस्थ जीवनशैलीका छनोटहरू अपनाउनु हो । दैनिक जीवनमा स्वस्थ बानीहरू विकास गर्दा सकारात्मक सम्बन्ध निर्माण गर्न र चुनौतीहरू सामना गर्न सहयोग पुग्छ ।  व्यायामले शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यलाई पनि फाइदा गर्छ ।  नियमित व्यायाम वा शारीरिक गतिविधिले डिप्रेसन र एन्जायटीका भावना कम गर्न मद्दत गर्छ । यसले निद्राको गुणस्तर सुधार्नुका साथै समग्र भावनात्मक स्वास्थ्य पनि राम्रो बनाउँछ । मानसिक स्वास्थ्यमा सहयोग पु¥याउने शारीरिक गतिविधिहरू केके हुन्, आउनुहोस् यसबारेमा छलफल गरौं । नियमित व्यायाम दौडिनु, पौडी खेल्नु, साइकल चलाउनु, हिँडडुल गर्नु, बगैंचामा काम गर्नु शरीरका लागि फाइदाजनक काम हुन् । यदि समय मिल्यो भने नृत्य गर्दा अझ राम्रो हुन्छ । विशेषज्ञहरूले यसको लाभ महसुस गर्न हप्तामा १५० मिनेट एरोबिक व्यायाम गर्न सिफारिस गर्छन् स्वस्थ आहार स्वस्थ रहने आहार सन्तुलित आहार हो । कहिलेकाहीँ मिठाइँ वा फुर्सदको परिकार खानेले धेरै हानि गर्दैन । तर चिनी र बोसो बढी भएका खानाहरू धेरै मात्रामा खाने हो भने स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । मेन्टल हेल्थ फाउण्डेशनले विविधतापूर्ण आहार खान सिफारिस गरेको छ । जसमा अन्नका रोटी र दाना, बीज र स–साना दाना (नट्स, सीड) जस्ता खानेकुराहरू खानुपर्छ । गुणस्तरीय निद्रा गुणस्तरीय निद्राले भावनात्मक नियन्त्रण, संज्ञानात्मक क्षमता र मानसिक स्वास्थ्यलाई फाइदा गर्दछ । राम्रो निद्रा लाग्ने बानी विकास गर्दा तपाईंको मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्छ । हरेक दिन एकै समयमा सुत्ने र उठ्ने बानी बसाल्नुपर्छ । यदि तपाईं हरेक रात ७–८ घण्टा निद्रा पाउन सक्नुहुन्छ भने तपाईंको मन र शरीर दुवैलाई फाइदा हुन्छ । सामाजिक सम्बन्ध मानसिक रूपमा स्वस्थ हुनको लागि सामाजिक सम्बन्ध दृढ हुनुपर्छ । यसबाट धेरै लाभहरू हुन्छन् । परिवार र साथीहरूसँगको सामाजिक सम्बन्धले चिन्ता र डिप्रेसन कम गर्न मद्दत गर्छ । यसले आत्मसम्मान बढाउने र सहानुभूति विकास गर्ने काम गर्छ, सम्बन्धहरूमा विश्वास र सहकार्य बढ्छ  । दृढ र सकारात्मक सम्बन्धहरूले तपाईंलाई खुसी र सन्तुष्ट महसुस गराउन सक्छ ।  माइन्डफुलनेस अभ्यास माइन्डफुलनेस वा ध्यानले चिन्ता र डिप्रेसन कम गर्न मद्दत गर्छ  । साथै स्वस्थ बानीहरू विकास गर्न पनि प्रेरित गर्छ । दिनको १० मिनेट मात्र अभ्यास गर्नाले पनि धेरै फाइदा हुन्छ । माइन्डफुलनेसले भावनाहरू व्यवस्थापन गर्न र सकारात्मक दृष्टिकोण निर्माण गर्न पनि सहयोग पुर्‍याउँछ ।  

धनगढीमा २ अर्ब २० करोड लगानीमा पाँचतारे ‘होलिडे इन आईएचजी’ निर्माण हुँदै

काठमाडौं । धनगढीमा पाँचतारे होटल ‘होलिडे इन आईएचजी’ निर्माण हुने भएको छ । मंगलबार उक्त होटलको व्यवस्थापनसम्बन्धी होटल इन आईएजी र क्लब चौलानीबीच सम्झौता भएको छ ।  सम्भौता पत्रमा क्लब चौलानीको तर्फबाट डा. राजेन्द्र केसी र आइएचजीको तर्फबाट दक्षिण एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन् ।  अध्यक्ष केसीका अनुसार धनगढीमा निर्माण हुन लागेको उक्त होटल सुदूरपश्चिम प्रदेशकै अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गतको पहिलो पाँचतारे होटल हुने छ । उनका अनुसार होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन् ।  त्यस्तै, १८ हजार ५ सय वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने भव्य ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहुपरिकार रेष्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित आधुनिक फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्षहरू तथा विशेष निजी डाइनिङ सुविधा समावेश रहनेछन् । परियोजनाको कुल लगानी २ अर्ब २० करोड रहेको छ । जसमा ६५ प्रतिशत अर्थात १ अर्ब ४३ करोड रुपैयाँ बैंक ऋण र ३५ प्रतिशत अर्थात ७७ करोड प्रवद्धकहरूको स्व–पूँजीमार्फत व्यवस्थापन गरिने होटलले जनाएको छ । होटल २०८४ को सुरुबाट सञ्चालनमा आउने तयारी छ । आवास, व्यवसायिक पर्यटन र अन्तर्राष्ट्रिय ब्रान्डेड आतिथ्य सेवाको नयाँ युगको सुरुआतका रूपमा लिइएको । यसले स्थानीय रोजगारी सिर्जना गर्दै क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने क्लब चौलानीका सीए दीपक पाण्डेले बताए । पाण्डेका अनुसार होटल सञ्चालनपछि २ सय जना स्टाफ, ५ सय क्यासिनो कर्मचारी गरी ७ सयले रोजगारी पाउनेछन् । धनगढी प्राकृतिक सौन्दर्य, धार्मिक–सांस्कृतिक सम्पदा, जैविक विविधता र आतिथ्यताले सम्पन्न क्षेत्र हो । भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख सहरहरूसँग नजिक रहेको यो सीमावर्ती सहरले ठूलो संख्यामा भारतीय पर्यटकको आकर्षण गर्ने सम्भावना बोकेको छ ।  धनगढी सुदूरपश्चिमका ७ जिल्लाको प्रमुख जङ्सनको रूपमा विकसित हुँदै गएको छ । महेन्द्रनगर नजिक तथा धनगढी विमानस्थलबाट करिब ८ किलोमिटर दूरीमा अवस्थित छ ।

ट्रेकिङ अनुमति शुल्कमा सरकारको ठूलो सुधार, अब प्रतिदिन ५० डलर मात्र

काठमाडौं । नेपाल सरकारले विदेशी पर्यटकका लागि लाग्दै आएको पदयात्रा (ट्रेकिङ) अनुमति दस्तुरमा महत्त्वपूर्ण परिवर्तन गरेको छ ।  मन्त्रिपरिषद्‌को निर्णयअनुसार अध्यागमन नियमावली, २०५१ संशोधन गर्दै हालसम्म लागू रहेको पहिलो १० दिनका लागि प्रतिव्यक्ति ५०० अमेरिकी डलर र त्यसपछि प्रतिदिन ५० डलर लिने व्यवस्था हटाइएको छ । नयाँ व्यवस्थाअनुसार अब विदेशी पर्यटकले पदयात्रा अनुमति लिन प्रतिदिन प्रतिव्यक्ति ५० अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा मात्र तिर्नुपर्नेछ । यो निर्णय नियमावलीको अनुसूची–१२ अन्तर्गत पदयात्रा अनुमति दस्तुरसम्बन्धी व्यवस्था हेरफेर गर्दै कार्यान्वयनमा ल्याइएको हो । सरकारले यस कदमलाई पर्यटनमैत्री सुधारका रूपमा प्रस्तुत गरेको छ । यसले विदेशी पर्यटकलाई राहत दिने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायीहरूका अनुसार पुरानो संरचनाले छोटो समयका पर्यटकलाई निरुत्साहित गर्दै आएको थियो । अब दैनिक दर प्रणाली लागू भएपछि लचिलो यात्रा योजना, लामो बसाइ र पर्यटक संख्या वृद्धि हुने विश्वास गरिएको छ । सरकारको यो निर्णयले विशेषगरी अन्नपूर्ण, सगरमाथा, लाङटाङलगायत प्रमुख पदयात्रा मार्गमा पर्यटन गतिविधि बढाउने र स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ।