नोबेल कलेजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

काठमाडौं । काठमाडौंको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीको जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ र करिब २८.५७ प्रतिशत सेयर आईपीओमार्फत सर्वसाधारणलाई उपलब्ध गराइनेछ । संस्थापक समूहसँग करिब ७१.४३ प्रतिशत सेयर कायम रहनेछ । नोबेल कलेज, फ्रन्टलाइन ब्राण्ड अन्तर्गत काठमाण्डौंको पुरानो बानेश्वरमा संचालित छ । हालको अस्पतालको क्षमता १०० शैया रहेको छ र विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आएको छ । थप सेवा विस्तारका लागि निर्माणको चरणमा रहेको २०० शैया क्षमताको नयाँ अस्पताल, जनरल र क्यान्सर रोगलाई मध्यनजर गर्दै बनाइने छ । कम्पनी अध्यक्ष नवराज पाण्डेका अनुसार यसका लागि थप पूँजी आवश्यक भएकाले आईपीओमा जाने निर्णय गरिएको हो । अस्पतालले स्नातक तहका विद्यार्थीका लागि नर्सिङ र फार्मेसी लगायतका शैक्षिक कार्यक्रम पनि संचालन गर्दै आएको छ ।  सोमबार भएको सम्झौतामा नोबेल कलेजको तर्फबाट अध्यक्ष नवराज पाण्डे र नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

माछापुच्छ्रे बैंक र स्मार्ट पेबीच रेमिट्यान्स सम्झौता, युरोपबाट सजिलै रकम पठाउन सकिने

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल र विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले साइप्रसस्थित स्मार्ट पेसँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ । बैंकले साइप्रस, ग्रीस, पोर्चुगल र अन्य युरोपेली देशबाट नेपालीहरुलाई नेपालमा सजिलै रेमिट्यान्स पठाउन सक्ने वातावरण बनाउन स्मार्ट पेसँग सहकार्य गर्दै रेमिट्यान्स सेवाको सुरुवात गरेको हो । सम्झौतापत्रमा स्मार्ट पेको तर्फबाट मुख्य सञ्चालन अधिकारी स्टेफनी इसाबेल हेराक्लिओस र  बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार युरोपेली देशमा रहेका नेपालीहरुले स्मार्ट पेका सबै प्रतिनिधि कार्यालय, मोबाइल एप र अनलाइन सेवाहरू मार्फत बैंकमा सजिलै रेमिट गर्न सक्नेछन् । पठाइएको रकम नेपालभित्र बैंकका १६५ शाखा, शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउण्टर र २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ । साथै, स्मार्ट पे र माछापुच्छ्रे बैंक मार्फत पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ ।

टेलिकमले विद्यार्थीका लागि एनटी फाइबर अफर सुरू गर्यो, माघ २२ सम्म आवेदन खुला

काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ उपलब्ध गराइरहेको छ । यो अफर आगामी माघ २२ गतेसम्म आवेदन गर्न सकिनेछ र विशेष गरी विद्यार्थीहरूका लागि मात्र मान्य छ । एनटी फाइबर विद्यार्थी अफर अन्तर्गत विद्यार्थीहरूले ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्षसम्म पाउनेछन् । यसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र रहेको छ । प्रतिदिन २५ जीबी डाटा उपलब्ध हुनेछ र यसको सीमाभन्दा बढी डाटा प्रयोग भएमा स्पिड ५ एमबीपीएस हुने व्यवस्था गरिएको छ । जडान शुल्क ५०० रुपैयाँ लाग्नेछ भने प्रत्येक विद्यार्थीले ड्युअल ब्यान्ड सीपीई र १०० मिटरसम्म ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । अफर लिनका लागि विद्यार्थीहरूले १९८ नम्बरमा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकम कार्यालयमा गएर आवेदन दिनुपर्नेछ । यसका लागि जन्म दर्ता वा नागरिकता प्रमाणपत्र, विद्यार्थी परिचय पत्र अनिवार्य पेश गर्नुपर्छ । नाबालिगका हकमा अभिभावकको नागरिकता वा पासपोर्टको प्रतिलिपि पनि आवश्यक छ । यो अफरको समयावधि सकिएपछि पुनः नवीकरण गर्न मिल्ने छैन । सेवा निरन्तरता चाहने विद्यार्थीले साविकका प्याकेजहरूबाट विकल्प छनोट गर्नु पर्नेछ वा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ । प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार यो अफर विद्यार्थीहरूका लागि उपयोगी रहेको छ र समयमै आवेदन दिन सबै विद्यार्थीहरूलाई आग्रह गरिएको छ ।