काठमाडौं । नेपालमा डिजिटल मनोरञ्जन क्षेत्रलाई थप सुदृढ बनाउने उद्देश्यसहित ‘डिजो ओटीटी’ले आफ्नो सेवा विस्तारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको जनाएको छ । कम्पनीले आधिकारिक रूपमा विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार प्राप्त गर्दै डिजिटल सामग्री वितरणमा नयाँ उपलब्धि हासिल गरेको हो ।
डिजिटल प्लेटफर्ममार्फत चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद तथा विविध मनोरञ्जन सामग्री दर्शकमाझ सहज रूपमा उपलब्ध गराउँदै आएको कम्पनीले अब अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थितिलाई बलियो बनाउने लक्ष्य लिएको जनाएको छ ।
डिजो ओटीटी ‘डिजहोम डिजिटल प्रा.लि.’ अन्तर्गत सञ्चालनमा रहेको प्लेटफर्म हो। कम्पनीले नेपाल सरकार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत आवश्यक अनुमति प्राप्त गरी कानुनी रूपमा सेवा सञ्चालन गर्दै आएको स्पष्ट पारेको छ ।
कम्पनीका अनुसार अन्तर्राष्ट्रिय डिजिटल सामग्री वितरणका लागि आवश्यक मापदण्ड पूरा गर्दै यसले नेपाली डिजिटल मनोरञ्जन उद्योगलाई विश्व बजारसँग जोड्ने आधार तयार गरेको छ ।
आगामी दिनमा अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव तथा गुणस्तरीय सामग्रीमार्फत दर्शकलाई विश्वस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।