चर्चित होटल लिलामीमा, लगानी फिर्ता माग्दै दीपेन्द्र

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ मा रहेको भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा यतिबेला चर्चामा छ । प्रहरीले छापा हानेपछि र सीसीटिभी फुटेजसहित सामान जफत गरेपछि होटल पुनः चर्चामा आएको हो । चिन बहादुर रानाभाट, समीर कुमार नेपाल, छिरिङ शेर्पा र सुवास प्रधान लगायतको संयुक्त लगानीमा भोटेकोशी हेली रिसोर्ट विसं २०७९ मा सञ्चालनमा आएको हो । चीनको सीमाबाट करिब १४ किलोमिटर दूरीमा रहेको यो रिसोर्ट नेपाली तथा चिनियाँ पर्यटकलाई लक्षित गर्दै सञ्चालन गरिएको थियो । काठमाडौंबाट करिब २० मिनेटको हेलिकोप्टर उडान वा तीन घण्टाको सडक यात्रामार्फत पुग्न सकिने तथा चीनको खासाबाट करिब ४५ मिनेटको दूरीमा रहेको स्थानमा रहेको कारण यसलाई रणनीतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य थियो । तर, कोदारी राजमार्ग बाढी-पहिरोले प्रभावित भएपछि होटलको व्यवसायमा गम्भीर असर पर्याे । कम्पनीले नेपाल बैंकबाट ३२ करोड रुपैयाँ ऋण लिएको थियो । प्राकृतिक विपद् र व्यवसाय सुस्तताको कारण समयमै ऋण भुक्तानी गर्न नसकेपछि कम्पनी आर्थिक संकटमा फस्यो । होटलले समयमै बैंकको ऋण तिर्न सकेन । समयमा ऋण तिर्न नसकेपछि बैंकले २०८२ जेठमा पहिलाे पटक लिलाम बिक्रीमा राख्यो । होटल लिलामीमा राखेपछि सञ्चालकहरूले ऋण चुक्ता गर्न सेयर बिक्रीमा राखे । होटलमा रहेको आफ्नो सेयर बिक्री गरेर चिन वहादुर रानाभाट, समीर कुमार नेपाल, छिरिङ शेर्पा बाहिरिए । होटलको सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल र सुवास प्रधानले खरिद गरे । नयाँ सेयर संरचना अनुसार अग्रवालको ५५ प्रतिशतकाे सेयर स्वामित्व र सुवास प्रधानको ४५ प्रतिशत कायम भयो । तर, फेरि होटलले ऋण नियमित नगरेपछि बैंकले एक वर्षपछि अर्थात् गत जेठ १ गते पुनः लिलामीमा राखेको छ । बैंकको काठमाडौं बैंकिङ अफिसबाट कर्जा लिएको भोटेकोशी हेली रिसोर्टले साँवा, ब्याज नियमित नगरेपछि कर्जा लिँदा धितोमा राखेको जग्गा तथा जग्गाले चर्चेको सम्पत्ति लिलामीमा बिक्री प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ ।  बैंकको कर्जा असुली विभागले भोटेकोशी हेलीले लिएको व्यापारिक तथा चालु पुँजी कर्जाको साँवा-ब्याज लामो समयदेखि भुक्तानी नगरेपछि धितो लिलामी प्रक्रिया अघि बढाएको जनाएको छ । बैंकले ऋणी भोटेकोशी हेलीलाई असार ४ गतेसम्म कर्जा चुक्ता गर्न ताकेता गरेको छ । भोटेकोशी हेलीका पूर्वसञ्चालक छिरिङ शेर्पाले आफू उक्त व्यवसायबाट धेरैअघि नै बाहिरिसकेका स्पष्ट पारे । उनले आफू करिब डेढ वर्षअघि नै होटल छोडिसकेको र हाल कम्पनीको सञ्चालन, निर्णय वा वित्तीय दायित्वसँग कुनै सम्बन्ध नरहेको बताए । उनका अनुसार बैंकमा व्यक्तिगत जमानीकर्ता भएकै कारण नाम पुनः सूचनामा देखिएको हुनसक्छ । उनले भने, ‘म अहिले होटलमा छैन, मैले छोडेको डेढ वर्ष भइसक्यो । सेयर बेचिसकेपछि हामी बाहिरियौं ।’ उनका अनुसार होटलको सेयर अहिले दीपेन्द्र अग्रवाल र सुवास प्रधानको समूहमा गएको छ, जसमा ५५ प्रतिशत स्वामित्व अग्रवाल र ४५ प्रतिशत सुवास प्रधानको रहेको छ । शेर्पाले होटलले करिब ३२ करोड रुपैयाँ बैंक ऋण लिएको र नयाँ लगानीकर्ता आएपछि एक चरणमा करिब ७ करोड रुपैयाँ ऋण तिरेको बताए । उनले भने, ‘सेयर पास भएपछि ७ करोड रुपैयाँ तिरेका थिए, त्यसपछि के भयो भन्ने मलाई जानकारी छैन ।’ उनले व्यवसाय सञ्चालन कठिन भएपछि घाटा खाएर सेयर बिक्री गर्नुपरेको बताए । ‘हामीले चलाउन नसकेपछि घाटा खाएरै सेयर बेचेका हौं,’ उनले भने । लगानीकर्ता दीपेन्द्र अग्रवालले अहिले होटलको विषयमा आफू सक्रिय रूपमा संलग्न नरहेको र स्पष्ट जानकारी पनि नभएको बताए । अग्रवालका अनुसार आफूहरूले उक्त होटलको सेयर खरिद गरेको भए पनि हाल लगानी फिर्ता माग्ने अवस्थामा पुगेका छन् ।  उनले भने, ‘मसँग आइडिया भएन, म हेर्दिनँ, केही आइडिया छैन । हामीले सेयर किनेको हो, तर अब रकम फिर्ता मागिरहेका छौं ।’ उनले सेयर नामसारी प्रक्रिया पूरा नभएको कारण लगानी फिर्ता माग्न बाध्य भएको पनि बताए । ‘अब होटल नकिन्ने भयौं, हामीले पैसा फिर्ता मागेका छौं,’ उनले भने । 

गंगालाल हृदय केन्द्रमा कामना सेवा बैंकको निःशूल्क भोजन सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत गरिब तथा विपन्न बिरामी र उनीहरूका कुरुवाहरूलाई लक्षित गर्दै निःशुल्क पौष्टिक भोजन वितरण गरेको छ । अस्पतालमा उपचारका क्रममा आर्थिक तथा सामाजिक रूपमा कठिनाइ भोगिरहेका बिरामी र उनीहरूका कुरुवाहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । गरिब तथा विपन्न बिरामी तथा कुरुवाहरूका लागि आवश्यक पौष्टिक भोजनको अभावलाई मध्यनजर गर्दै बैंकले सहयोग गरेको हो । उक्त कार्यक्रम आरती भोजन परिवारसँगको सहकार्यमा सञ्चालन गरिएको हो । कार्यक्रममा बैंकका ब्राण्डिङ तथा सीएसआर प्रमुख सुशिल पौडेल तथा आरती भोजन परिवारका अध्यक्ष डा. बिनु बाबा अर्यालको उपस्थिति रहेको थियो । भोजन वितरण सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गरेकोमा अध्यक्ष अर्यालले बैंकप्रति धन्यवाद व्यक्त गरे । त्यसैगरी, गरिब तथा विपन्न बिरामी तथा उनीहरूका कुरुवाहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बैंकका ब्राण्डिङ तथा सीएसआर प्रमुख पौडेलले बताए । आरती भोजन परिवारले २०८१ साल मंसिर ३ गतेदेखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीका कुरुवाहरूलाई नियमित रूपमा निःशूल्क भोजन सेवा प्रदान गर्दै आएको छ । हाल उक्त सेवाबाट दैनिक २०० भन्दा बढी व्यक्ति लाभान्वित भइरहेका छन् । कामना सेवा विकास बैंकले सामाजिक, स्वास्थ्य तथा जनहितका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ। बैंकले आगामी दिनमा पनि विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै समाजप्रति उत्तरदायी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।   

अवैध कन्सल्टेन्सी कारबाहीमा महासंघको समर्थन, निर्दोषलाई नतर्साउन माग

काठमाडौं । नेपाल सरकारले अनुमति नलिई गैरकानुनी रूपमा सञ्चालन भइरहेका कन्सल्टेन्सीमाथि सुरु गरेको कानुनी कारबाहीको प्रक्रियाप्रति ‘नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ’ ले पूर्णरूपमा समर्थन गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै महासंघले सरकारको कदमप्रति पूर्ण समर्थन जनाएको हो । गत जेठ १ गते गृह मन्त्रालयअन्तर्गतको नेपाल प्रहरी उपत्यका अनुसन्धान कार्यालय, टेकुले शिक्षा ऐन र निर्देशिका विपरीत कन्सल्टेन्सीहरूमाथि अनुसन्धान र कानुनी कारबाही अघि बढाएको विषयमा विज्ञप्ति जारी गरेपछि महासंघले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो । महासंघले सरकारको यस कदमले समग्र शैक्षिक परामर्श क्षेत्रलाई स्वच्छ, विश्वसनीय, उत्तरदायी र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नेपाल सरकारप्रति धन्यवाद ज्ञापन गरेको छ ।  तर, कानुन कार्यान्वयन गर्ने बहानामा प्रक्रिया पुर्‍याएर दर्ता भएका र कानुनी रूपमा सञ्चालनमा रहेका निर्दोष व्यवसायीहरूलाई अन्याय हुन नदिन र उनीहरूको व्यावसायिक प्रतिष्ठामा आघात नपुर्‍याउन महासंघले सरकारको विशेष ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत असन्तुष्टि, भिसा अस्वीकृति, विदेश अध्ययनसम्बन्धी नियम उल्लंघन, विद्यार्थी भिसाको दुरुपयोग वा अन्य स्वार्थ प्रेरित गतिविधिका आधारमा व्यवसायीहरूलाई अनावश्यक दुःख दिने, मानसिक दबाब सिर्जना गर्ने, मोलमोलाइ गर्ने वा नियोजित ढंगले व्यावसायिक प्रतिष्ठामाथि प्रहार गर्ने प्रवृत्तिप्रति महासंघ गम्भीर छ ।’ महासंघले यस्ता विषयगत उजुरी र विवादहरूको समाधान गर्दा सम्बन्धित संघ वा महासंघका प्रतिनिधिहरूसँग समन्वय गरी निष्पक्ष, तथ्यपरक र कानुनसम्मत ढंगले प्रक्रिया अघि बढाउन गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र शिक्षा मन्त्रालयसँग अनुरोधसमेत गरेको छ । नेपालमा विगत ३६ वर्षदेखि शैक्षिक परामर्श व्यवसायले विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको महासंघले जनाएको छ । हालै मात्र यस क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन देशभरिका आठवटा प्रमुख संघहरू एकताबद्ध भएका छन् । महासंघमा ईक्यान, आइरिन नायर, जाल्सान, एपक्यान, केक्यान, एईक्यान र नेवा संघहरू रहेका छन् । यी आठवटै संघहरू मिलेर ‘नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ’ गठन भएको हो ।  यसमा आवद्ध आबद्ध देशभरिका सम्पूर्ण सदस्य कम्पनीहरू शिक्षा ऐन, २०२८, शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ र सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयबाट अनुमति लिएरै सञ्चालन भइरहेको महासंघले स्पष्ट पारेको छ । महासंघले सम्पूर्ण सदस्य संस्थाहरूलाई कुनै पनि प्रकारको भ्रम, डर वा मानसिक दबाबमा नपरी निर्धक्क भई सत्य र तथ्यमा आधारित सेवा तथा पूर्वतयारी कक्षाहरू सञ्चालन गर्नसमेत आग्रह गरेको छ । नवीकरण र दर्ता नभएका कन्सल्टेन्सीलाई थप कडाइ