नेपाल बैंकको ‘लिङ्क, लोड तथा विदड्र’ अभियान, १५ हजार जित्ने अवसर

काठमाडौं । नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘लिङ्क, लोड तथा विदड्र – पुरस्कार जित्ने अवसर’ नामक अभियान सञ्चालनमा ल्याएको छ । नेपाल बैंक लिमिटेड र खल्ती डिजिटल वालेटको सहकार्यमा सञ्चालनमा आएको उक्त अभियान बैंकको ब्राण्ड प्रवर्द्धन तथा डिजिटल बैंकिङ सेवाको विस्तारलाई लक्षित गरिएको बैंकले जनाएको छ । माघ महिनाभर सञ्चालन हुने यस अभियानमा नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरू सहभागी हुन सक्नेछन् । अभियान अवधिभर नेपाल बैंकको खाता खल्ती वालेटसँग लिङ्क गरी कारोबार गर्ने ग्राहक तथा कर्मचारीहरूमध्ये हरेक हप्ता एक जना भाग्यशालीलाई चलचित्र टिकट वा खल्ती प्रो सदस्यता पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी, अभियान अवधिभर भएको कुल कारोबारको आधारमा एक जना सहभागीलाई नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । पुरस्कारको घोषणा अभियान समाप्त भएपछि गरिनेछ । अभियानमा सहभागी हुन इच्छुक व्यक्तिले खल्ती वालेटमा दर्ता भई आफ्नो परिचय विवरण अद्यावधिक गरेको हुनुपर्नेछ। साथै, नेपाल बैंकको खाता खल्ती वालेटमा लिङ्क गरी उक्त खातामार्फत कारोबार गरेको हुनुपर्ने सर्त तोकिएको छ। यस सम्बन्धमा थप जानकारी लिन नजिकैको नेपाल बैंकको शाखा कार्यालय वा बैंकको कल केन्द्रको फोन नम्बर ०१–५९७१२२२ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । उक्त अभियानले ग्राहकहरूलाई डिजिटल बैंकिङ सेवातर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ । हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २३७ स्वचालित टेलर मेशिन (एटिएम) तथा ६१ विस्तार काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।   

चितवन राष्ट्रिय निकुञ्जले उच्च सतर्कता बढायो

चितवन । प्रतिनिधि सभा निर्वाचन २०८२ को मिति नजिकिँदै जाँदा चितवन राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारी हुनसक्ने जनाउँदै उच्च सतर्कता बढाएको छ । निर्वाचनका समयमा नयाँ मानिसहरूको आवतजावत बढ्ने र चोरी सिकारी हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले स्थानीय, सरोकारवाला निकायहरूसँगको सहकार्यमा सुरक्षा व्यवस्था मिलाइएको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज प्रशासनले आन्तरिक तथा बाह्य सुरक्षाको व्यवस्था गरेको छ । निर्वाचन लागेपछि चोरी सिकारीको खतरा बढ्ने भएकाले निकुञ्जले त्यहीअनुसार व्यवस्थापन गरेको उनले बताए। निकुञ्ज क्षेत्रको कोर इलाकाभित्र र मध्यवर्ती एवं आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाइएको छ । उनका अनुसार चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी तथा कर्मचारी र स्थानीयलाई निर्वाचनको समयमा सजग हुन आग्रह गरिएको छ । उनले भने, 'प्रतिनिधिसभा निर्वाचनको समयमा निकुञ्ज सुरक्षाका लागि हामी तयार छौँ ।' निकुञ्जभित्र र आसपासका क्षेत्रमा गस्ती बढाउने, एम्बुसिङ, स्विमिङलगायत कामलाई निरन्तर कायम राखिने छ । ९५२/६३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्जमा २२ वटा मध्यवर्ती उपभोक्ता समिति छन् । निकुञ्जभित्र स्थायी ५७ वटा र अस्थायी तीनवटा पोष्ट छन् । उनले भने, 'सबै पोष्टलाई उच्च सतर्कमा रहन भनिएको छ । कर्मचारी पनि सोहीअनुसार परिचालन गरिएको छ ।' पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष साजनकुमार महतो निर्वाचन नजिकिएसँगै उपभोक्ता समितिले पनि उच्च सतर्कता अपनाएको बताउछन् । निर्वाचनको समयमा नकारात्मक सोच राखेका व्यक्ति सलवलाउन सक्ने भएकाले सबै उपभोक्तासहितले आ–आफ्नो ठाउँबाट चनाखो भएर काम गरेको उनले बताए। उनले भने, 'चोरी सिकारी हुनसक्छ कि भनेर निगरानी बढाइएको छ । चनाखो रहन सबै उपभोक्तालाई आग्रह गरिएको छ ।' उपभोक्ता समितिहरू वन्यजन्तु संरक्षणका लागि सधैँ एक भएर काम गर्दै आएको उनको भनाइ छ । अहिले निकुञ्ज क्षेत्रमा रहेका मध्यवर्ती उपभोक्ता समितिहरूको निर्वाचन पनि भइराखेकाले केही बढी सक्रियता बढेको छ भने संरक्षण शिक्षाका बारेमा पनि ज्ञान दिइँदै आएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त निर्वाचनको समयमा सबैको ध्यान निर्वाचनतर्फ केन्द्रित हुँदा चोरी सिकार हुनसक्ने भएकाले पूर्वतयारीस्वरुप कडाइका साथ काम गरिएको बताउछन् । उनले भने, 'हामी सधैँ चनाखो अवस्थामा रहन्छौँ, यतिबेला थप चनाखो बनेका छौँ ।'

शाओमीले सार्वजनिक गर्‍यो रेड्मी नोट १५ सिरिज, ४ मोडेलसहित फ्ल्यागशिप फिचर

काठमाडौं । शाओमीले नेपालमा नयाँ स्मार्टफोन श्रृंखला रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ । यस सिरिजअन्तर्गत रेड्मी नोट १५ प्रो+ ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी गरी चार मोडेल बजारमा ल्याइएका छन्, जसले विभिन्न आवश्यकताका प्रयोगकर्तालाई लक्षित गर्ने कम्पनीले जनाएको छ । यस सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जी मा ६,५०० एमएएच सिलीकोन–कार्बन ब्याट्री प्रयोग गरिएको छ, जसमा १० प्रतिशत एसआईसी सामग्री रहेको छ । १०० वाट हाइपरचार्ज प्रविधिका कारण यो फोन करिब ४० मिनेटमै पूर्ण चार्ज हुने बताइएको छ भने २२.५ वाट रिभर्स चार्जिङ सुविधासमेत उपलब्ध छ । रेड्मी नोट सिरिजमा पहिलो पटक प्रयोग गरिएको यस प्रविधिले सानो आकारमै बढी ऊर्जा क्षमता प्रदान गर्ने कम्पनीको दाबी छ । शाओमीका अनुसार प्रो मोडेलहरूमा प्रयोग गरिएको ब्याट्री शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १,६०० चार्ज साइकलपछि पनि ८० प्रतिशतभन्दा बढी क्षमता कायम राख्न सक्षम छ, जुन करिब ६ वर्षको सामान्य प्रयोग बराबर हो । यी मोडेलहरूले आईपी६६, आईपी६८, आईपी६९ र आईपी६९के प्रमाणीकरण प्राप्त गरेका छन् भने २.५ मिटर ड्रप प्रतिरोध क्षमताका लागि एसजीएस प्रमाणनसमेत हासिल गरेका छन् । रेड्मी नोट १५ प्रो+ ५जी स्न्यापड्रागन ७ एस जेन ४ प्रोसेसरमा आधारित छ र यसमा शाओमी हाइपरएआई, अफलाइन कम्युनिकेसन सुविधा तथा शाओमी सर्ज टी१एस ट्युनर समावेश गरिएको छ । फोटोग्राफीका लागि २०० मेगापिक्सेल प्राइमरी क्यामेरा, ओआईएस र २x तथा ४x अप्टिकल–लेभल इन–सेन्सर जुम सुविधा दिइएको छ । यसमा विश्वमै पहिलो पटक २०० मेगापिक्सेल एचपीई इमेज सेन्सर प्रयोग गरिएको कम्पनीको दाबी छ । यस फोनमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले दिइएको छ, जसले ३,२०० निट्स पिक ब्राइटनेस प्रदान गर्छ भने डुअल स्पिकरले ४०० प्रतिशतसम्म भोल्युम बुस्टसहित इमर्सिभ मल्टिमिडिया अनुभव दिने बताइएको छ । साथै, शाओमी आइसलुप कूलिङ सिस्टम प्रयोग गरिएको छ, जसले तातो नियन्त्रणमा सहयोग पुर्‍याउने कम्पनीको भनाइ छ । रेड्मी नोट १५ प्रो ५जी मोडेलमा पनि २०० मेगापिक्सेल क्यामेरा, समान डिस्प्ले र आईपी रेटिङ दिइएको छ तर यसमा मिडियाटेक डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ । ६,५८० एमएएच सिलीकोन–कार्बन ब्याट्री, ४५ वाट चार्जिङ तथा एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन र एआई रिफ्लेक्सन रिमुभ जस्ता एआई टुलहरू यसमा उपलब्ध छन् । त्यस्तै रेड्मी नोट १५ ५जी रेड्मी नोट सिरिजकै सबैभन्दा पातलो मोडेल हो, जसको मोटाइ ७.३५ मिलिमिटर छ । यसमा ५,५२० एमएएच ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, आईपी६६ वाटर रेसिस्टेन्स, स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर र ४५ वाट चार्जिङ सुविधा दिइएको छ । रेड्मी नोट १५ ४जी मोडेलमा भने ६,००० एमएएच ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, १२० हर्ट्ज रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले, आईपी६४ सुरक्षा र ३३ वाट चार्जिङ सुविधा समावेश गरिएको छ । शाओमीले रेड्मी नोट १५ सिरिजको लन्च अवसरमा २०२६ जनवरी १९ देखि फेब्रुअरी १४ सम्म विशेष प्रवद्र्धनात्मक अफर सार्वजनिक गरेको छ । यस अवधिमा शाओमी बड्समा छुटसहितको बन्डल अफर तथा सबै मोडेलमा ९ महिना ० प्रतिशत ईएमआई सुविधा उपलब्ध गराइने जनाएको छ । रेड्मी नोट १५ सिरिज नेपालभर टेलिडाइरेक्ट प्रा.लि. र वत्सल इम्पेक्स प्रा.लि.को आधिकारिक डिलर नेटवर्कमार्फत बिक्रीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रेड्मी नोट १५ प्रो+ ५जी को मूल्य १२ जीबी + ५१२ जीबी भेरियन्टका लागि ६६ हजार ९९९ रुपैयाँ र ८ जीबी + २५६ जीबी का लागि ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ। रेड्मी नोट १५ प्रो ५जी को १२ जीबी + ५१२ जीबी र ८ जीबी + २५६ जीबी भेरियन्टको मूल्य क्रमशः ५६ हजार ९९९ र ४९ हजार ९९९ रुपैयाँ छ। त्यसैगरी रेड्मी नोट १५ ५जी को मूल्य १२ जीबी + ५१२ जीबी का लागि ४६,९९९ र ८ जीबी + २५६ जीबीका लागि ३९ हजार ९९९ रुपैयाँ तथा रेड्मी नोट १५ ४जीको मूल्य ८ जीबी + २५६ जीबीका लागि ३५ हजार ९९९ र ६ जीबी + १२८ जीबी का लागि २९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।