जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या घट्यो

जुम्ला । स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या पछिल्लो समयमा घट्दै क्रममा रहेको छ । जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी तीर्थराज जोशीका अनुसार यहाँका करिब एक लाख तीन हजार जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।      सक्रिय बीमा सङ्ख्या ४४ हजार ४७९ जना रहेका छन् । करिब ५६ हजारले बीमाको नवीकरण नगरेको स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी जोशीले बताए । जिल्लाका १४ हजार ८८५ घरपरिवार बीमामा आबद्ध भएका छन् । ज्येष्ठ नागरिक तीन हजार ९२३, अति अशक्त अपाङ्गगता ९८ र महिला स्वास्थ्य स्वंयसेविका ३०६ जनाको परिवार स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा सम्पर्क कार्यालयका दर्ता अधिकारी जोशीको भनाइ छ ।      अति गरिब घरपरिवारका करिब १७ हजार ३१२ जनाले नवीकरण नगर्दा सङ्ख्या बढेको तथ्याङ्क देखाउन छ । अति गरिब घरपरिवारको निःशुल्क बीमा नवीकरण गर्ने व्यवस्था सरकारले बन्द गरेपछि जिल्लामा नवीकरण नगर्नेको सङ्ख्या बढेको स्वास्थ्य बीमा बोर्ड कार्यालयका दर्ता अधिकारी जोशीले जानकारी दिए ।  सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, ज्येष्ठ नागरिकलाई निःशुल्क बीमा गर्ने व्यवस्था गरेको छ । अन्यको हकमा शुल्क लिएर रु एक लाख बराबरको स्वास्थ्य बीमा गर्ने गरिएको स्वास्थ्य बीमा बोर्ड कार्यालयले जनाएको छ ।       बीमाको जथाभावी प्रयोगले अहिले स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालयले सहभुक्तानीको व्यवस्थासमेत गरेको छ । बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीलाई घरदैलोमा नै पठाएर नागरिकलाई बीमामा सहभागी गराउने अभियानमा रहेको स्वास्थ्य बीमा बोर्ड कार्यालयले जनाएको छ ।      नवीकरण घट्नुको मुख्य कारण सेवाको गुणस्तर तोकिएका अस्पतालमा औषधि सहज नपाइने र लामो लाइन बस्नुपर्ने बाध्यता, ढिलाइ र अस्पतालहरूले बीमित बिरामीको रकम भुक्तानी नपाएको गुनासो जस्ता कार्यले आम नागरिकलाई स्वास्थ्य बीमाप्रति जनविश्वास घटेको यहाँका स्थानीयवासी बताउँछन् । जिल्लामा विसं २०७४ सालदेखि स्वास्थ्य बीमाको सेवा विस्तार भएको हो । रासस

किओच काठमाडौं बाल अस्पतालको भवन हस्तान्तरण

काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरिएको छ । बूढानीलकण्ठ नगरपालिका-७ हेपाली हाइटमा रहेको अस्पतालको उक्त भवन समाजसेवी मीनबहादुर गुरुङ र सावित्री गुरुङ तथा पहलमान गुरुङ र सरला गुरुङले निर्माण गरिदिएका हुन् ।  शनिबार आयोजित कार्यक्रममा जगत्गुरु शङ्कराचार्य श्री विधुशेखर भारतीले सो भवनको समुद्घाटन गरे । व्यवसायी गुरुङको स्वामित्वमा रहेको भाटभटेनीले उक्त भवन निर्माण गर्न रु ७१ करोड चार लाख ४२ हजार २४४ खर्चेको थियो ।       कार्यक्रममा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल स्थापनासँगै गरिब तथा बालबालिकाले सर्वसुलभ स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित भएको बताए । अस्पतालका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा भगवान कोइरालाले गैरनाफामूलक संस्थाका रुपमा रहेको यस संस्थाले विशिष्टीकृट स्वास्थ्य सेवा उपलब्ध गराउने बताए । व्यवसायी गुरुङले सर्वसाधरण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि अस्पताल स्थापना गरिएको बताए ।       काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ मुनाफारहित कम्पनीका रूपमा दर्ता तथा समाज कल्याण परिषद्मा आबद्ध भई गैरसरकारी सामाजिक संस्थाका रूपमा सञ्चालनमा छ । उक्त इन्स्टिच्युटको काठमाडौं उपत्यकामा विशिष्टकृट सेवासहित बाल अस्पताल तथा सातवटै प्रदेशमा भौतिक संरचनासहित बाल अस्पताल सञ्जाल निर्माण गरिरहेको छ ।       देशभरका सबै वर्गका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याई उनीहरूको स्वास्थ्य अवस्थामा सुधार गर्ने र शिशु तथा बाल मृत्युदर घटाउने लक्ष्यका साथ उक्त अस्पताल स्थापना गरिएको हो ।   

जीतपुरफेदीका सरोज अर्याल सगरमाथाको शिखरमा

काठमाडौं । तारकेश्वर नगरपालिका–३ जीतपुरफेदीका सरोज अर्यालले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । ३१ वर्षीय अर्याल हाल अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यस्थित एडिलेडमा विद्यार्थी भिसामा बसोबास गर्दै आएका छन् । करिब ६ वर्षदेखि अष्ट्रेलियामा रहेका उनी सगरमाथा आरोहणकै लक्ष्यसहित बिदामा नेपाल आएका थिए । कठोर प्रशिक्षण र शारीरिक तथा मानसिक चुनौती पार गर्दै उनले सगरमाथाको चुचुरोमा पुग्न सफलता हासिल गरेका हुन्।  उनको यो उपलब्धिलाई स्थानीय तथा प्रवासी नेपाली समुदायले गर्वका रूपमा लिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अष्ट्रेलिया लगायत अष्ट्रेलियामा रहेका नेपालीहरूले अर्यालको सफलताको प्रशंसा गरेका छन् । केही दिनमै अष्ट्रेलिया फर्कने तयारीमा रहेका अर्यालका लागि यो सफलता जीवनकै महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ ।