गायक संजीब पराजुली र टीका प्रसाईंको ‘‘पहिलो भेटैमा’’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । ’नाईं मलाई थाहा छैन’ का गायक गायिका संजीब पराजुली र टीका प्रसाईंको अर्को गीत ‘‘पहिलो भेटैमा’’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा होमनाथ न्यौपानेको शब्द रचना, दीपक भट्टराईको संगीत तथा साहस शाक्यको संगीत संयोजन रहेको छ । हालै सार्वजनिक गायक संजीबको एकल एल्बम ’त्यो सपना…’ मा समावेश यो गीतमा गायिका टीका प्रसाईंले साथ दिएकी छन् । गायकद्वयका ’नाईं मलाई थाहा छैन’ र ’तिमी मलाई मन पर्छ’ का साथै अन्य गीतहरुले पनि अत्यधिक चर्चा पहिले नै पाईसकेका छन् । ‘पहिलो भेटैमा’ गीतको म्युजिक भिडियोमा नायक कर्मा र नायिका वर्षा शिवाकोटीको दमदार प्रस्तुति हेर्न सकिन्छ । नायक कर्माको यो पहिलो म्युजिक भिडियो रहेको कुरा उनले बताए । भिडियोको निर्देशन लक्ष्मण पौडेलले गरेका हुन् । पौडेल हालै सम्पन्न ’नेपाल आइडल’का डाइरेक्टर थिए । ‘पहिलो भेटैमा’ भिडियोको दृश्य सम्पादन भरत रेग्मीले गरेका हुन भने भिडियोमा कोरियोग्राफी दिपेन्द्र श्रेष्ठले गरेका हुन् । त्यो सपना एल्वम शनिबार गीचकार दिनेश अधिकारीले सार्वजनिक गरेका हुन् । यस एलभल्ममा ‘हिट हिट गीत’ बोलको गीतमा र्यापर मि. प्रिन्स (विवेक भण्डारी) र अनु शाक्यले साथ दिएका छन् । गीतलाई संजिव बराइली (ट्रयाक १), साहस शाक्य (ट्रयाक २), गोपाल रसाइली (ट्रयाक ३ र ४) र सचिन सिंह (ट्रयाक ५) ले एरेन्ज गरेका छन् । एल्बम ‘त्यो सपना’ लाई अस्ट्रेलियामा रहेको बाबा एजुकेशन कन्सल्टेन्सीले सहयोग गरेको छ । को हुन् होमनाथ, दीपक र संजीव रचनाकार होमनाथ न्यौपाने, संगीतकार दीपक भट्टराई र गायक संजिव पराजुलीको संयुक्त एल्बम ‘त्यो सपना’ सार्वजनिक भएको छ । गायक पराजुली अस्ट्रेलियामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् भने संगीतकार दीपक जापानमा बस्छन् । गीतकार होमनाथ चौधरी ग्रुपका महाप्रबन्धक हुन् । संख्याको हिसाबमा एक सय भन्दा बढी गीत रचना गरिसकेका होमले बिक्रम संवत् २०५० सालदेखि गीत लेख्दै आएका छन् र उनको यो पाँचौं सोलो एल्बम हो । क्लासिक भोकलका गोल्ड मेडलिस्ट समेत रहेका दीपकले संख्याको हिसाबमा एक सय पचास भन्दा बढी गीतमा संगीत दिइसकेका छन् । भोकल राम्रो हुँदाहुँदै पनि दीपकले बिक्रम संवत २०५४ सालदेखि संगीतकारको रुपमा आफूलाई परिचित गराएका हुन् । हिट गीत ‘नाई मलाई थाहा छैन’ मार्फत् परिचय फैलाउन सफल गायक संजिवको पनि यो दोस्रो सोलो एल्बम हो । फरक क्षेत्र र भूगोलमा आफ्नै कार्यक्षेत्रमा व्यस्त भएता पनि गीतसंगीतमा भने यी तिनैले आफूलाई एकै बनाएका छन् । सार्वजनिक ‘त्यो सपना’ एल्बममा ५ गीत संग्रहित छन् । ट्रयाक नम्बर १ मा ‘त्यो सपना’, २ मा ‘पहिलो भेटैमा’, ३ मा ‘हिट हिट गीत’, ४ मा ‘मेरी मायालु’ र ५ मा ‘बेदनाले’ संग्रहित छन् ।
को हुन् नकाव लगाएर त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएका व्यक्ति ?
काठमाडौं । सोमबार(आज) बिहान १०ः३० बजे इन्डियन एयरलाइन्सको विमानबाट एक नकावधारी व्यक्ति अवतरण गरेका छन् । खाइलाग्दा ज्यानका नकावधारी ती व्यक्ति को थिए भन्ने जिज्ञासा उक्त समयमा त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल उपस्थित रहेका सर्वसाधारणहरुमा परेको थियो । नकाव सहित विमानस्थलबाट बाहिरिनु रहस्यमय त थियो नै झन् त्यहाँ उपस्थित मिडियाकर्मिले ती व्यक्तिलाई क्यामेरा र माइक लिएर केहि सोधपुछ गरिरहदाँ सर्वसाधारणहरुले ती व्यक्ति कुनै ठुलै अपराधिक पृष्ठभुमीका हुन् कि भन्ने अड्कल काटेका थिए । ती नकावधारी व्यक्तिलाई हेर्न त्यहाँ ठुलै भिड जम्मा भएको थियो । पछि पत्रकारहरुले अर्न्तवार्ता लिने क्रममा बल्ल थाहा भयो कि उनी त यहि कार्तिक २५ गते दशरथ रंगशालाको कभर्ड हलमा र २७ गते इटहरीको ठुलो जनता मा. वि.मा आयोजना हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय रिङ्ग रेस्लिङ्ग प्रतियोगिता खेल्न भारत बाट आएका खेलाडि रहेछन् । उक्त प्रतियोगितामा नेपाल सहित अमेरिका, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, भारत, रसिया र चेक रिपब्लिक गरि ८ देशका खेलाडिहरुले प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगितामा फ्ल्याग् म्याच, सिंगल्स्, ह्याण्डीक्याप, रोयल रम्बल, ट्याग टिम महिला/पुरुष, हार्डकोर र थ्री वे कर्नर जस्ता इभेन्टहरु हुनेछन् । यो प्रतियोगिता नेपाल रिङ्ग रेस्लिङ्ग संघ र डिशहोमको संयुक्त आयोजनामा हुन लागेको हो । डिशहोमले आफ्नो च्यानल एक्सन स्पोर्टस् बाट दशरथ रंगशालाको कबर्ड हलमा हुने खेलको प्रत्यक्ष प्रशारण गर्नेछ ।
नेपालमा कोरियाली चलचित्र महोत्सव शुरु, युवा पुस्ताको गायन, नृत्य र पहिरहनमा बढ्दो प्रभाव
काठमाडौं । नेपाली फिल्म क्षेत्रमा आफ्नो प्रभाव बढाउदै गएको दक्षिण कोरियाले कात्तिक ९ गते विहीबारदेखि नेपालमा कोरियाली चलचित्र महोत्सव (फिल्म फेस्टिवल) आयोजना गरेको छ । ६ दिनसम्म चल्ने सो महोत्सवमा ६ वटा चलचित्रहरु प्रदर्शन भइरहेकाछन् । दी फेटल इन्काउन्टर, अ हार्ड डे, कुण्डो–एज अफ दी रामपन्ट, क्रसिङ, म्यारिज व्ल्यू र माई लभ, माई प्राइड नामक चलचित्रहरु प्रदर्शनी भईरहेका छन् । हरेक दिन ६ वटै फिल्महरु हेर्न सकिने नेपालस्थिति दक्षिण कोरियाली दूताबासले जनाएको छ । ती चलचित्रहरु कात्तिक ९, १० र ११ गते क्वीएफएक्स, लविम महलमा प्रदर्शन हुनेछन् । त्यस्तै, कात्तिक १६ र १७ गते काठमाडौं विश्वविद्यालयमा र कात्तिक १८ गते पोखरामा प्रदर्शन हुनेछन् । सन २०१४मा बनेको दी फेटल इन्काउन्टर, सन २०१३ मा बनेको अ हार्ड डे, २०१४ मा बनेको कुण्डो–एज अफ दी रामपन्ट द्वन्द्वमा आधारित चलचित्र हुन् । २००८ मा बनेको क्रसिङ नाटकमा आधारित चलचित्र छ भने २०१३ मा बनेको म्यारिज व्ल्यू र २०१४ मा बनेको माई लभ, माई प्राइड रोमाञ्चक चलचित्र हुन् । पुराना तर निकै चर्चित यी चलचित्रहरुले कोरियाको विभिन्न पक्षलाई चित्रण गरेको र निकै रोचक रहेको नेपालको लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले बताए । पछिल्लो समय कोरियाली फिल्मको प्रभाव नेपालमा निकै देखिएको छ । पहिला भारतीय चलचित्रलाई मात्र पछ्याउने नेपाली चलचित्र निर्माताहरु अहिले दक्षिण कोरियाको चलचित्रलाई निकै पछ्याउन थालेका छन् । पछिल्लो समयमा नेपाली युवा पुस्ताले गाउने भाका, नृत्य तथा पहिरहनमा कोरियाली चलचित्रका प्रभाव उल्लेख्य देख्न सकिन्छ ।