दीपक-दीपाले १० करोड लगानीमा खोले आईएनआई सिनेमा हल

काठमाडौं । अभिनेता एवं चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन् । बानेश्वरस्थित एनबी सेन्टरमा आईएनआई सिनेमाको फ्रेन्चाइजअन्तर्गत सिनेमा हल सञ्चालनमा ल्याइएको हो । गिरी, निरौला र शर्माले १० करोड रुपैयाँ लागतमा सिनेमा हल निर्माण गरेका छन् । कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र बनाउनु पनि तपस्या गरेसरह रहेको बताए । उनले भने, ‘आम दर्शकलाई चित्त बुझाउने काम भनेको एउटा तपस्वीले तपस्या गरेर बल प्राप्त गरेको सरह हो ।’ पहिला नामका लागि काम गरे पनि पछि नामसँगै पैसा कमाउन थालिएको तर समयलाई चिन्नुपर्ने आवश्यकता उनले औंल्याए । आफूहरुले गर्न नसकेको काम सिनेमा हल सञ्चालन गरेर दीपक र दीपाश्रीले कलाकारको सपना पूरा गरेकोमा उनले खुसी व्यक्त गरे । कार्यक्रममा गिरीले नेपाली चलचित्र उद्योगले सरकारबाट आवश्यक सुविधा नपाएको गुनासो गरे । उनले आफ्नो सिनेमा हलबाट हलबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउने घोषणा गरे । गिरीले ४ सय सिट क्षमताको हल रहेको र दुइटा अडिटोरियम हल रहेको बताएका छन् ।

चलचित्रकर्मीले सम्झौता गर्नु नै गलत भयो : अभिनेता नीर शाह

काठमाडौं । कलाकार, निर्देशक तथा गीतकार शाहले नेपाली चलचित्र क्षेत्रले सोचेअनुसारको प्रगति गर्न नसक्नुको कारण स्वयं चलचित्रकर्मी रहेको बताएका छन् । गत शुक्रबारदेखि ललितपुरमा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा आयोजित सत्रमा आफ्नो विचार राख्दै उनले वि.सं २०५८ सम्म चलचित्र क्षेत्रलाई सरकारले दिने अनुदान बन्द भएपछि नयाँ–नयाँ बेथिति थपिएको टिप्पणी गरे । “केही चलचित्रकर्मीले विसं २०५८ मा एउटा सम्झौता गर्नुभयो । राज्यकोषबाट पाउने सबै सेवा सुविधालाई बन्द गराउन लगाएर चलचित्र विकास बोर्डको माग गर्नुभयो । विकास बोर्ड खोल्नका लागि यो सहुलियत बन्द भयो । विकास बोर्ड स्थापना भएदेखि नेपाली सिनेमाको ओरालो यात्रा पनि सुरु भयो”, अभिनेता शाहले भने, “विसं २०४२ देखि २०५८ सम्म राज्यले चलचित्र उद्योगलाई सबैभन्दा धेरै सघाएको कालखण्ड हो । मनोरञ्जन करबाट उठेको ७५ प्रतिशत निर्मातालाई फिर्ता गर्दिन्थ्यो ।” चलचित्र विकास बोर्डका पूर्वअध्यक्षसमेत रहेका अभिनेता शाहले निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘लाहुरे’ ले भृकुटीमण्डपको हाइभिजन चलचित्र भवनबाट ३३ लाख मनोरञ्जन कर वापत फिर्ता पाएको स्मरण गरे । विदेशी चलचित्रको प्रदर्शनबाट उठेको करको रकमले बोर्डका कर्मचारीले तलब थाप्ने उल्लेख गर्दै उनले त्यसले नेपाली चलचित्रको हित गर्न नसक्ने बताए । “पुनः यसलाई स्थापना गर्ने हो भने नेपाली चलचित्र लयमा फर्कन्छ । अन्यथा नेपाली चलचित्र निर्माण गर्ने कुनै न कुनै स्थान त हुन्छ । तर, त्यो स्थान नेपाल हुँदैन”, उनले भने । यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ आज बेलुकी समापन हुँदैछ ।

ओटीटीमा ‘महापुरुष’

काठमाडौं । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटीटी (ओभर द टप) प्रतिको आकर्षण बढ्यो । ओटीटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढे । सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटीटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भए तर विदेशी एपमा दर्शक झुम्दा सोही प्रकृतिका नेपाली एप आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले दर्शक पाएनन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप सिनेमा घरले सब्सक्रिप्सनको सुविधा हटाएर फिल्मअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए। शुक्रबारदेखि ‘महापुरुष’ प्रदर्शनमा आएको जानकारी दिँदै अध्यक्ष लामिछानेले नयाँ सामग्री आउँदा दर्शक बढ्ने जानकारी दिए । ‘चलचित्र भवनमा जस्तै ओटीटीमा पनि दर्शक बढिरहेका छन् । युट्युबमा सित्तैमा चलचित्र हेरिरहेका दर्शकलाई पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि विस्तारै बानीको विकास भइरहेको छ’, अध्यक्ष लामिछानेले भने । अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठूलो सङ्ख्यामा दर्शक रहेको बताउँदै यसको विस्तारमा ध्यान दिन आग्रह गरे। उनले भने, ‘हामी कहाँ नयाँ बजार विकसित भइरहेको ओटीटीमा दर्शकलाई आकर्षित गर्न हामी सबैको हुनुपर्छ । मेरो पहिलो चलचित्र प्रदर्शनमा आएको छ, उत्साहित छु ।’ प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘महापुरुष’ मा राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापालगायतका कलाकारले अभिनय गरेका छन्।