कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन् ।   नेकपा (एमाले)को समर्थनमा आज कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा पुगेर नेता शाहीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन् । नेता शाहीले आज दाबी पेस गरे पनि प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई बैठकको छलफलपछि बुधबार मात्रै नियुक्ति दिने प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिए । शाहीले दाबी पेस गर्ने समयमा एमालेका प्रमुख सचेतक टेकराज पछाईंको पनि उपस्थिति थियो ।  हाल कर्णाली प्रदेशसभाका ४० प्रदेशसभा सदस्यमध्ये १४ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र १० नेकपा एमालेका प्रदेशसभा सदस्य छन् । 

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई भारतले औपचारिक रूपमा आफ्नो देशको भ्रमणको निम्तो दिएको छ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइएको जानकारी दिएका हुन् ।  सम्मेलनका क्रममा पत्रकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको हो ? भन्ने प्रश्नमा उनले भने,  ‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणमा पठाइएको छ ।’ यद्यपि भारत भ्रमणको मिति भने तोकिएको छैन । प्रवक्ता जैसवालले भ्रमणको मिति भने दुवै देशको आपसी सहमतिमा तय हुने जानकारी दिए । भारतको निम्तो स्वीकार गरिएमा प्रधानमन्त्रीका रूपमा बालेनको यो पहिलो विदेश भ्रमण हुनेछ ।

हिंसा र मुठभेडबाट समस्या समाधान हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी जिल्लामा हालै भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कुनै पनि समस्या, असहमति वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने बताएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले यस्तो बताएका हुन्। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।  साथै घाइते भएका सबै नागरिक तथा सुरक्षाकर्मीको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । लामिछानेले नेपाली समाजको सबैभन्दा ठूलो शक्ति बहुलवाद, सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकता रहेको उल्लेख गर्दै त्यसलाई कमजोर बनाउने, साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पु‍र्याउने कुनै पनि गतिविधिमा नलाग्न सबैलाई आग्रह गरेका छन् ।  उनले उक्साहट र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन अहिलेको प्रमुख आवश्यकता रहेको पनि बताएका छन् । उनले सरकारले तत्काल शान्ति–सुरक्षा कायम गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र तनावग्रस्त अवस्थालाई सामान्य बनाउन प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।  साथै घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन तथा पीडित पक्षलाई न्याय, राहत, क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । लामिछानेले रास्वपा शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा सधैं अडिग रहेको उल्लेख गर्दै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीले सकारात्मक भूमिका निर्वाह गर्ने पनि बताएका छन् । उनले यस्तो संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बन्धित पक्षलाई आग्रह गर्दै रास्वपाका स्थानीय समिति र कार्यकर्तालाई शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिएका छन् ।