आमनिर्वाचन २०८२ : पाल्पामा पुराना शक्ति आमने-सामने, नयाँ दलको सीमित चुनौती
काठमाडौं । पाल्पा जिल्ला पश्चिम नेपालको पहाडी राजनीतिमा प्रभावशाली जिल्लाका रूपमा चिनिन्छ । लामो समयदेखि नेकपा एमाले र नेपाली कांग्रेसको बलियो प्रतिस्पर्धा रहेको पाल्पामा पछिल्ला निर्वाचनहरूमा मतदाताको व्यवहारमा स्थिरता देखिएको छ । २०७९ को आमनिर्वाचनले पुराना दलहरूमाथि दबाब बढ्दै गएको देखाए पनि नयाँ शक्तिहरू हस्तक्षेपकारी भएको संकेत पाल्पामा देखिएको थिएन । तर नयाँ राजनीतिक विकल्पप्रति सीमित तर उल्लेखनीय आकर्षण देखाएको संकेत भने गरेको थियो । पाल्पा जिल्लामा प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेका छन् । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा लामो समयदेखि कांग्रेस र एमाले बीचको प्रतिस्पर्धा रहँदै आएको छ । ग्रामीण क्षेत्रको बाहुल्यता र परम्परागत मताधारका कारण यहाँ मतदाताको झुकाव तुलनात्मक रूपमा स्थिर देखिन्छ । सिंगो पाल्पामा २०७९ को निर्वाचनमा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमाले दुई दलबीच सीमित रह्यो भने तत्कालीन नेकपा माओवादी केन्द्र र अन्य साना दलहरू सहायक भूमिकामा देखिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अघिल्लो निर्वाचनमा तुलनात्मक कमजोर रहे पनि यस निर्वाचनमा उसको उपस्थिति यस क्षेत्रमा कस्तो रहन्छ भन्ने विषयले निर्वाचनको परिणाम प्रभावित हुने पाल्पाका राजनीतिक विश्लेषक भगवान भण्डारी बताउँछन् । पाल्पाको १ नम्बर निर्वाचन क्षेत्र तुलनात्मक ग्रामीण क्षेत्र हो भने दुई नम्बर निर्वाचन क्षेत्र तानसेन नगरपालिकासहितको सहरी क्षेत्र हो । पाल्पाका दुवै निर्वाचन क्षेत्रको परिणाम हेर्दा नेकपा एमालेले जित हासिल गर्दै आएको देखिन्छ । अघिल्लो निर्वाचनमा पाल्पा १ मा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले ३१ हजार १०३ मत ल्याउँदा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५६ मत प्राप्त गरेका थिए । पाल्पा–२ लाई भने जिल्लाकै सबैभन्दा प्रतिस्पर्धी क्षेत्र मानिन्छ । यहाँ सहरीकरण, वैदेशिक रोजगारीको प्रभाव र युवाको राजनीतिक चेतनाले मतदाताको निर्णयमा भूमिका खेलेको देखिन्छ । २०७९ मा मतान्तर साँघुरो रहेकोले यस क्षेत्रलाई स्विङ क्षेत्रका रूपमा समेत व्याख्या गर्न सकिन्छ । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट एमालेका ठाकुर गैरेले २८ हजार ७४५ मत ल्याएका थिए । उनलाई पाँच दलीय गठबन्धनमा उम्मेदवार रहेका तत्कालीन नेकपा एकीकृत समाजवादीका हेभिवेट उम्मेदवार सोमप्रसाद पाण्डेले २४ हजार ८९९ मतसहित टक्कर दिएका थिए । अर्गलीको फाँटदेखि तिनाउको काखसम्म फैलिएको पाल्पामा २०४८ मा तीन निर्वाचन क्षेत्र रहँदा तीनै क्षेत्रमा कांग्रेसले जित हासिल गरेको थियो । ०५१ मा भने एमालेले तीनै सिटमा विजयी हासिल गर्यो । ०५१ को मध्यावधिपछि यस जिल्लामा एमालेले पछाडि फर्केर हेर्नु परेको छैन । ०६५ मा देशैभर तत्कालीन नेकपा माओवादीको माहोलका बाबजुद पनि पाल्पाका तीन क्षेत्रमध्ये दुई क्षेत्रमा एमालेले निर्वाचन आफ्नो पक्षमा पारेको थियो । पछिल्लो राज्य पुनर्संरचनापछि २०७४ र २०७९ का दुवै निर्वाचनमा जित हासिल गरेको एमाले अहिले पनि जित निकाल्ने रणनीतिमा रहेको छ । आमनिर्वाचन २०८२ मा एमालेले दुवै निर्वाचन क्षेत्रमा पुरानै उम्मेदवार दाहोर्याएको छ । एमालेले निर्वाचन क्षेत्र नम्बर २ बाट चर्चित विद्यार्थी नेता ठाकुर गैरेलाई उम्मेदवार बनाएको छ भने एकबाट नारायणप्रसाद आचार्यलाई मैदानमा उतारेको छ । कांग्रेसले युवा नेता हिमालदत्त श्रेष्ठलाई दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाएको छ । अर्को एक नम्बर क्षेत्रबाट सन्दीप रानालाई मैदानमा उतारेको छ । संघीय निर्वाचनका लागि कांग्रेसका दुवै नयाँ अनुहार हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले दुई नम्बर निर्वाचन क्षेत्रबाट वरिष्ठ नेता सोमप्रसाद पाण्डेलाई उम्मेदवार बनाउँदा निर्वाचन क्षेत्र नम्बर १ बाट होमप्रसाद सुनारी मगरलाई मैदानमा उतारेको छ । पाण्डे ०५१ को आमनिर्वाचनदेखिका अनुहार हुन् भने सुनारी नयाँ अनुहार हुन् । स्थानीय विश्लेषक गाेविन्द भट्टराईका अनुसार पाण्डेको संगठन कमजोर भए पनि उनी हेभिवेट नेता हुन् । सुनारी भने संगठन र व्यक्तित्व दुवैमा कम प्रभावशाली मानिन्छन् । रास्वपाले पाल्पाको दुई नम्बर निर्वाचन क्षेत्रबाट माधवबहादुर थापा र एकबाट विमल पन्तलाई उम्मेदवार बनाएको छ । थापा बुटवलका मेडिकल व्यवसायी हुन् भने पन्त स्थानीय बासिन्दा हुन् । पाल्पामा एमाले र नेकपाबाट पुरानै उम्मेदवार दाहोरिँदा कांग्रेस, रास्वपाका उम्मेदवार भने पहिलोपटक प्रतिनिधि सभाका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसको अवस्था कस्तो छ ? पाल्पामा कांग्रेसको संगठन पुरानो र संरचनागत रूपमा बलियो छ । स्थानीय तहमा पहुँच र सामाजिक सञ्जालका कारण कांग्रेसले स्थिर मताधार जोगाउँदै आएको स्थानीय कांग्रेस कार्यकर्ताहरू बताउँछन् । कांग्रेसका जिल्ला नेता अजय कर्माचार्यले पाल्पाली जनताले यस निर्वाचनमा स्थिर शक्ति र नयाँ नेता खोजेकोले कांग्रेस मतदाताको रोजाइमा पर्ने दाबी गर्छन् । २०४८ पछि उत्साहजनक परिणाम दिन नसकेको कांग्रेस यसपटक नयाँ इतिहास लेख्ने दौडमा धेरै अगाडि बढेको कर्माचार्यको कथन रहेको छ । २०७९ मा कांग्रेसले कुल समानुपातिक मततर्फ कुल ३८ हजार ९०९ मत प्राप्त गरेको थियो । उक्त निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर एकबाट १८ हजार ७५५ र दुईबाट २० हजार १५४ मत प्राप्त गरेको निर्वाचन आयोगले बताएको छ । एमालेको अवस्था कस्तो ? एमालेको पकड जिल्लाभर सशक्त देखिन्छ । सांगठनिक अनुशासन र कार्यकर्ता परिचालन यसको मुख्य शक्ति रहेको एमाले नेता घनेन्द्र घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार एमाले जिल्लाको पहिलो शक्ति हो । अरूको प्रतिष्पर्धा दोस्रो बन्नका लागि भएको दावी उनको छ । पछिल्लो आमचुनाव २०७९ मा गठबन्धनका उम्मेदवारलाई हराएर एमालेले निर्वाचन जितेको थियो । उक्त निर्वाचनमा समानुपातिकतर्फ एमालेको मत ५१ हजार ४३९ रहेको थियो । पाल्पा एकबाट एमालेले २८ हजार ९१० र दुईबाट २२ हजार ५२९ मत प्राप्त गरेको थियो। नयाँ दल तथा स्वतन्त्र उम्मेदवार २०७९ मा पाल्पामा युवामाझ असन्तुष्टि बढ्दो रहेको संकेत नयाँ दलहरूको मत परिणामले देखाएको थियो । तर उक्त निर्वाचनमा समानुपातिकतर्फ १२ हजार ६६२ मत प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गर्न रास्वपा सफल भएको थियो । रास्वपा उपसभापति सुमन गैरे अघिल्लोपटक राखेको बीउ यसपटक फल्ने दावी गर्छन् । उनले भने, ‘दुईवटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर दुई जित्छौं, एकमा राम्रै प्रतिस्पर्धा गर्छौं ।’ मतदाता प्रवृत्ति र मुद्दा पाल्पाली मतदाताका प्रमुख चासोका विषयहरू सडक, स्वास्थ्य र शिक्षा, पूर्वाधार कृषि र रोजगारी रहेको पाल्पाको माडीफाँटकी स्थानीय कल्पना काफ्ले बताउँछिन् । उनका अनुसार स्थानीय विकास र बजेट वितरणमा समानतासँगै युवाको विदेश पलायन रोक्ने पहल गर्ने नेतृत्व पाल्पाली जनतालाई चाहिएको छ । काफ्ले पाल्पाली जनताले राजनीतिक दलभन्दा पनि उम्मेदवारको छवि र पहुँच हेर्ने दाबी गर्छिन् । आगामी निर्वाचनको संकेत आमनिर्वाचन २०८२ मा पाल्पामा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी हुन् । स्थानीय राजनीतिक विश्लेषक गोविन्द भट्टराईका अनुसार निर्वाचनको समग्र परिस्थिति एमाले र कांग्रेस वरिपरि नै घुम्छ । नयाँ दलले सीमित क्षेत्रमा मात्र चुनौती दिने संकेत देखिएको भट्टराई दावी गर्छन् । स्थानीय विश्लेषकहरूका अनुसार पाल्पा एकमा एमाले अहिले राम्रो मतसहित अग्रस्थानमै रहने सम्भावना छ भने पाल्पा–२ मा मत परिणाम स्विङ भोटरको प्रवृत्तिमा निर्भर रहन्छ ।
चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित
काठमाडौं । संसदीय समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ । सोमबार सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो विधेयक परिमार्जनसहित पारित गरिएको हो । समसामयिक हुने गरी सो विधेयकलाई पारित गरिएको समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन् । उनले भनिन्, ‘२०२६ सालमा बनेको ऐनलाई हामीले हरेक दफाहरूमा हेरेर समसामयिक बनाउने प्रयास गरेका छौं । र त्यो अनुरुप यो विधेयक परिमार्जित भएको छ । धेरै संशोधनहरूलाई स्विकार पनि गरिएको छ । अहिले जुन यो डिजिटलको युग छ । त्यो युग अनुसार हामीले यो विधेयकलाई परिमार्जन गरेका छौं ।’ विधेयकमा सेन्सर बोर्डका ठाउँमा प्रमाणिकरण समिति राखिएको छ । त्यसैगरी सो समितिको अध्यक्षमा विज्ञहरुलाई नियुक्त गर्ने प्रावधान राखिएको छ । सभापति दाहालका अनुसार सो विधेयकको मस्यौदा प्रतिवेदनलाई भोलि (मंगलबार) बस्ने राष्ट्रिय सभा बैठकमा पेश गर्ने कार्यसूची तय गरिएको छ ।
मीन प्रसाद र भरतराज 'नेक टु नेक' : पहिले सहकार्य, अहिले प्रतिस्पर्धा
काठमाडौं । मीन प्रसाद गुरुङ मुक्तिनाथ विकास बैंकका संस्थापक हुन् भने भरतराज ढकाल साेही बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) । विसं २०६२ चैत २२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई विसं २०६३ पुस १८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबारको इजाजतपत्र प्राप्त गरेको मुक्तिनाथ विकास बैंक पुस १९ गतेदेखि सञ्चालनमा आएको हो । बैंक सञ्चालनमा आउँदा २९ जना संस्थापक सेयरधनीमध्ये गुरुङ पनि एक थिए । बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मी र संस्थापक सीईओ ढकाल थिए । पछि रेग्मी बैंकको प्रमुख सल्लाहकार बने भने गुरुङ सञ्चालक समिति अध्यक्ष । गुरुङ र ढकालको संयुक्त नेतृत्वमा बैंकले उल्लेखनीय प्रगति हासिल गर्दै राष्ट्रियस्तरको विकास बैंकको हैसियत बनायो । तर २०७४ सालको निर्वाचनमा गुरुङ प्रदेश सांसदको उम्मेदवार बनेपछि बैंकको अध्यक्ष पदबाट राजीनामा दिए । साथै सोही समयमा ढकालको पनि सीईओ कार्यकाल सकिएसँगै उनी पनि बैंकबाट बाहिरिए । त्यसपछि बैंकको अध्यक्षमा खिमप्रकाश मल्ल र सीईओमा प्रद्युमन पोखरेल नियुक्त भए । केही समयपछि ढकाल पुनः अध्यक्ष बनेर मुक्तिनाथ विकास बैंकमा फर्किए । तर दोस्रो कार्यकालको बीचमै विसं २०८१ फागुन २१ गते उनले राजीनामा दिएपछि पुनः खिम प्रकाश मल्ल नै बैंकको अध्यक्ष बनेका छन् । हाल देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को माहोल तातिरहेको छ । कुनै समय एउटै सपनाबाट जन्मिएको मुक्तिनाथ विकास बैंक, एउटै नेतृत्वमा हुर्किएको संस्था र एउटै टिममा बसेर काम गरेका गुरुङ र ढकाल आज राजनीतिक मैदानमा आमनेसामने छन् । मुक्तिनाथ बैंक स्थापनादेखि नेतृत्वसम्म सहयात्रा गरेका यी दुई पूर्वबैंकर राजनीतिक मैदानमा प्रतिद्वन्द्वी बनेपछि स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ चासोको विषय बनेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा-१ बाट गुरुङ नेकपा एमाले र ढकाल नेपाली काँग्रेसबाट उम्मेदवार बनेका छन् । स्याङ्जा-१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गुरुङले ढकालसँगको प्रतिस्पर्धालाई अनपेक्षित बताउँदै स्वस्थ र सौहार्दपूर्ण ढंगले चुनावी प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाए । ‘प्रतिस्पर्धा नभएको भए राम्रो हुन्थ्यो, तर अब भइसकेको छ,’ उनले भने, ‘यसलाई सहज रूपमा लिएको छु । सौहार्दपूर्ण रूपमा अगाडि बढ्छु ।’ गुरुङले जनताको निगरानीमा सार्वजनिक पदमा रहेका व्यक्तिहरू रहनुपर्ने बताए । साथै उनले आफ्नो उम्मेदवारीलाई सुशासन र विकाससँग जोडिएको अभियानका रूपमा अघि बढाएको बताए । संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने, सुशासन कायम गर्ने, पारदर्शिता बढाउने र भ्रष्टाचारमुक्त राज्य बनाउने विषयलाई आफ्नो प्रमुख राष्ट्रिय एजेण्डा बनाएको उनको भनाइ छ । उम्मेदवारी दर्ता गर्ने क्रममा आफ्नो सम्पत्ति बन्दसूचीमा राखिएको उल्लेख गर्दै उनले यस्तो प्रावधान सच्याउनुपर्ने धारणा राखे । ‘सार्वजनिक पदमा जाने व्यक्तिको सम्पत्ति जनताले जान्ने गरी खुला हुनुपर्छ । प्रवेश गर्दा र बाहिरिँदा के कस्तो परिवर्तन आयो भन्ने कुरा स्पष्ट देखिनुपर्छ,’ गुरुङले भने, ‘यसरी अहिले नै सार्वजनिक गरियो भने कार्यकालभरि पारदर्शिता सुनिश्चित हुन्छ ।’ संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्ने विषय पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए । स्थानीयस्तरमा भने विकास निर्माणका कामलाई मुख्य मुद्दा बनाइएको उनको भनाइ छ । विशेषगरी सिद्धार्थ राजमार्गलाई मूल एजेण्डाका रूपमा अघि सारेको उल्लेख गर्दै उनले जनतालाई साना तर प्रत्यक्ष सरोकारका विषयले छोइरहेको बताए । ‘ग्रामीण पर्यटनलाई उद्गमस्थल बनाउने, कृषि पर्यटनसँग जोड्ने योजना छ,’ गुरुङले भने, ‘गाउँमै मानिस बस्न सक्ने वातावरण बनाउन खानेपानी, सडक, बाटो जस्ता आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राखेका छौँ । उत्पादन र रोजगारी पनि हाम्रो एजेण्डामा छन् ।’ उनले धेरै आश्वासन दिनेभन्दा पनि काम गरेर देखाउने आफ्नो शैली रहेको बताए । प्रदेशसभा सदस्य हुँदा पनि आफूले गर्न सक्ने काम मात्रै जनतालाई प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले भने, ‘धेरै वाचा गर्ने तर पाँच प्रतिशत पनि कार्यान्वयन नहुने अवस्था देखिन्छ । म त्यस्तो राजनीति गर्दिनँ ।’ प्रदेशसभा सदस्य रहँदा पाएको सेवा-सुविधा निर्वाचन क्षेत्रका विभिन्न सार्वजनिक काममा खर्च गरेको जानकारी दिँदै उनले यसपटक भने सुरुमै त्यो कुरा सार्वजनिक रूपमा घोषणा गरेको बताए । ‘सामाजिक र शैक्षिक व्यक्तित्वको नेतृत्वमा समिति बनाएर पाएको सेवा-सुविधा सार्वजनिक काममा खर्च गर्ने घोषणा गरेको छु,’ उनले भने, ‘पूर्वाधार विकासका काम त सरकारसँग पहल गरेर हुन्छन्, तर कतिपय व्यक्तिगत समस्यामा पनि ध्यान दिनुपर्ने देखिएको छ ।’ कांग्रेसका उम्मेदवार ढकालले एमालेका उम्मेदवारसँग मुख्य प्रतिस्पर्धा हुने बताए । गुरुङसँग विगतमा एउटै समूहमा काम गरेको उल्लेख गर्दै उनले भने, ‘एउटै ग्रुपका मान्छेहरू चुनाव लड्दा अलि अप्ठ्यारो लाग्नु स्वाभाविक हो । तर यो राजनीतिक प्रतिस्पर्धा मात्रै हो ।’ गुरुङको उम्मेदवारी स्वाभाविक भएको बताउँदै ढकालले आफू पनि बाल्यकालदेखि नै नेपाली काँग्रेसमा आबद्ध रहेको स्मरण गरे । ‘पार्टीले परम्परागत शैलीभन्दा फरक तरिकाले जिल्लाको नेतृत्व अगाडि बढाउनुपर्छ भन्ने निष्कर्षमा पुगेर सर्वसम्मत निर्णय गर्यो,’ उनले भने । व्यावसायिक संलग्नता र व्यक्तिगत सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै ढकालले चुनावी प्रतिस्पर्धाले आपसी सौहार्दतामा असर नपार्ने दाबी गरे । ‘श्रीमान-श्रीमती, दाजुभाइ फरक-फरक पार्टीबाट चुनाव लडिरहेका उदाहरण पनि छन्,’ उनले भने, ‘हाम्रो प्रतिस्पर्धा राजनीतिक मात्रै हो, सौहार्दता भने कायम रहन्छ ।’ ढकालले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, कृषि रूपान्तरण गर्ने र गाउँ केन्द्रित विकासलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताए । भदौ २३ र २४ गते युवाहरूले गरेको आन्दोलनलाई स्मरण गर्दै ढकालले त्यसले पुराना राजनीतिक दल, वृद्ध नेतृत्व र बेरोजगारी तथा भ्रष्टाचारविरुद्धको गहिरो असन्तोषलाई उजागर गरेको बताए । ‘युवाहरूले रोजगारी नपाएको, भ्रष्टाचार बढेको र अहिलेको सरकारबाट केही अपेक्षा गर्न नसकिने भन्दै विद्रोह गरे,’ उनले भने, ‘जेनजी युवाहरूको मागलाई सबैभन्दा पहिला नेपाली कांग्रेसले आत्मसात गर्दै नेतृत्वमा रुपान्तरण गरेको छ ।’ ढकालका अनुसार अबका दिनमा राजनीतिक मुद्दाभन्दा आर्थिक र सामाजिक मुद्दा प्राथमिक हुनुपर्छ । युवालाई नेपालमै रोक्ने र स्वदेशमै रोजगारी दिने विषय ठूलो चुनौती भएको उल्लेख गर्दै उनले यही सोचका आधारमा नेपाली कांग्रेसले आफूलाई उम्मेदवार बनाएको बताए । ‘युवालाई खाडी जान बाध्य बनाउने अवस्थाको अन्त्य गर्नुपर्छ । रोजगारी सिर्जना नै मेरो प्रमुख एजेण्डा हो,’ उनले भने । ग्रामीण भेगमा आधारभूत पूर्वाधार पुगिसकेको तर गाउँका घर खाली हुँदै गएका, जग्गा बाँझो भएको र युवा विदेशिएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै ढकालले अब गाउँ फर्क अभियान चलाउने योजना सुनाए । ‘नेपालको सबैभन्दा ठूलो सम्भावना कृषि हो । कृषिको रूपान्तरण नगरी रोजगारी सिर्जना सम्भव छैन,’ उनले भने, ‘म चुनाव जितेर गएँ भने गाउँलाई केन्द्रमा राखेर पूर्वाधारलाई जनताको जीवनसँग जोड्ने काम गर्छु ।’ सरकार र निजी क्षेत्रको सहकार्यमा रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउने उनको प्रतिबद्धता छ । मतदाताले आफ्नो सोच र दृष्टिकोणलाई गम्भीर रूपमा लिएको र उम्मेदवारहरूबीच तुलना गरिरहेको उनको दाबी छ । ‘कुन उम्मेदवार योग्य हो भनेर मतदाताले आफैं मूल्यांकन गरिरहेका छन्,’ उनले भने । नेपाली कांग्रेसभित्र पछिल्लो समय एकढिक्का भएको दाबी गर्दै ढकालले पार्टीभित्र कुनै गुट-उपगुट नरहेको बताए । ‘म जित्ने सम्भावना प्रबल छ, चुनावी माहोल बन्दै गएको छ,’ उनले भने । ढकालले आफ्नो उम्मेदवारीलाई युवामैत्री रोजगारी, कृषि रूपान्तरण र गाउँ केन्द्रित विकास अभियानका रूपमा अघि बढाएको बताए । साथै सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पर्यटन बोर्डका पूर्वसीईओ धनञ्जय रेग्मी पनि उम्मेदवार छन् । यस आधारमा पनि स्याङ्जा-१ लाई विशेष चासोका साथ हेरिएको छ । साथै स्याङ्जा-१ मा नेपाली कम्युनिष्ट पार्टीबाट शैलेन्द्र घिमिरे, नेशनल रिपब्लिक नेपाल पार्टीबाट अर्जुनकुमार गुरुङ, मङ्गोल नेशनल अर्गानाइजेसनबाट यामबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हुकुमबहादुर राना, उज्यालो नेपाल पार्टीबाट रविन्द्र मल्ल, नेकपा माओवादीबाट सोमबहादुर परियार, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रनबहादुर विक, श्रम संस्कृति पार्टीबाट पिरन गुरुङ र स्वतन्त्र उम्मेदवारका रूपमा अशोक बिष्ट चुनावी दौडमा छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा-१ बाट कांग्रेसका राजु थापा विजयी भएका थिए । थापाले ३१ हजार ९९९ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका नारायणप्रसाद मरासिनीले २८ हजार ७४४ मत ल्याएका थिए । रास्वापाका उम्मेदवार बोधराज रेग्मीले ६ हजार ६५ मत ल्याएर तेस्रो बनेको थियो । यस निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।