महासचिव पोखरेलको दावी– एमाले पुनर्गठन छिट्टै हुन्छ

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन छिट्टै हुने दावी  गरेका छन् ।  पोखरेलले कार्यदलबाट प्राप्त सुझावका आधारमा पुनर्गठन अघि बढाइने बताए । उनले एमालेलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा थप एकताबद्ध बनाउँदै नयाँ ढंगले अघि बढाउन आवश्यक रहेको स्पष्ट पारे । पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी रणनीति तय गर्न तथा निर्वाचन समीक्षा गर्न पार्टीले विशेष कार्यदल गठन गरेको जानकारी दिए ।  उनले उक्त कार्यदलले मातहतका कमिटी र पार्टी पंक्तिबाट सुझाव संकलन गरिरहेको र त्यसैका आधारमा पुनर्गठनसम्बन्धी निर्णय लिइने बताए । ‘अहिले पार्टीले संस्थागत रूपमा चुनावको समीक्षा गर्ने र पुनर्गठनको दिशामा कसरी अगाडि बढ्ने भन्ने विषयमा कार्यकर्ताहरूको भावना बुझ्ने काम गरिरहेको छ,’ पोखरेलले भने, ‘पार्टी पंक्तिबाट प्राप्त सुझावकै आधारमा आवश्यक निर्णयहरू गरिनेछन् ।’ महासचिव पोखरेलले वर्तमान राजनीतिक परिस्थिति र जनअपेक्षाअनुसार एमालेले आफूलाई नयाँ ढंगले रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । उनका अनुसार पार्टीभित्रका कार्यकर्ताहरू पनि यथास्थितिमा अघि बढ्नुभन्दा परिवर्तन र सुधारको पक्षमा देखिएका छन् । उनले पार्टीलाई थप बलियो बनाउन वैचारिक स्पष्टता, राजनीतिक एकता र संगठनात्मक सुदृढीकरण अपरिहार्य रहेको उल्लेख गर्दै यथास्थितिले मात्रै पार्टी एकताबद्ध हुन नसक्ने धारणा राखे । ‘पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक हिसाबले थप एकताबद्ध बनाउनु आजको आवश्यकता हो,’ उनले भने ।  पोखरेलका अनुसार यथास्थितिमा बसेर त्यो लक्ष्य हासिल गर्न सकिँदैन । पोखरेलले एमालेभित्र शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरणको अभियान आवश्यक रहेको पनि औंल्याए । उनले पार्टीलाई जनतासँग अझ नजिक, कार्यकर्तामुखी र प्रभावकारी बनाउने दिशामा पुनर्गठन प्रक्रिया केन्द्रित हुने दाबी गरे । एमालेले पछिल्लो समय संगठनात्मक पुनर्संरचना, जनाधार विस्तार र आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न तहमा समीक्षा तथा सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ । 

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डस्तरीय भेटवार्ता हुँदैछ ।        बेइजिङमा स्थानीय समयानुसार सोमबार (आज) अपराह्न ५ः४५ बजे हुने द्विपक्षीय वार्तामा उनीहरूबीच नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ ।      मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले आजै चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका छ ।  उनी चीनको विदेश मामिला मन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङको सौहार्दपूर्ण निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका हुन् ।        परराष्ट्रमन्त्री खनाल आइतबार उनको सम्मानमा बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गरेको मन्त्रालयले जनाएको छ ।  कार्यक्रममा उनले वर्तमान सरकारका प्राथमिकताहरू सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्नुभएको दूतावासले जनाएको छ । साथै उनले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन पनि आह्वान गरेको थियो ।        त्यसअघि उनले राजदूतावास परिसरमा बिरुवा रोपेका थिए । उनले कार्यवाहक राजदूत तथा अन्य अधिकारीहरूबाट राजदूतावासको कार्यसम्पादन र प्राथमिकताबारे जानकारी लिएका थिए । मन्त्री खनालले चीनमा नेपालको हित प्रवद्र्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न राजदूतावासका अधिकारीहरूलाई निर्देशन दिएका थिए।        मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

भारतले चिया निर्यात रोकेपछि ८३ उद्योग बन्द, प्रतिनिधिसभामा सांसद केरुङको चिन्ता

काठमाडौं । भारतले नेपाली चियाको निर्यातमा अवरोध सिर्जना गरेपछि देशका ८३ वटा चिया उद्योग बन्द भएको विषय प्रतिनिधिसभामा उठेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले नेपाली चिया क्षेत्र गम्भीर सङ्कटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद केरुङका अनुसार नेपालमा उत्पादित तथा निर्यातका लागि पठाइएको करिब ३ लाख किलो चिया भारतमा रोकिएको छ । 'थप ७ लाख किलो चिया विभिन्न उद्योगहरूको गोदाममै थन्किएको अवस्थामा छ,' उनले भने । निर्यात अवरुद्ध हुँदा उद्योगहरू सञ्चालन गर्न कठिन भएको र त्यसको प्रत्यक्ष असर किसान, मजदुर तथा चिया व्यवसायीमाथि परेको उनले बताए । उनले चिया नेपालको महत्वपूर्ण नगदे बाली तथा निर्यातजन्य वस्तु भए पनि भारतको अवरोधका कारण उद्योगहरू बन्द हुने अवस्थामा पुगेको उल्लेख गरे । निर्यात रोकिँदा उत्पादन भएको चिया बिक्री हुन नसकेको, उद्योगमा नगद प्रवाहको समस्या बढेको र हजारौँ श्रमिकको रोजगारीसमेत जोखिममा परेको उनको भनाइ थियो । केरुङले चिया क्षेत्रको सङ्कट समाधानका लागि सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औँल्याए । भारतमा रोकिएको चिया फुकुवा गराउने, वैकल्पिक निर्यात बजारको खोजी गर्ने तथा प्रभावित उद्योग र किसानलाई राहत उपलब्ध गराउने विषयमा सरकारले सक्रिय भूमिका खेल्नुपर्ने उनको माग थियो ।