केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रतिनिधि विवादले मतदान अनिश्चित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनेहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले बुधबार (आज) प्रकाशित गरेको सूचीअनुसार केन्द्रीय सदस्यका लागि कुल ३ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रास्वपाले यसअघि केन्द्रीय समितिका विभिन्न पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइसकेको छ भने केन्द्रीय सदस्य चयनलाई महाधिवेशनको सबैभन्दा प्रतिस्पर्धात्मक चरणका रूपमा हेरिएको छ।  सार्वजनिक सूचीमा देशभरबाट आएका प्रतिनिधि तथा पार्टीका विभिन्न तहमा सक्रिय नेताहरूको नाम समावेश रहेको निर्वाचन आयोगले जनाएको छ । यता बुधबार अपराह्नबाट मतदान प्रक्रिया सुरु गर्ने कार्यतालिका रहे पनि प्रतिनिधिको संख्या तथा मतदाता सूचीसम्बन्धी विवाद टुंगो नलाग्दा मतदान अझै सुरु हुन सकेको छैन ।  महाधिवेशनस्थलमा प्रतिनिधि प्रमाणीकरण, मतदाता सूची अद्यावधिक तथा मतदानमा सहभागी हुने प्रतिनिधिको अन्तिम संख्या निर्धारण गर्ने विषयमा छलफल जारी रहेको बताइएको छ । निर्वाचन आयोगले प्रतिनिधिसम्बन्धी देखिएका प्राविधिक तथा व्यवस्थापकीय विषय समाधान गर्ने प्रयास भइरहेको जनाएको छ । समस्या समाधान भएपछि मतदान प्रक्रिया तत्काल सुरु गरिने आयोगको तयारी छ । रास्वपाको महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उल्लेख्य संख्यामा उम्मेदवारी परेकाले निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।  पार्टीले केन्द्रीय सदस्य चयनका लागि इलेक्ट्रोनिक भोटिङ प्रणाली प्रयोग गर्ने तयारी गरेको छ । प्रतिनिधि व्यवस्थापनसम्बन्धी विवाद समाधान हुनासाथ मतदान प्रक्रिया अघि बढ्ने र त्यसपछि मतगणना तथा नतिजा सार्वजनिक गरिने जनाइएको छ । महाधिवेशनको कार्यतालिका केही प्रभावित भए पनि नेतृत्व चयन प्रक्रिया निर्धारित ढाँचाअनुसार नै अघि बढाइने पार्टी स्रोतले जनाएको छ ।  प्रतिनिधिको संख्यासम्बन्धी विवाद समाधान हुन नसके मतदान कार्यक्रम थप केही समय पर धकेलिन सक्ने सम्भावना भने कायम रहेको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेसँगै महाधिवेशनस्थल परिसरमा प्रचारप्रसारले तीव्रता पाएको छ ।   रास्वपाको सदस्य पदका लागि पहिलो चरणमा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने नेता एवं तिनका प्रस्तावक, समर्थक, शुभेच्छुक र कार्यकर्ताहरू आज बिहानैदेखि आआफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् ।   अत्यधिक गर्मीका बाबजुत उम्मेदवारी घोषणा गर्ने नेपाल सरकारका मन्त्रीसहित सांसद तथा नेतागणसमेत प्रचारप्रसारमा व्यस्त हुँदा चुनावी माहोल तातेको छ ।     पार्टीसम्बद्ध केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको सूची सार्वजनिक गरी नसकेकाले कति जना मन्त्री उम्मेदवार छन् भन्ने स्पष्ट नभए पनि केही मन्त्रीहरुलाई भ्याइनभ्याइ मत मागिरहेका छन् ।   बिहानैदेखि महाधिवेशन परिसरमा उम्मेदवारी घोषणा गरेका मन्त्री र सांसदका  शुभेच्छुक तथा कार्यकर्ता प्रचारप्रसारका  सामग्री बाँडी मत मागिरहेका देखिन्छ । उम्मेदवारको सङ्ख्या धेरै भएको र सबैलाई चिन्न नसक्ने भएकाले मत माग्नुपरेको उनीहरुको भनाइ छ ।   महत्वपूर्ण पदमा रहेकालाई पराजित हुने डर भएकाले दुईदिन अघिदेखि नै मत माग्न थालेको बताउँदै पार्टीका केन्द्रीय सदस्य राजन गौतमले भने, 'मन्त्री, सांसद र नेताहरुले निरन्तर फोन गर्दै भोट मागिरहनुभएको छ, निर्वाचनका क्रममा यसलाई स्वभाविक रुपमै लिनुपर्दछ ।'   नेता गौतमले पर्चा, पम्प्लेट, गीत, झाँकी, समाचार र सामाजिक सञ्जालको प्रयोग गरी व्यापक रुपमा प्रचारप्रसार भइरहेको अवस्थामा उद्योग सङघको परिसरभित्र पर्चा पम्प्लेटलगायतका प्रचार सामग्री निषेध गरिएको बताउँछन् ।   रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने तथा निर्वाचित सदस्य मात्र दास्रो चरणमा हुने निर्वाचनमा उम्मेदवार पाउने व्यवस्था रहेकाले सदस्यको निर्वाचनले प्राथमिकता पाएको  रास्वपा चितवनका सचिव तेजेन्द्र पौडेल बताउँछन् ।   उनले महाधिवेशनमा चार हजार बढी प्रतिनिधिले मताधिकार प्रयोग गर्ने चितवन महाधिवेशनमा ९९ सदस्य पदका लागि हुने निर्वाचनमा चार सयभन्दा बढीको उम्मेदवारी पर्ने देखिएको अवस्थामा अहिले व्यापक रुपमा प्रचारप्रसार हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।     राजनीतिक विश्लेषकका अनुसार रास्वपाको यसअघि प्रदेशहरुमा सम्पन्न निर्वाचनमा पार्टीका संस्थापक नेता एवं सांसदहरु समेत अप्रत्यासित रुपमा पराजित भएकाले पनि पदमा रहेकाहरु चुनाव प्रचारप्रसारमा खटिन बाध्य हुनुपरेको हो ।   पार्टीको ९९ निर्वाचित ९९ सदस्यीय केन्द्रीय सदस्य पदका लागि विद्युतीय मतदान प्रक्रियामार्फत हुने निर्वाचनमा ४०० भन्दा  बढीको उम्मेदवारी परेको छ । खुलातर्फको भन्दा पनि क्लस्टरबाट धेरै सदस्य निर्वाचित हुने प्रावधान भएकाले निर्वाचन थप पेचिलो बनेको देखिन्छ । रासस   

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक पुनः स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बिहीबार (भोलि) बिहान ११ बजेका लागि तय गरिएको बैठक स्थगित भएको जनाएको हो । संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनाअनुसार अब प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ । यसअघि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई ध्यानमा राख्दै प्रतिनिधिसभा बैठक ६ दिनपछि सारिएको थियो ।  तर चितवनमा जारी महाधिवेशन निर्धारित कार्यतालिकाभन्दा लम्बिएपछि बैठक पुनः स्थगित गरी असार १२ गतेका लागि तोकिएको हो । हाल प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का अधिकांश सदस्य तथा रास्वपाका सांसदहरू महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका छन् । महाधिवेशनको कार्यक्रम अझै जारी रहेकाले संसद् बैठक सञ्चालनमा प्रभाव परेको बताइएको छ । लगातार बैठक स्थगित हुँदा संसद्को नियमित कार्यसूची प्रभावित भएको छ भने महाधिवेशन सकिएपछि मात्र प्रतिनिधिसभाको नियमित बैठक सञ्चालन हुने अपेक्षा गरिएको छ ।